बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युरोकपका १० अप्रत्याशित नतिजा

बिहीबार, २७ जेठ २०७८, १२ : १७
बिहीबार, २७ जेठ २०७८

युरोकप फुटबलको ६० वर्षभन्दा लामो इतिहासमा धेरै आश्चर्यजनक नतिजाहरु देखिएका छन् । चाहे डेनमार्क र ग्रिसले उपाधि जित्दा होस् वा आइसल्यान्डले अनपेक्षित रुपमा क्वाटरफाइनलसम्मको यात्रा गर्दाको क्षण होस्, धेरै मानिस चकित खाएका छन् ।

युरोकप फुटबलका १० वटा अनपेक्षित नतिजाका विषयमा आज हामी चर्चा गर्दैछौं । खेलअघि यस्तो नतिजा निस्कनेछ भन्ने अपेक्षा निकै कमलाई थियो । युरोकपमा अहिलेसम्म खेलिएका खेलमध्ये २९ प्रतिशतमा कमजोर आँकिएका टिमहरु विजयी भएका छन् । पछिल्लो उदाहरण, युरो २०१६ को फाइनल हो । जहाँ बलियो मानिएको फ्रान्सलाई उसैको घरेलु मैदानमा पोर्चुगलले हरायो । युरोकपका सर्वाधिक अनपेक्षित नतिजाहरुको सुचीमा यस्तो छ :

इङ्ल्यान्ड ०– १ युगोस्लाभिया, युरो १९६८​

यो युरो १९६८ को सेमिफाइनल खेलको नतिजा हो । यतिबेला इङ्ग्ल्यान्डले विश्वकप जितेको केवल दुई वर्ष बितेको थियो । खेलअघि २१ दशमलव ९ प्रतिशतले मात्रै युगोस्लाभियाले खेल जित्ने आँकलन गरेका थिए । तर, फुटबल कागजमा खेलिँदैन भनेर इंलिस प्रशिक्षक अल्फ राम्सेको टोलीलाई युगोस्लाभियाले मज्जाले सिकायो । बब्बी मुर, बब्बी चाल्र्टन, गोर्डन बैंक्स र जियोफ हस्र्टजस्ता स्टारहरुले भरिएको टोलीलाई पराजित गर्न खेलको ८६ औं मिनेटमा ड्रागन जाजिकले गरेको गोल काफी रह्यो ।

जर्मनी ०–१ स्पेन, युरो १९८४​

युरो १९८४ को समूह चरणबाट सेमिफाइनलमा छानिनका लागि जर्मनीलाई केवल एक अंकको खाँचो थियो । र, उसले स्पेनसँग सामना गर्दा धेरैको अनुमान जर्मनी सहजै सेमिफाइनल पुग्छ भन्ने थियो । स्पेनले खेल जित्छ भन्ने २१ दशमलव ७ प्रतिशतमात्रै थिए । खेलको अन्तिम मिनेटसम्म कुनै गोेल हुन नसक्दा जर्मनी सेमिफाइनल पुग्ने लगभग तय नै देखिएको थियो । तर, ९० मिनेटमा एन्टोनियो मासेडाले स्पेनबाट निर्णायक गोल गर्दै जर्मनीलाई घरको बाटो देखाइदिए । समूह विजेताका रुपमा सेमिफाइनल पुगेको स्पेन फाइनलमा भने फ्रान्ससँग पराजित भयो ।

पोर्चुगल १–२ ग्रिस –  युरो २००४, समूह चरण

ग्रिसमा यो चमत्कारिक वसन्तलाई कसैले बिर्सनेछैन । यही वर्ष ग्रिसले संसारलाई चकित पार्दै युरोकप उपाधि उचालेको थियो । फाइनल खेलमा ग्रिस र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदा २४ दशमलव ५ प्रतिशतले मात्रै ग्रिस विजयी हुने अड्कल काटेका थिए । जसलाई ग्रिसले गलत साबित गर्यो ।

तर हामी अहिले समूह चरणको चर्चा गर्दैछौं । एकै समूहमा रहेकाले प्रारम्भिक चरणमा पनि आयोजक पोर्चुगल र ग्रिसबीच प्रतिस्पर्धा भएको थियो । यतिबेला धेरैको अनुमान पोर्चुगलले ग्रिसलाई ठूलो गोलअन्तरले हराउँछ भन्ने थियो । ग्रिसले जित्ने संभावना त २१ दशमलव ४ प्रतिशतले मात्रै व्यक्त गरेका थिए । यद्यपी जर्जियोस् कारागुनिस र एन्जेलोस बासिनासले गोल गर्दै ग्रिसलाई २–० ले अघि बढाए । खेलको अन्त्यतिर क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काएपछि पोर्चुगल बराबरीमा फर्कन सकेन ।

युक्रेन ०–२ उत्तरी आयरल्यान्ड, युरो २०१६, समूह चरण

यस खेलमा उत्तरी आयरल्यान्ड विजयी हुने अनुमान केवल २१ दशमलव ३ प्रतिशतले मात्रै गरेका थिए । तर, म्याकअउली र निअल म्याकगिनले गोल गर्दा उत्तरी आयरल्यान्डले २–० को जित निकाल्यो । १९८२ यता ठूला प्रतियोगितामा उत्तरी आयरल्यान्डले जित निकालेको यो पहिलो अवसर थियो । समूह चरणमा हासिल गरेको यही एउटै विजय माइकल ओ निलको प्रशिक्षणमा रहेको टोलीका लागि नकआउट चरण पुग्न पर्याप्त रह्यो ।

सिआईएस ०–३ स्कटल्यान्ड – युरो १९९२, समूह चरण

यो खेलमा स्कटल्यान्ड विजयी हुने सम्भावना २१ दशमलव २ व्यक्त गरिएको थियो । ‘जब तिमीहरु आज पार्कमा जानेछौं । तब उनीहरुले त्यो काम गरिरहेका हुनेछौं, जो अहिलेसम्म कुनै स्टकिस खेलाडीले गर्न सकेका थिएनन्,’ स्कटल्यान्डका तत्कालीन प्रमुख प्रशिक्षक एन्डी रोक्सवर्गले खेलाडीहरुलाई खेलअघि भनेका थिए । युरोकपमा स्कटल्यान्डको यो डेब्यु प्रतियोगिता थियो । नेदरल्यान्डस् र जर्मनीसँग पराजित भएको यो टोली प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भइसकेपछि अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै थियो । तर, यही खेल उसका लागि सबैभन्दा अविस्मरणीय बन्यो । उसले अन्तिम खेलमा कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सिआईएस) अर्थात् सोभियत संघको विघटनपछि गठन गरिएको देशको टिमविरुद्ध ३–० को जित निकाल्यो । पाउल म्याकस्टे, ब्रायन म्याकक्लेयर र म्याकअलिस्टरले स्कटल्यान्डका लागि गोल गरे ।

नेदरल्यान्डस् ०– १ डेनमार्क, युरो २०१२, समूह चरण

‘हामी डच टिमसँग थोरै ईर्ष्यालु छौं किनकी हामी उनीहरुको ठाउँमा छैनौँ । उनीहरु नै दाबेदार हुन्, यसमा कुनै शंका छैन,’ डेनमार्कका प्रशिक्षक मोर्टेन ओल्सेनले खेलअघि यस्तो इमानदार प्रतिक्रिया दिएका थिए । केवल १९ प्रतिशतलाई मात्रै डेनमार्कले यो खेल जित्नसक्छ भन्ने लागेको थियो । नेदरल्यान्डका प्रशिक्षक बेर्ट भान मार्विज्कले पनि आफ्नो टोली उपाधिको दाबेदार रहेको बताएका थिए । तर, दुर्ई वर्षअघि विश्वकपको फाइनलमा पुगेको नेदरल्यान्ड्सविरुद्ध माइकल क्रोन देहलीले पहिलो हाफमै गोल गरे । तर, आश्चर्यजनक नतिजा निकालेपनि नकआउट चरणमा पुग्न डेनमार्क असफल रह्यो ।

बेल्जियम ०–२ टर्की, युरो २०००, समूह चरण

यस खेलमा टर्की विजयी हुने संभावना १९ दशमलव ७ व्यक्त गरिएको थियो । तर, नतिजा २–० ले टर्कीको पक्षमा गयो । ‘यो सम्पूर्ण टर्कीका लागि महान् उपहार हो,’ टर्किस् प्रशिक्षक मुस्तफा डेनिज्लीले खेल सकिएपछि भने,‘टर्किस फुटबलको ७७ वर्षे इतिहासमा यो उत्कृष्ट उपलब्धि हो ।’

टर्कीका लागि दुबै गोल हाकन सुकरले गरेका थिए । यस जितसँगै टर्कीले युरोकपको नकआउट चरणमा स्थान बनायो ।

बेल्जियम १–३ वेल्स, युरो २०१६, क्वाटरफाइनल

यस खेलमा वेल्स विजयी हुने सम्भावना १९ दशमलव ६ प्रतिशत व्यक्त गरिएको थियो । ‘यदी म प्रिमियर लिगको कुनै क्लबको अध्यक्ष हुन्थें भने हल रोब्सन कानुलाई आबद्ध गथ्र्यें,’ वेल्सका फरवार्ड जोन हार्टसनले खेलपछि प्रतिक्रिया दिए । रोब्सनले निकै उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै खेल जितेको वेल्स अन्नत प्रतियोगिताको सेमिफाइनलमा पुगेर इतिहास रच्न सफल भयो ।

फ्रान्स ०–१ ग्रिस, युरो २००४, क्वाटरफाइनल

युरो २००४ का हरेक खेलमा ग्रिसको प्रदर्शन अविश्वसनीय थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्धको क्वाटरफाइनल खेलमा ग्रिस विजयी हुने संभावना १९ दशमलव १ प्रतिशतले मात्रै व्यक्त गरेका थिए । तर, ओट्टो रेहागलको प्रशिक्षणमा रहेको टोली उपाधि जित्नकै लागि आएको थियो । जिनेदिन जिदान, रोबर्ट पिरेस र थिएरी हेनरीजस्ता स्टार सम्मिलित टोलीवरुद्ध क्राइस्टिजले दोस्रो हाफमा हेडर गोल गरे । सेमिफाइनलमा चेक गणतन्त्रलाई १–० ले हराएको ग्रिसले फाइनलमा आयोजक पोर्चुगललाई १–० ले हराएर उपाधि जित्यो ।

इङ्ल्यान्ड १–२ आईसल्यान्ड, युरो २०१६, अन्तिम १६

‘बाँकी विश्वलाई थिएन, तर हामीलाई विश्वास थियो,’ डिफेन्डर कारी अर्नासनले खेलपछि दिएको प्रतिक्रिया हो यो । ८३ प्रतिशतभन्दा धेरैले यो खेल इङल्यान्डले जित्ने विश्लेषण गरेका थिए । तर १–० ले पछि परेको अवस्था उल्ट्याउँदै आइसल्यान्डले २–१ को जित दर्ता गरेर क्वाटरफाइनलको यात्रा गर्दै इतिहास रच्यो । वायनी रुनीखेलको चौथो मिनेटमै इङल्यान्डलाई अग्रता दिलाएका थिए । तर, आइसल्यान्डबाट रग्नर सिगुर्डस्सनले बराबरी गोल फर्काए भने कोल्बेइन सिग्थोरस्सनले निर्णायक गोल गरे । यस खेललगत्तै आइसल्यान्ड बहादूरीको प्रशंसा र इंलिस टोलीका ठूलो आलोचना भयो ।  इङ्ग्लिस प्रशिक्षक रोय हड्सनले राजीनामा दिए ।

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप