बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

के रोनाल्डो युरोकपका सर्वकालिन महान् खेलाडी हुन् ?

युरोकपमा रोनाल्डोका कीर्तिमानै कीर्तिमान
बुधबार, २६ जेठ २०७८, १६ : ३९
बुधबार, २६ जेठ २०७८

जब युरोकपअन्तर्गत १५ जुनमा क्रिष्ट्रियानो रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेलमा पोर्चुगलको कप्तानी गर्नेछन्, तब उनले सधैँझैँ नयाँ कीर्तिमान पुनर्लेखन गर्ने तयारी थाल्नेछन् ।

२०१६ मा आफ्नो देशलाई युरोकपको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका ३६ वर्षीय खेलाडीसँग युरोकपको सर्वकालिन महान् खेलाडीको दाबी गर्नका लागि ठोस तर्कहरु रहेका छन् ।

युरोकपको इतिहासमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान रोनाल्डोको नाममा छ, युरोकप छनोटमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ । यदी, यसपटक उनले एक गोलमात्रै गरे भनेपनि युरोकपमा सर्वाधिक गोल गर्ने एक्लो खेलाडी बन्नेछन् ।

युरोकपका महान् खेलाडीहरूसँग रोनाल्डोको तुलना कसरी हुन्छ ? र, उनले के–कस्ता नयाँ कीर्तिमान कोर्न सक्छन् ? आउनुस् चर्चा गरौं ।

 


 

गोल

युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने सूचीमा फ्रान्सका मिसेल प्लाटिनी र रोनाल्डो संयुक्त रुपमा शीर्ष स्थामा छन् । दुवैले ९ गोल गरेका छन् । रोनाल्डोले चारवटा प्रतियोगितामा २१ खेल खेल्दै यति गोलसंख्या पु¥याएका हुन् । युरोकपमा चार फरक संस्करणमा गोल गर्ने कीर्तिमान पनि उनको नाममा छ ।

यता प्लाटिनीले एकै संस्करण, १९८४ को युरोकपमा ५ खेल खेलेर नौ गोल गरेका थिए । 

रोनाल्डोले २००४ को संस्करणमा दुई गोल तथा २००८ मा एक गोल गरे । उनले सन् २०१२ र २०१६ मा तीन–तीन गोल गरे ।

सबै नौवटै गोल डिबक्सभित्रबाट भएको छ र पाँचवटा गोल हेडरमार्फत भएको छ । यो पनि कीर्तिमान नै हो ।

फ्रान्सका एन्टोनियो ग्रिजम्यानले राम्रो खेल्न सके रोनाल्डो र प्लाटिनी दुबैको रेकर्ड तोड्न सक्छन् । उनले प्रतियोगितामा अहिलेसम्म ६ गोल गरेका छन् , यी सबै गोल युरो २०१६ मा गरेका हुन् । उनले यस प्रतियोगितामा गोल्डेन बुट पनि जितेका थिए ।

युरोकपको छनोट खेलमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा छ । उनले विभिन्न संस्करणका युरोकप छनोटमा कुल ३१ गोल गरेका छन् ।  रोब्बी केनको नाममा रहेको २३ गोलको कीर्तिमानलाई उलने सेप्टेम्बर २०१९ मा तोडेका थिए ।

सफलता

अन्ततः रोनाल्डोले २०१६ मा युरोकप फुटबलको उपाधि जिते । २५ औं मिनेटमा उनी घाइते भएर बाहिरिएका थिए । तर उनले साइडलाईनमा बसेर खेल अवधिभर प्रशिक्षकले जसरी नै निर्देशन दिइरहे । पोर्चुगलले यो खेल अतिरिक्त समयमा १–० ले जित्यो ।

दुईवटा युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने ४४ खेलाडीमध्ये रोनाल्डो एक हुन्, रोनाल्डोले २००४ र २०१६ को फाइनल खेले । कुनै पनि खेलाडीले युरोकपको तीनवटा फाइनल खेलेका छैनन् । केवल रोनाल्डो र बास्टिन स्वेन्सटाइगरले मात्र तीनपटक सेमिफाइनल खेलेका छन् ।

यदी यसपटक पनि रोनाल्डोले उपाधि जितेमा उनी पश्चिम जर्मनीका रेइनर बोनहोफ (१९७२ र १९८०) र युरो २००८ तथा २०१२ जित्ने स्पेनिस टोलीका १२ सदस्यहरुको ‘दुई युरोकप जित्ने’ सूचीमा पर्नेछन् ।

रोनाल्डोले युरोकपमा सर्वाधिक धेरै खेल जित्ने कीर्तिमान पनि संयुक्त रुपमा लेखाएका छन् । रोनाल्डो तथा स्पेनका सेस फाब्रिगास र आन्द्रेस इनिस्टाले युरोमा सर्वाधिक ११ खेल जितेका छन् । यसपटक कुनै खेल जितेमा सर्वाधिक जित हासिल गर्ने कीर्तिमान पनि रोनाल्डोको एकलौटी हुनेछ ।

लामो दौडको घोडा

चारवटा युरोकप खेल्ने थोरै खेलाडीमध्ये रोनाल्डो एक हुन् । यसै वसन्तमा उनी पाँचवटा युरोकप खेल्ने एक्लो खेलाडी बन्नेछन् । उनले अहिलेसम्म युरोकपमा कुल २१ खेल खेलेका छन् । जो, जर्मनीका बास्टिन स्वेन्स्टाइगरभन्दा ३ र इटलीका गियानलुइगी बुफोनको भन्दा ४ ले बढी हो । सर्वाधिक धेरै मिनेट युरोकप खेल्ने कीर्तिमान पनि रोनाल्डोकै नाममा छ, उनले १ हजार ७ सय ९५ मिनेट युरोकप खेलेका छन् ।

धेरैपटक पोस्टमा प्रहार

युरोकपमा रोनाल्डोले सार्वधिक १ सय २२ पटक गोलका लागि प्रयास गरेका छन् । यो सूचीमा फ्रान्सका हेनरी थिएरी दोस्रोमा छन् । उनले गोलका लागि ५२ पटक गोलका लागि प्रयास गरेका थिए । सही निशाना लगाउनेमा दुई खेलाडी नजिक छन् । रोनाल्डो ३२ पटक पोस्टमा प्रहार गरेका छन्, हेनरी र डेनिस वर्गकाम्प दुवैले २० पटक पोस्टमा प्रहार गरेका छन् । ग्यारेथ बेलले २६  प्रयासमा १७ पटक पोस्टमै प्रहार गरेका छन् । उनले यो सबै प्रयास युरो २०१६ मा गरेका थिए ।

गोलका लागि पास मिलाइदिनेको सूचीमा रोनाल्डो संयुक्त रुपमा दोस्रोमा छन् । उनले ५ वटा एसिस्ट गरेका छन् । डेभिड बेकह्यामसहितका अन्य ५ खेलाडीले पनि ५ वटा एसिस्ट मिलाइदिएका छन् । यो सुचीमा पहिलो स्थानमा रहेका चेक गणतन्त्रका केरल पोबोस्र्काइले ६ वटा एसिस्ट मिलाइदिएका छन् । रोनाल्डोले यसपटक बराबरी गर्न वा तोड्नसक्ने अर्को रेकर्ड यो पनि हो ।

रोनाल्डाले ८३ पटक ड्रिबलका लागि प्रयास गरेका छन्, तर ३१ पटकमात्रै उनले ड्रिबल पूरा गर्न सकेका छन् । सर्वाधिक धेरै ड्रिबल गर्ने कीर्तिमान पोर्चुगलकै लुइस फिगोको नाममा छ ।

अरु के–के कीर्तिमान छन् ?

प्रतियोगिताको सर्वकालिन सर्वाधिक गोलकर्ता तथा पाँचपटक प्रतियोगिता खेल्ने कीर्तिमानसहित रोनाल्डोले अन्य धेरै कीर्तिमानहरु राख्नसक्छन् । दुईपटक उपाधि जित्ने थोरै खेलाडीको सुचीमा उनी पर्नसक्छन् भनेर माथि नै चर्चा भइसक्यो । उनी तीनपटक फाइनल खेल्ने पहिलो खेलाडी पनि बन्नसक्छन् । चारपटक सेमिफाइनल खेल्ने पहिलो खेलाडीका रुपमा अर्को कीर्तिमान पनि रोनाल्डोले राख्नसक्छन्  ।

राम्रो खेल्न सकेमा रोनाल्डोले युरोमार्फत नै अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पनि बनाउनसक्छन् ।  उनले पोर्चुगलका लागि अहिलेसम्म १ सय ३ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान ईरानका अली देईको नाममा छ । उनले १ सय ९ गोल गरेका छन् ।

युरोमा रोनाल्डोका यादगार खेल

पोर्चुगल २– १ नेदरल्यान्डस् : युरो २००४ को सेमिफाइनलमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए, त्यसपछि मेनिचेका लागि पास मिलाईदिए

पोर्चुगल १–० चेक गणतन्त्र : युरो २०१२ को क्वाटरफाइनलमा रोनाल्डोले उत्कृष्ट हेडरमार्फत गोल गरे ।

पोर्चुगल ३–३ हंगेरी : युरो २०१६ को समूह चरणमा रोनाल्डोले दुई गोल गरे । खेलमा पछि परेको पोर्चुगल बराबरीको अवस्थामा फर्कदैं नकआउट हुनबाट जोगियो ।

पोर्चुगल २–० वेल्स : युरो २०१६ को सेमिफाइनलमा रोनाल्डोले अर्को हेड गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए, त्यसपछि उनको पासमा नानीले गोल गरे ।

पोर्चुगल १–० फ्रान्स : खेलको २५ औं मिनेटमै रोनाल्डो घाइते भए । तर उनले साइडलाईनमा बसेर ठूलो भूमिका निभाए । उनले प्रशिक्षकले झैं खेलाडीहरुलाई निर्देशन दिइरहेका थिए । फ्रान्सलाई हराएर पोर्चुगलले युरोकप जित्यो ।

बिर्सनलायक क्षण

ग्रिस १– ० पोर्चुगल : युरो २००४ को फाइनलमा पोर्चुगलले घरेलु भूमिमै उपाधि जित्ने अवसर गुमायो । त्यो पनि कमजोर आँकिएको ग्रिसविरुद्ध फाइनल हारेर । रोनाल्डोले खेल बराबरी गर्ने महत्त्वपूर्ण अवसर गुमाएका थिए ।

पोर्चुगल २–३ जर्मनी  : युरो २००८ को क्वाटरफाइनलमा मिरोस्लाभ क्लोसले हेडर गोल गर्दा रोनाल्डो उनी नजिकै उभिएका थिए । यस गोलसँगै जर्मनीले २–० को अग्रता बनायो ।

पोर्चुगल ०– ० स्पेन (२–४ पेनाल्टी सुटआउट)  : युरो २०१२ को सेमिफाइनलमा पाँचौ नम्बरमा पेनाल्टी प्रहार गर्नका लागि रोनाल्डो प्रतीक्षामा थिए । तर, त्यो मौका आउनुअघि नै पोर्चुगल पराजित भयो ।

बीबीसी स्पोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप