शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनले सर्वोच्चमा पेश गरेको रिट दर्ता

सोमबार, १० जेठ २०७८, १२ : ००
सोमबार, १० जेठ २०७८

 प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरुले सोमबार रिट दर्ता गराएका हुन् । 

 रिट दर्ता गरिएको सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले रातोपाटीलाई बताए । रिटमा चार राजनितिक दलका दलका १ सय ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गरेको दावी गर्दै गठबन्धनका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । 

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेपछि १ सय ४९ सांसदको बहुमत हस्ताक्षर सहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गरेका थिए । 

प्रधानमन्त्री ओलीले पनि पुन आफुलाई नियुक्त गर्न दाबी गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् । रिटमा संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले बहुमत जुटाउन नसकेपछि धारा ७६(५) अनुसार सरकार गठन नहुँदै विघटन गर्नु असंवैधानिक हुने जिकिर गरेका छन् । 

सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको वैधानिकता समाप्त भएको निवेदनमा दाबी गरिएको छ । अदालतले नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने विपक्षीको माग छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप