शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बादल हार्दा माओवादीमा हर्ष, एमालेमा आक्रोशको वर्षा !

बादलको हारपछि एमाले र माओवादी दुबै दलमा तरंग
शुक्रबार, ०७ जेठ २०७८, ०८ : ४४
शुक्रबार, ०७ जेठ २०७८

गृहमन्त्री रामबहादुर थापा बादललाई विहीबार दुईवटा झड्का लागे । सर्वोच्च अदालतले मन्त्रीबाट पदमुक्त गरिदिएको एकाध घण्टामै उनले राष्ट्रियसभाको चुनाव हारे । पूर्वमाओवादी छाडेर एमालेमा लागेका थापाको हारलाई लिएर सामाजिक सञ्जालमा विभिन्नखाले प्रतिक्रिया आएका छन् । केही प्रतिक्रियाहरु यहाँ चर्चा गरिएको छ–

शुरुमा चुनाव हारेपछि बादलले स्वयं आफ्नो फेसबुक पेजमा के लेखे भन्ने चर्चा गरौं । राष्ट्रियसभामा पराजित भएपछि थापाले आफ्नो प्रत्यासी डा. खिमलाल देवकोटालाई बधाई दिँदै यस्तो लेखेका छन्–

‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका÷उपमहानगरपालिका÷नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।’

 

 

माधव नेपालतिर सोझियो एमालेको आक्रोश

बादलको चुनावी पराजयलाई नेकपा एमाले अध्यक्ष केपी ओली पक्षका नेता/कार्यकर्ताहरुले माधव नेपाल पक्षको अन्तर्घातसँग जोडेर व्याख्या गरेका छन् । उनीहरुले माधव नेपाल पक्षलाई ब्वाँसोको संज्ञा दिनसमेत भ्याएका छन् । अब यसले गर्दा एमालेको एकता प्रभावित हुने एमाले नेताहरुको विश्लेषण छ ।

 

 

चुनावी परिणाम नआउँदै बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले माध नेपाल पक्षको भूमिकाप्रति खेल व्यक्त गरिसकेको थियो । बैठकपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्य जारी गर्दै भनेका थिए, ‘बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।’

बादललाई वागमती प्रदेशबाट राष्ट्रियसभामा जिताउन सक्रिय बनेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले माधव नेपाल पक्षमाथि आक्रोश पोख्दै भनेका छन्, ‘दूध खुवाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र ।’

एमाले केन्द्रीय सदस्य विष्णु रिजाल बादलको हारले एमालेमा पार्ने प्रभावबारे विश्लेषण गर्दै फेसबुकमा लेख्छन्, ‘राष्ट्रियसभामा एक सिट एमालेका लागि ठूलो होइन । तर, बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको छ । कार्यदल प्रभावित भएको छ । नेता–कार्यकर्तामा तिक्तता थपिएको छ । देश चुनावतिर सोझिंदै गर्दा काशी जान कुतीको बाटो रोज्नुको साटो खुलस्त कुरा गरेर एकता छिटो टुंग्याउनुपर्छ ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने माधव नेपाल पक्षलाई ब्वाँसोको संज्ञा दिँदै लामो स्टाटस लेखेका छन् । मुख्यमन्त्री राईको प्रतिक्रिया यस्तो छ–

‘आज बाट भ्रम तोडियो ! आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एमाले) का उमेद्वारलाई पार्टीभित्रै ब्वाँसो भएर निस्किएकाहरुको केन्द्रीय योजनामा नेकपा (एमाले) कै सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका मतदाताहरुबाट हराइयो ! पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै नेकपा र नेकपा (एमाले) भित्र भाँडभैलो मच्चाउँदै पार्टीभित्रै ब्वाँसोको नियत बोकेर नाटकीय मञ्चनमा व्यस्त रहेका नेताहरुको मखुन्डो आजबाट उघ्रियो ! आज जे भयो, यो संसदीय अभ्यास र प्रणाली, दलीय व्यवस्था र दलीय विधि विधानको नांगो उपहास हो । यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बोल्न मिल्दैन ! जे होस नेकपा (एमाले) एक्लै लोकप्रिय र शक्तिशाली छ, आजको परिणाम र तथ्यले त्यही बतायो, देखायो ! सर्वशक्तिमान निर्णायक शक्ति जनता हुन् ! असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपन्थी लगायत सबैखाले शक्तिहरुको वास्तविक अनुहार, उनीहरुको हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउँदै जानेछन् ! गठबन्धनका बावजुद नेकपा (एमाले) एक्लै बलियो छ भन्ने कुरा आज स्पष्ट भएको छ !’

माओवादीको निशाना बादलतिर

बादलको चुनावी हारलाई लिएर ओली पक्षका एमाले नेताहरु माधव नेपाल समूहतिर खनिइरहेका बेला माओवादी खेमाका नेता कार्यकर्ता चाहिँ एमालेमा लाग्ने बादललाई खुच्चिङ भन्ने लाइनमा उभिएका छन् । केपी ओलीले बादललाई उपयोग गरेर धोका दिएको उनीहरुले तर्क गर्न खोजेका छन् । 

अलग्गै माओवादी केन्द्र खोलेर बसेका पूर्वमन्त्री गोपाल किराती लेख्छन्, ‘लुई बोनापार्टको अट्ठारौं ब्रुमेरजस्तै बादलको दुःखान्त ! महान जनयुद्वमा दुश्मनलाई घेराबन्दीमा पार्दै गणतन्त्र घोषणासम्म अघि बढेका महारथीहरु आज चारैतिर वर्गदुश्मनको घेराबन्दीमा ? पूर्वाग्रहरहित सहानुभूति बाहेक....।’

माओवादी केन्द्रका विद्यार्थी नेता रञ्जित तामाङ लेख्छन्, ‘राम बहादुर थापालाई जनताले धेरै ठूलो रगत, आँशु र पसिना बगाएर क.बादल बनाएका थिए । त्यसको मुल्यबोध नगरेर उनले अवसरवादको बाटो रोजे । अवसरवादको अवसान अवस्यंम्भावी थियो र भयो पनि । हाम्रो शुभेच्छा छ,उनले आजको परिघटनाबाट शिक्षा लिउन् ।’

पूर्वमाओवादी नेतासमेत रहेका राजनीतिक विश्लेषक मुमाराम खनाल चाहिँ रामबहादुर थापासमेत सर्वोच्च अदालतबाट पदमुक्त भएका ७ जना मन्त्रीहरु फेरि माओवादीमै फर्कन सक्ने बताउँदै भन्छन्, ‘बदर भएका सात भाइ लोभले लाभ लिएका मन्त्रीहरूले भोलिदेखि लाभले विलाप गर्दै पुष्पकमल दाहालको गुणगान गरेको सुनियो भने आश्चर्य नमाने हुन्छ ।’

माओवादी नेतृ बलावती शर्माको टिप्पणी छ, ‘सूर्य चिन्हलाई कलमले परास्त गर्यो त आखिर चिन्ह ठूलो कुरा हैन रहेछ भन्ने प्रमाणित भएन र ? राजनीति, विचार, सिद्धान्त निष्ठा, आदर्श दृष्टिकोणजस्ता कुराहरू राजनीतिमा अनिवार्य र महत्वपूर्ण  होइन र ? हार्दिक बधाई छ डा. खिमलाल देवकोटालाई ।’

विगतमा माओवादी जनयुद्धमा सक्रिय रहेका पत्रकार खिलबहादुर भण्डारी बादलबारे यस्तो लेख्छन्–

‘०६४/०६५  सालतिर नेपाल टेलिभिजनमा कार्यक्रम चलाउथेँ म । कार्यक्रममा प्रचण्ड, बाबुराम, किरण, रामवरण यादव, विद्या भण्डारी, झलनाथ, लगायत धेरैलाई ल्याएँ । बादल आउनै नमान्ने । सारै फकाएपछि आउँछु भने । एक बजेतिर रेकर्ड गरिन्थ्यो, रेकर्ड गर्ने समयमा त सीपी गजुरेल पो आए, बादल कमरेडले पठाएको भनेर । जनादेश, जनआह्वान साप्ताहिकमा लामो समय काम गरेँ, कार्यकर्ता तहबाट बादलको लेख, अन्तरवार्ता चाहियो भनेर माग हुने, तर उनी न लेख्थे, न अन्तरवार्ता दिन्थे । बादललाई सैन्य विज्ञ भनेर खुब प्रचार गरियो, तर यिनलाई पेट्रोल बम कसरी बन्छ भन्ने पनि थाहा छैन । भाषण गरे भने दुई÷चार नयाँ शब्द ल्याउनचाहिँ सिपालु छन् । तर, यति अल्छी, ज्ञान, क्षमता नभएको सिल्ली नेता कोही पनि छैन । तर, बाहिर खुबै भ्रम छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप