आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश पनि सहभागी, लोकसेवा लगायतमा नियुक्तिको तयारी

आइतबार, २६ वैशाख २०७८, १० : ११
आइतबार, २६ वैशाख २०७८

प्रधानमन्त्रीनिवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना सहभागी छन् ।

संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, महिला आयोग लगायतका रिक्त रहेका पदहरुमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने कार्यसूची छ ।

संविधानअनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन् ।

उपसभामुख खाली रहेकाले हाल परिषदमा ५ जनामात्रै छन् । तीमध्ये सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बैठक बहिस्कार गरेका छन् ।

सरकारले हालै जारी गरेको संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भनिएको छ । परिषदमा हाल बहाल रहेका सदस्यहरुको संख्या ४ रहेकोमा दुईजनाको मात्र उपस्थितिमा निर्णय हुन लागेको हो ।

त्यसो त गत मंसिर ३० गते पनि प्रधानमन्त्री ओलीले दुईजना सदस्यहरुबाटै निर्णय गराएर संवैधानिक निकायका ३४ पदमा नियुक्तिको सिफारिस गराएका थिए । संसद विघटन भएकाले संसदीय सुनुवाइ बिनै ती नियुक्तिहरु सदर भएका थिए । सो नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले अदालतमा दायर गरेको रिट अहिलेसम्म विचाराधीन छ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने अघिल्लो दिन बसेको परिषदको बैठकले रिक्त रहेका सबै संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गर्ने स्रोतले बतायो ।  

यसबीच, नेपाली काँग्रेस माओवादी लगायतका दलले बहुमत गुमाइसकेका प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक राख्नु बदनियतपूर्ण भएको भन्दै विरोध जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप