आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यराति घनश्याम र योगेशलाई फकाउने ओलीको प्रयास असफल

शुक्रबार, २४ वैशाख २०७८, १२ : ३८
शुक्रबार, २४ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता घनश्याम भुसाल र योगेश भट्टराईलाई विहीबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । शीतल निवासबाट फर्केका प्रधानमन्त्री ओलीले आधा रातसम्म दुई युवा नेतासँग छलफल गरे ।

माधव नेपाल समूहमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरुलाई आफ्नो कित्तामा ल्याउने प्रयास ओली समूहका नेताहरुले गर्दै आइरहेका बेला विहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले भुसाल र भट्टराईसँग छलफल गरेका थिए ।

यसअघि योगेश भट्टराईसँग महासचिव ईश्वर पोखरेलले पनि छलफल गरिसकेका थिए । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले गोकर्ण विष्ट लगायतका नेताहरुसँग बेग्लै छलफल गरिसकेका थिए ।

बिहीबार राति भुसाल र भट्टराईसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेर फर्किएका थिए । ओलीले भेट्नु पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेकी थिइन् ।   

‘प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएको र घेराबन्दी गरिएको पुरानै गुनासो सुनाउनुभयो, पार्टीलाई एकतावद्ध बनाउने कुनै ठोस प्रस्ताव ल्याउनुभएन,’ बालुवाटारको भेटमा सहभागी एक नेताले रातोपाटीसँग भने, ‘हामीले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्छ भन्यौं, हाम्रो कारवाही फिर्ता गरिदिनुस् भनेर निवेदन दिने कुरो भएन, त्यसैले कारवाही फिर्ताबारे कुरै भएन ।’

तथापि, अहिले पनि एमालेभित्रको एकता कायम गर्ने सम्भावना चाहिँ नसकिएको ती नेताले बताए । उनले भने, ‘अझै पनि बैशाख २७ आउन तीन दिन बाँकी छ, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सोच्ने समय छ । पार्टीलाई एकतावद्ध बनाउने हो भने फागुन २८ यताका एकतर्फी निर्णयहरु सच्याइनुपर्छ र पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काइनुपर्छ ।’

तर, प्रधानमन्त्री ओली अहिलेसम्म पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार नदेखिएको माधव नेपाल पक्षका नेताको बुझाइ छ ।

यसैबीच, बरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग कुनै सहमति नभएको बताउँदै भनेका छन्, ‘अहिलेसम्म कुनै सहमति भएको छैन ।... २०७७ फागुन २८ र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरु फिर्ता लिइनुपर्छ र ०७५ जेठ २ गतेको कमिटी विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप