शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपालका तीन ‘मुभ’ जसले ओलीलाई अत्यायो

एमालेको मिलनविन्दु : जेठ २ मै फर्कने वा कारवाही फिर्ता मात्र
शुक्रबार, २४ वैशाख २०७८, ०९ : १४
शुक्रबार, २४ वैशाख २०७८

प्रतिनिधिसभामा विश्वासको मत लिने बैशाख २७ को मिति नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहमा रहेका मन्त्रीहरुको बेचैनी बढेको छ । सुरुमा प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई फकाएरै बहुमत जुटाउने रणनीतिमा थिए । तर, यहीबीचमा माधव नेपाल पक्षको ‘मुभ’ बाट उनी थप आत्तिए ।

भुइँको टिप्न खोज्दा गोजीको मत उम्कने अवस्था आएपछि अन्ततः प्रधानमन्त्री ओली अहिले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ता लिने र उनीहरुलाई फकाउने सम्झौतापरस्त लाइनमा आइपुगेका छन् ।

दुई दिनयता ओली पक्षका नेताहरुले धमाधम माधव–झलनाथ पक्षका युवा नेताहरुसँग भेट गरेका छन् । उता, विहीबार साँझ बूढानीलकण्ठस्थित देउवा निवासमा  पुगेका एमालेका बरिष्ठ नेता माधव नेपाललाई बाटैबाट शीतलनिवासमा बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गरेकी छिन् ।

केही दिनयता अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा दिनहुँजसो बसिरहेको छ । राष्ट्रपतिलाई भेट्ने प्रधानमन्त्रीको सिलसिला पनि बाक्लिएको छ । विहीबार साँझ माधव नेपाल र राष्ट्रपतिबीचको भेटलगत्तै फेरि प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए । घटनाक्रमलाई हेर्दा ओली र नेपाललाई मिलाउने जिम्मा अब राष्ट्रपतिले स्वयंले लिएको स्पष्ट हुन्छ ।

माधव नेपालका तीन ‘मुभ’

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र ६ महिने कारवाही गरिसकेका छन् । थप २७ जना सांसदहरुलाई पनि स्पष्टीकरण सोधिएको अवस्था छ । केही दिनअघि बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा उनीहरुको सांसद पद खारेज गर्नेसम्मको छलफल भएको थियो । माधव नेपाल समूहले पार्टीलाई २०७५ साल जेठ २ को अवस्थामा फर्काउन माग गरिरहँदा प्रधानमन्त्री ओलीले त्यसको सुनुवाई गर्नु त परै जाओस्, थप कारवाही गर्ने र एकलौटीरुपमा अघि बढ्ने नीति लिएका थिए ।

यसअघि मेरियट होटलमा दुई नेताबीच भएको भेटमा समेत ओलीले माधव नेपाललाई एकलौटीरुपमै अघि बढ्ने सन्देश दिएका थिए । त्यसलगत्तै बालुवाटारमा बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठकले माधव–खनाल पक्षलाई पँजनी गरेर आफ्नो गुटमात्रै राखेर स्थायी कमिटी पुनर्गठन गरेको थियो ।

तर, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरिसकेपछि माधव नेपालले चालेका तीनवटा कदमले गर्दा प्रधानमन्त्री ओली आत्तिएर सम्झौता गर्ने ठाउँमा आइपुगेको एमाले नेताहरु बताउँछन् ।

पहिलो मुभ– महाराजगञ्जस्थित प्रमोद राणाको घरमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भएको भेटले प्रधानमन्त्री ओली झस्किएका हुन् । त्यसयता उपेन्द्र यादवसमेत चार नेताबीच पनि छलफल भएको छ भने काँग्रेस नेता पूर्णबहादुर खड्काले समेत विपक्षी गठबन्धनबीच छलफल गरिरहेका छन् ।

 

 


काँग्रेस र माओवादीसँग मिलेर नेता नेपालले अघि बढाएको यही ‘मुभ’ का कारण ओली पक्ष आत्तिएको देखिन्छ । यही भएर उनीहरु माधव नेपाल पक्षलाई फकाउन र बैशाख २७ गते विश्वासको मतको पक्षमा भोट हाल्न लगाउन आतुर देखिएका छन् । र, यसमा राष्ट्रपतिलाई समेत परिचालन गरिएको छ ।

यसबीचमा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतसँग भेट गरेका छन् भने महासचिव ईश्वर पोखरेलले योगेश भट्टराईसँग भेट गरेका छन् । माधव नेपाल पक्षमा रहेका यी नेताहरुलाई आफूतिर तान्ने प्रयास ओली पक्षले यसअघि देखि नै गर्दै आइरहेको छ । यद्यपि यी नेताहरुले आफ्नो गुट परिवर्तन भन्दा पनि पार्टीलाई एकतावद्ध बनाउनुपर्ने र त्यसका लागि जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान राख्दै आएका छन् ।

 

 


प्रधानमन्त्री ओली गल्नुको मुख्य कारण हो– विहीबार बूढानीलकण्ठमा भएको देउवा–नेपाल भेट । अघिल्लो दिन प्रधानमन्त्री ओलीले बूढानीलकण्ठमै पुगेर काँग्रेस नेताहरुसँग विश्वासको मत मागेका थिए । नभए ताजा जनादेशमा जानुपर्ने प्रधानमन्त्रीको प्रस्ताव थियो । तर, काँग्रेस नेताहरुले ओलीको प्रस्तावमात्रै अस्वीकार गरेनन्, संसद विघटन गर्ने अधिकार ओलीसँग नरहेको स्मरण पनि गराउन थाले । तर, यहीबेला माधव कुमार नेपाल देउवासँग कुराकानी गर्न बूढमनीलकण्ठ पुगेपछि ओली पक्ष थप तरंगित बनेको नेताहरु बताउँछन् ।

दोस्रो मुभ– एमालेका बरिष्ठ नेता माधव नेपालको दोस्रो मुभ हो– राष्ट्रिय सभाको उपचुनावमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय । प्रचण्ड र देउवासँगको भेटपछि आफ्नो समूहका डा. देवकोटालाई साझा उम्मेदवार बनाउन नेता नेपाल सफल भए । यो निर्णयले ओली पक्षमा एकप्रकारको भुइँचालो नै आयो । बालुवाटारमा तत्काल स्थायी कमिटीको बैठक बोलाइयो र बादलको उम्मेदवारी ‘ब्याक’ गरियो । माधव नेपाल पक्षसँग जोरी खोज्दा कस्तो घाटा हुने रहेछ भन्ने शिक्षा ओली समूहले पायो । किनभने, बागमती प्रदेशमा हुने राष्ट्रियसभामा बादलको जीत निश्चित थियो, माधव पक्षले विपक्षी गठबन्धनलाई सघाउँदा ओली अल्पमतमा पर्ने प्रष्टै देखियो ।

 

 


राष्ट्रियसभाको उपचुनावमा भएको यो गठबन्धनले बादललाई मात्र होइन, डोरमणि नेतृत्वको प्रदेश सरकारलाई समेत अल्पमतमा पार्ने निश्चित भएपछि ओली समूह थप तर्सिएको हो । ११० सिटको प्रदेश सभामा माधव नेपालले हात झिक्दा ओली समूहमा ३४ सिटमात्र बाँकी रहन्छ र प्रदेश सरकारले बहुमत गुमाउने निश्चित हुन्छ ।

तेस्रो मुभ : माधव नेपाल पक्षको तेस्रो मुभ हो–सामुहिक राजीनामाको कार्ड । माधव नेपाल पक्षका सांसदहरुलाई धम्क्याएर भए पनि आफ्नो पक्षमा पार्न सकिने प्रधानमन्त्री ओलीको सोचाइ थियो । आफ्नो पक्षमा मतदान नगरे कारवाही गर्ने तयारी पनि थियो । सबैलाई स्पष्टीकरण नै सोधिसकिएको थियो । तीनदिन अघि मात्रै थप तीनजनालाई स्पष्टीकरण सोधिएको थियो । तर, यहीबेला माधव पक्षका सांसदहरुले सामुहिक राजीनामा दिने बताएपछि प्रधानमन्त्री ओली झस्किए । माधव पक्षका २० बढी सांसदले सामुहिक राजीनामा दिँदा आफ्नो बुहमत मात्रै गुम्ने नभई विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्ने देखेपछि ओली कारवाहीको धम्कीबाट ब्याक भएर सम्झौता गर्ने बाटोमा आइपुगेको नेताहरुको विश्लेषण छ ।

 

 


मिलनविन्दु : जेठ २ मै फर्कने वा कारवाही फिर्ता मात्र ?

प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच  आज शुक्रबार थप छलफल हुने नेताहरुले बताएका छन् । तर, दुबै पक्षबीचको मिलनबिन्दु के हो ? प्रधानमन्त्री ओलीले नेपाल पक्षका नेताहरुलाई फकाएर विश्वासको मत दिन लगाउने उपाय के हुन सक्ला ? यो विषयको चित्र लगभग बाहिर आइसकेको छ ।

केपी ओली पक्षले नेपाल समूहका ३० जनामाथि चलाइएको कारवाही फिर्ता लिएर उनीहरुलाई भोट हाल्न लगाउने बटमलाइन बनाएको छ । तर, नेपाल पक्षको बटमलाइन चाहिँ फागुन २३ यता भएका एकलौटी निर्णयहरु खारेज गरेर पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने भन्ने छ ।

प्रधानमन्त्री ओलीले आफ्नो अडान छाडेर माधव पक्षको शर्त मानेको खण्डमा एमालेका एकता कायम हुन सक्ने नेताहरुको विश्लेषण छ । तर, ओली अहिलेसम्म त्यति परसम्म जान तयार देखिएका छैनन् । उनले आफूलाई भोट आउँछ भने कारवाही फुकुवासम्म गर्न सक्ने विश्लेषण एमालेभित्र गर्न थालिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप