बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा राजनीतिक संकट : एमालेको अचानोमा जसपा !

आइतबार, १९ वैशाख २०७८, १७ : ००
आइतबार, १९ वैशाख २०७८

जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका ४ सांसदलाई पार्टीले कारबाही गरेपछि सो प्रदेशको राजनीति उथलपुथल मात्रै भएको छैन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । राजीनामा दिएर एकल बहुमतीय सरकार बनाउने योजनामा रहेको एमालेलाई एक सांसदले साथ छोडेपछि पोखरेलको योजनामा क्षणभरमै तुहिन पुगेको छ । 

शंकर पोखरेललाई मात्रै होइन सत्ताको खेलमा लागेको जसपालाई थप घाटा लागेको छ । लुम्बिनीमा जसपा नेपालका ६ जना सांसद थिए । त्यसमध्ये सन्तोषकुमार पाण्डे, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै मन्त्रीमा सपथ लिएका थिए । 

​यसरी पार्टीको ह्वीपलाई उल्लघंन गरेको भन्दै जसपा प्रदेश समितिले चारैजना सांसदलाई कारवाही गरिसकेको छ ।  कारबाहीपछि चारैजनाको सांसद र मन्त्री पद दुवै गयो । पछि चारैजनालाई पुनः सपथग्रहण गराउने चर्चा चलिरहेकै बेला मुख्यमन्त्री पोखरेलले आफै राजीनामा दिए । न जसपा नेपालसँग सांसद रह्यो न मन्त्री ।

जसपा नेपालका कार्यकारिणी समितिका सदस्य दानबहादुर चौधरीले केन्द्रीय नेतृत्वको विवादका कारण जसपा नेपाललाई घाटा भएको बताए । पार्टीले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको थियो । सोहीअनुसार दर्ता पनि गराइसकेको थियो तर पार्टीकै अर्को (महन्थ ठाकुर पक्ष) पक्षले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्न लगाएपछि पार्टीमा घाटाको नतिजा देखिएको हो । 

एमालेले जसपा नेपाललाई ट्रयापमा पारेको कुरा शीर्ष नेताहरुले समयमा बुझ्न नसकेको उनले बताए । उनले भने, ‘सदस्य संख्या कम गर्दै गएपछि एमालेले आफ्नो बहुमत कायम गरेको हो, यदि जसपा नेपालका चारजना सांसद र माओवादी केन्द्रका दुईजना सांसद कारवाहीमा नपरेको भए आज मुख्यमन्त्री पोखरेल यस्तो कदम उठाउन सक्दैनथे ।’

वर्तमान संकटका बीच अब जसपा नेपाल के कस्ता रणनीति बनाएर अगाडि बढ्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको नेता चौधरीले बताए । 
जसपा नेपालका अर्का कार्यकारिणी समितिका सदस्य गोविन्द चौधरीले पार्टीको लाइन स्पष्ट नभएको कारण यस्तो अवस्था आएको बताए । सोही प्रदेशमा रहेका नेता चौधरीले भने, ‘जसपा नेपालका शीर्ष नेताहरुले पार्टीमा छलफल गरी आफ्नो लाइन स्पष्ट गर्न सक्नु भएन, नेता तथा कार्यकर्तालाई स्पष्ट दिशा दिन सक्नु भएन  । त्यही भएर अहिले भएका चारजना सांसदबाट हात धुनु पर्यो ।’

जसपा नेपाल अर्काका लागि मात्र सहिद भइरहेको टिप्पणी गर्दै नेता चौधरीले पार्टीभित्रका एक पक्ष केपी शर्मा अ‍ोलीतिर र अर्को पक्ष प्रचण्डतिर तानिँदा बीचमा कार्यकर्ताहरु अलमलमा रहेको बताए । एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी अ‍ोलीले कस्तोसम्मका खेल खेल्न सक्छन् भने कुरा लुम्बिनीको घटनाबाट प्रष्ट भएको पनि उनले बताए । जसपाका नेताहरुले एमालेको अचानोमा जसपालाई पार्ने काम भएको भन्दै आक्राेश समेत पोखेका छन् । 

अहिले लुम्बिनी प्रदेश सभामा ८१ सदस्य छन् । प्रदेश सभामा एमालेका ४१, माओवादीका १७, काँग्रेसका १९, जसपाका २ र जनमोर्चाका १ सांसद छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप