मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको घटनाले जसपा विभाजनको संघारमा

शुक्रबार, १७ वैशाख २०७८, १४ : १६
शुक्रबार, १७ वैशाख २०७८

लुम्बिनी प्रदेशको विवादका कारण जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको संघारमा पुगेको छ । प्रदेशका चार सांसदलाई उपेन्द्र यादव पक्षले कारवाही गरेको र महन्थ ठाकुरले सभामुखलाई बेग्लै पत्र लेखेर जोगाउन खोजेपछि जसपामा विभाजनको सम्भावना बढेको हो ।

प्रदेश मन्त्रीको सपथ खाएका चारजना जसपा सांसदलाई जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले  कारवाही गरेको छ । यादव पक्षले कारवाहीको पत्र पठाएपछि त्यहाँको प्रदेशसभाले उनीहरुको प्रदेशसभा सदस्य पद नरहेको सूचना टाँस गरिसकेको छ ।

तर, अर्का अध्यक्ष महन्थ ठाकुरले त्यहाँका प्रदेशसभाका सभामुखलाई बेग्लै पत्र पठाएर कारवाही नगर्न भनेका छन् । लुम्बिनी प्रदेशसभामा पूर्वराजपा नेपाल र पूर्वसमाजवादी पार्टी  दुवैको संसदीय दलको समायोजन भई जसपाको ६ सदस्यीय संसदीय दल गठन भएको बताएका छन् । ठाकुरले उनीहरुमाथिको कारवाही वैधानिक नभएको जिकिर गरेका छन् । र, यही विषयलाई लिएर चार सांसदलाई सर्वोच्चमा मुद्दा हाल्न लगाउने ठाकुर पक्षको तयारी छ ।

अध्यक्ष ठाकुरले केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही नभएको समेत जानकारी प्रदेशका सभामुखलाई गराएका छन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीभित्र आन्तरिक विवादले शुरुदेखि दुई चिरामा थिए । पछिल्लो समय लुम्बिनी प्रदेशमा त्यहाँका सरकारलाई जसपा नेपालका चारजना सांसदले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि पार्टीमा चर्को विवाद उत्पन्न भएको हो ।

एउटा पक्षले चारैजनालाई कारवाही गर्ने र अर्को पक्षले कारवाही नभएको विज्ञप्ति जारी गरेपछि लुम्बिनी प्रदेशमा जसपा स्पष्ट रुपमा दुई चिरामा विभाजित भइसकेको छ । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकबाट प्रदेश सांसद विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेलाई हिजो कारवाही गरेको छ ।

​कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट उनीहरुलाई कारवाही गरेको लुम्बिनी प्रदेशका जसपा अध्यक्ष अशोक यादवले बताए । उनले भने, कार्यकारिणी समितिका २६ जना सदस्यले हस्ताक्षर गरेर उहाँहरुलाई कारवाही गरेको हो । बहुमत सदस्यले कारवाही गरिसकेपछि अर्को अध्यक्षले विज्ञप्ति जारी गर्नुको कुनै अर्थ रहँदैन ।’

कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले पार्टीमा जुन घटना भएको छ, त्यसले जनतामा राम्रो सन्देश नगएको बताए । पार्टीमा जेजति विवाद छन्, पार्टीको बैठक बसेर समाधान गर्नुपर्ने बताए । उनले लुम्बिनीको सवालमा पार्टीमा कार्यकारिणी समितिको बैठक बसेको आफ्नो जानकारीमा नरहेको बताए ।

कार्यकारिणी समितिमा बहुमत

जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षको बहुमत छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा महन्थ ठाकुर नेतृत्वका पूर्वराजपाका २६ जना सदस्य रहेका छन् भने उपेन्द्र यादव नेतृत्वको पूर्व समाजवादी पार्टीका २५ जना छन् । तर, पूर्वराजपा नेपालका महेन्द्र यादव पक्षका तीनजना सदस्यले उपेन्द्र यादवको पक्षमा लागेपछि बहुमत पुगेको हो । त्यसमध्ये २६ जनाको हस्ताक्षर गरेर प्रदेशका चारजना सांसदलाई कारवाही गरिएको हो ।

कार्यकारिणी समितिमा पाँचजना पदाधिकारी छन् । त्यसमा डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई पूर्वसमाजवादीका तर्फबाट छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पूर्वराजपाका तर्फबाट छन् ।

त्यस्तै, कार्यकारिणी सदस्यमा २४ जना पूर्वराजपा नेपालका छन् भने २२ जना पूर्वसमाजवादी पार्टीका छन् । अर्थात कार्यकारिणी समितिमा दुई पदाधिकारी र २४ जना सदस्य गरी २६ जना राजपा नेपालका छन् भने तीनजना पदाधिकारी र २२ जना सदस्य गरी २५ जना समाजवादी पार्टीका छन् । दुईजना मनोनित गर्न बाँकी छ । त्यो समाजवादी पार्टीले आफ्नो तर्फबाट मनोनित गर्नेछ ।

​तत्कालीन राजपामा रहेका महेन्द्र राय यादवले उपेन्द्र यादवलाई साथ दिएका छन् । कार्यकारिणी समितिमा महेन्द्र राय यादवसहित तीनजना सदस्य छन् । शरतसिंह भण्डारी महेन्द्र राय यादवजसरी नखुले पनि उपेन्द्र यादवलाई नै साथ दिने पक्षमा रहेको जसपा नेताहरु बताउँछन् ।

राजकिशोर यादव पनि अहिले मौन छन् । उनको पक्षबाट कार्यकारिणी समितिमा रहेका गजाधर यादवले उपेन्द्र यादवलाई साथ दिएका छन् । यदि उपेन्द्र यादवलाई शरतसिंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादवले साथ दिए भने राजपा नेपालसँग १९ सदस्य मात्र बाँकी रहन्छन् । १९ मध्ये एकजना रेशम चौधरी जेलमा छन् । त्यसैले समाजवादी पार्टीका नेताहरुको हिसाबअनुसार राजपासँग १८ जना सदस्य मात्र बाँकी रहन्छन् ।

तर, पूर्वराजपाका नेताहरुले भने शरतसिंह भण्डारी र राजकिशोर यादवले उपेन्द्र यादवलाई समर्थन नगर्ने दाबी गरिरहेका छन् ।

बैठक बस्न आनाकानी

वैशाख १३ गते जसपा नेपालको पदाधिकारीको बैठक बसेको थियो । सो बैठकमा उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बसाउन माग गरेको थियो । सोही बैठकबाट लुम्बिनी प्रदेशको विवाद समाधान गर्न उपेन्द्र यादवको प्रस्ताव थियो । महन्थ ठाकुरले भने कोरोनाका कारण गरिएको निषेधाज्ञाको बहाना बनाएर बैठक बसाउन इन्कार गरेका थिए । तर, उपेन्द्र यादवले बैशाख १४ गतेका लागि कार्यकारिणी समितिको बेठक बोलाएर बहुमतले निर्णय गरी लुम्बिनी प्रदेशको सांसदलाई कारवाही गरिएको हो ।

कार्यकारिणी सदस्य रामसहाय यादवले भने, बैशाख १४ गते बसेको कार्यकारिणी सदस्यको बैठकले लुम्बिनी प्रदेशका प्रदेश सांसदलाई कारवाही गरिएको हो, महन्थ ठाकुरहरु बैठक नै बस्न नमानेपछि पार्टीको विवादलाई त्यतिकै थाति राख्न नमिल्ने भएर कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले सो निर्णय भएको हो ।’

कार्यकारिणी समिति र पदाधिकारीमा उपेन्द्र यादव पक्षको बहुमत रहेको कारण महन्थ ठाकुरले दुवै समितिबाट कुनै निर्णय हुन दिइरहेको छैनन् । जसपाका कार्यकारिणी समितिका एकजना सदस्यले भने, पार्टीमा सर्वसम्मति नै खोज्ने हो । तर, सर्वसम्मतिबाट नभए बहुमतबाट निर्णय गरेर अगाडि बढ्ने हो उपेन्द्र यादवले त्यस्तै गर्नुभएको छ ।’ पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीबाट कुनै निर्णय गराउन चाहेका छैनन्, उनीहरुले खाली बैठक मात्र सार्दै आएको दाबी ती नेताले गरे ।

चैत ५ गते पनि पदाधिकारीको बैठक बोलाइएको थियो । तर, अध्यक्ष ठाकुर र नेता महतोले त्यसलाई स्थगित गराएको ती नेताले दावी गरे । सत्ता समीकरणका लागि माओवादी केन्द्रलाई साथ दिने कि एमालेलाई साथ दिने विषयमा कार्यकारिणी समितिबाट निर्णय गराउने उपेन्द्र यादवको प्रस्ताव थियो । उपेन्द्र यादवले त्यस्तै प्रस्ताव पनि तयार गरेका थिए । तर, महन्थ ठाकुर र राजेन्द्र महतोले बैठक नै बसाउन नमानेको ती नेताको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप