शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

जनमोर्चाका नेताले अस्पतालमा आफ्नै सांसदलाई भेट्न पाएनन्
बुधबार, १५ वैशाख २०७८, १८ : ३७
बुधबार, १५ वैशाख २०७८


एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध पारे । अन्ततः सबै सांसदहरुलाई लाइन लगाएर पिसिआर जाँच गरियो र बुधबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल सुरु भयो ।

तर, एकाएक जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भए । उनीसँगै दीपक मनाङ्गे पनि बैठकमा आएनन् । मनाङ्गे अघिल्लो दिन खिमविक्रमसँगै देखिएका थिए ।

सांसद शाही पार्टीको सम्पर्कमा समेत नआएपछि जनमोर्चाले आफ्ना सांसदको खोजी गर्न र उनी अपहरणमा परेको आशंका गर्दै जीवनरक्षा गरिदिन माग गर्‍यो । जनमोर्चाको मागपछि सभामुखले प्रदेशसभा बैठक स्थगन गरे ।

संसद बैठक नै स्थगित गरेर खोजी गर्नेक्रममा जनमोर्चाका सांसद शाही चरक अस्पतालको कोभिड वार्डमा आइसीयूमा भर्ना भएर बसेको पत्ता लाग्यो । तत्कालै जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल आफ्ना सांसदलाई भेट्न अस्पतालमा पुगे । तर, अस्पताल प्रशासनले सो पार्टीका नेतालाई शाहीसँग भेट गर्न दिएन । अस्पताल प्रशासनको जवाफ थियो, ‘उहाँलाई गम्भीर रुपमा कोरोनाले सताएको छ, कसैले पनि भेट गर्न मिल्दैन ।’

​तर, सांसद शाही त्यसरी गम्भीर बिरामी परेकोमा उनकै पार्टीका नेताहरु विश्वस्त हुन सकेका छैनन् । जनमोर्चाका एक नेताले रातोपाटीसँग भने, उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ, अहिले एकाएक कसरी पोजेटिभ आयो र हिजोसम्म हिँडडुल गरिरहेको व्यक्ति कसरी आइसीयुमा भर्ना हुनुपर्ने स्थिति आयो ? हामी यसबारे बुझिरहेका छौं, तर अस्पतालले पार्टीका अध्यक्षलाई समेत भेट गर्न दिएको छैन ।

सत्तारुढ दलका सांसदहरुले अघिल्लो दिन पिसिआर जाँचको माग गर्दै बैठक स्थगन गर्नु र भोलिपल्ट सरसाउँदो सांसदलाई कोभिड अस्पतालको आइसीयुमा कसैलाई भेट गर्न नदिई राखिनुमा गडबडी देखिएको जनमोर्चाका नेताहरुले बताएका छन् ।

यो प्रकरणबारे पार्टीले जाँचबुझ गरिरहेको जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले रातोपाटीलाई बताए । जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले मिडियालाई दिएको जनकारी अनुसार सांसद शाहीले बैठकमा आउने र बोल्नेसमेत बताएका थिए । ‘थापाले भने, आज मसँग भेट्दा उहाँले बैठकमा आउँछु भन्नुभएको थियो । बोल्छु पनि भन्नुभएको थियो । पछि बोल्दिनँ, तर आउँछु भन्नुभएको थियो ।’

जनमोर्चाका केन्द्रीय अध्यक्ष हिमलाल पुरीले आफ्नो पार्टीले गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको र आफ्ना सांसदहरुले पार्टी अनुशासन पूर्णरुपमा पालना गर्ने बताएका छन् ।

जनमोर्चाका सांसद शाहीलाई प्रलोभनमा पारेर कोभिड अस्पताल भनाए गरिएको हो या दबावमा त्यसो गरिएको भन्ने स्पष्ट हुन सकेको छैन । जनमोर्चाका नेताहरुका अनुसार उनी सिरियस बिरामी भए÷नभएको नै बुधबार साँझसम्म स्पष्ट हुन बाँकी छ ।

गण्डकी प्रदेशसभामा रहेका कुल ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३ र र जसपाका २ जनासमेत गरी ३१ जना मुख्यमन्त्रीको विपक्षमा छन् । यी सबैले मतदान गर्दा एमालेको सरकार ढल्छ । तर, जनमोर्चाका एकजना सांसदलाई मात्रै मतदानमा अनुपस्थित गराउने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ र सरकार जोगिन्छ भन्ने नियतले कोरोना र पीसीआरलाई सत्तापक्षले राजनीतिको हतियार बनाएको विपक्षी दलहरूको आशंका छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनमोर्चाका सांसदलाई सत्तापक्षले बन्दी बनाएको आरोप लगाएका छन् । उता सत्तारुढ एमालेले भने अविश्वासको प्रस्ताव फेल हुने देखेपछि सभामुखले विपक्षीको प्रभावमा परेर संसद बैठक स्थगन गरेको भन्दै आपत्ति जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप