शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना कहर : बल्ल तात्यो प्रदेश सरकार

भारतसँगको पाँच नाकामात्र आवतजावतका लागि खुला
आइतबार, १२ वैशाख २०७८, १२ : ११
आइतबार, १२ वैशाख २०७८

विराटनगर । कोरोना संक्रमण दर लगातार बढ्न थालेपछि प्रदेश १ सरकारले भारतसँगको सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्न थालिएको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गत वैशाख ५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सीमा क्षेत्रबाट हुने आवागमनलाई व्यवस्थित गरी एकद्वार प्रणाली लागु गर्न प्रदेशका सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिसकेको छ । जसअनुसार अहिले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

प्रदेश १ सरकारले नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतका लागि मोरङको जोगवनी, सुनसरीको भान्टाबारी, झापाको काँकडभिट्टा र भद्रपुर, इलामको पशुपतिनगर नाका तोकिएको छ । त्यो नाकाबाहेक अन्यत्रबाट प्रवेश गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ ।

​कोरोनाको संक्रमणको दर उच्च हुँदै गएकाले त्यसको नियन्त्रण र रोकथामका लागि सीमा क्षेत्र व्यवस्थित गर्न सम्वन्धित जिल्ला प्रशासनलाई भनिएअनुसार सीमाक्षेत्रको आवागमनमा कडाइ गर्ने काम सुरु भईसकेको प्रदेश सरकारका प्रवक्ता एवं अन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।

‘भारतमा दैनिक ठुलो संख्यामा कोराना संक्रमित देखिएको र त्यसबाट मृत्यु हुनेको संख्या अत्यासलाग्दो अवस्थामा बढेको छ,’ मन्त्री कार्कीले भने, ‘खुला सीमाना भएकाले सीमा क्षेत्रलाई व्यवस्थित गर्न नसकेको अवस्थामा हाम्रोमा पनि भोलिका दिन त्यो अवस्था नआउला भन्न सकिन्न ।’

त्यसैले पहिलो चरणमा सीमा क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक निर्देशन दिइसकेको उनले बताए । सोहीअनुसार अहिले सीमा क्षेत्रबाट हुने अनधिकृत आवतजावतमा कडाइ गरिएको उनले बताए ।

प्रदेश १ मा सुनसरी, मोरङ, झापा र इलाम क्षेत्रमा पर्ने दशगजा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्र व्यवस्थित गर्ने काम भइरहेको पनि मन्त्री कार्कीको भनाइ छ ।

प्रदेश १ मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । पछिल्लो दुई हप्ता यतामात्र प्रदेशमा सक्रिय संक्रमितको संख्यामा ३० गुणाले वृद्धि भई ७५० भन्दा बढी पुगेको छ । प्रदेश १ मा कुल संक्रमितमध्ये आधाभन्दा बढी विराटनगरका छन् ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन

नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि आवतजावतमा कडाइका साथ व्यवस्थित गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको संख्या बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमै केन्द्रित गरेको छ ।

यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट पछिल्लो समय दशगजा क्षेत्रमा खडा गरिएको छ । यसअघि पनि कोरानाको पहिलो कहरमा यसरी नै सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा केन्द्रीत गरी उनीहरुको तैनाथी बढाइएको थियो ।

खुला सीमानाका कारण भारतबाट मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्ने सम्भावना देखिएकाले जनशक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको सशस्त्र प्रहरी बल, नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति वंशीराज दाहालले जानकारी दिए ।

भारतको बिहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा जनशक्तिलाई केन्द्रित गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दाहालले बताए । सीमा क्षेत्रमा नयाँ पोस्ट थपेर सात जनाको दरले ड्युटीको व्यवस्था मिलाइएको छ ।

भारतसँग झापा, मोरङ र सुनसरीको २७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र छ । यहाँ करिव ३ हजार २ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

कोरोना संक्रमण बढेपछि अघिल्लो पटकको लकडाउनमा प्रदेश १ को सीमावर्ती क्षेत्रमा दशगजा क्षेत्रदेखि ५ सय मिटरको दुरीमा सशस्त्रको चेकपोस्ट राखेर सीमा क्षेत्रमा मानिस आवतजावतमा पूर्ण रुपमा कडाइ गरिएको थियो ।

चोरबाटोबाट आवतजावत रोक्न मुख्य चुनौती

प्रदेश १ मा मुख्यतः भारतीय सीमा जोडिएका जिल्लाहरु सुनसरी, मोरङ र झापामा कोरोनाको संक्रमणको दर उच्च छ । त्यसमा पनि प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायस्तरमा संक्रमण फैलिएको विराटनगर भारतीय सीमासँग जोडिएको क्षेत्र भएकाले चुनौती थपिएको बताए । अहिले नाका बन्द रहे पनि चोरबाटोबाट मानिसहरुको आवतजावत भइरहेको उनको गुनासो छ ।

​‘भारतमा संक्रमण व्यापक छ । सीमाक्षेत्रमा दुवै देशका नागरिकलाई आवागमन गर्न निषेध गरिएको छ’, उनले भने, ‘तर दिउँसो चोरबाटो प्रयोग गरेर किनमेलका लागि सीमापारका बजार जाने र रातको समयमा अनधिकृत रुपमा भारतीय नागरिक नेपाल प्रवेश गर्ने क्रम अहिले पनि रोकिएको छैन ।’

यस्तो अवस्थाले जोखिम बढाएको उनको भनाइ छ । उनले नाकामा आवतजावत नियन्त्रणका लागि आवश्यक परेको खण्डमा तीनवटै सुरक्षा निकाय परिचालन गर्न संघीय सरकारलाई सुझावसमेत दिए । केन्द्रले सीमा क्षेत्रलाई समयमै व्यवस्थित गर्नेमा चासो नदिएकाले विराटनगरमा भयावह अवस्था आउनसक्ने खतरा बढेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप