बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा बढ्यो कोरोनाको जोखिम

सोमबार, ०६ वैशाख २०७८, ११ : ५१
सोमबार, ०६ वैशाख २०७८

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोनाभाइरस संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ । दिनहुँ संक्रमित हुनेको संख्या प्रदेशका अन्य स्थानको तुलनामा विराटनगरमा उच्च बनेको छ ।

चैत २४ गते यता शुक्रबारसम्म विराटनगरमा कुल २५३ जना संक्रमित फेला परेका छन् । यसमा सक्रिय संक्रमित २१५ जना छन् । यसमध्ये प्रदेशको राजधानी विराटनगरमा मात्र १३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

११ दिनअघि प्रदेशभर कुल ४३ जनामात्रै संक्रमित थिए । मोरङमा सबैभन्दा धेरै ६३ जना संक्रमित थिए भने विराटनगर महानगरपालिका मात्रै ५६ जना संक्रमित थिए ।

यो अवधिमा सुनसरीमा २६, झापामा १८, उदयपुरमा २, संखुवासभामा ३, पाँचथरमा १ र प्रदेश बाहिरका ८ जनामा संक्रमण देखिएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या निरन्तर बढिरहेको छ । कोरोना संक्रमितको दर केही महिना यता सुस्ताएकोमा पुनः नयाँ बिरामी भेटिन थालेका हुन् । नयाँ संक्रमित फेला पर्न थालेपछि विराटनगरस्थित कोशी कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ ।

दोस्रो लहर सुरु भएसँगै कोरोना जाँच गर्न आउनेको संख्या र पोजेटिभ केस पनि बढेको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए ।

संक्रमण बढेपछि महानगरभित्र कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य शाखा संयोजक रमेश कार्कीले बताए ।

प्रदेश १ सरकारले संक्रमितको संख्या शून्यमा झरेपछि अस्पतालमा कार्यरत करारका कर्मचारीलाई दुई हप्ताअघि बिदा गरेको थियो । अहिले सो अस्पतालमा ९ जना उपचाररत छन् । चैत २५ गतेसम्म अस्पतालमा जम्मा एकजना बिरामीमात्रै उपचाररत थिए । अहिले दैनिकजसो अस्पतालमा संक्रमित भर्ना हुने क्रम बढेको छ ।

एक साताका लागि विद्यालय बन्द

कोरोनाको दोस्रो लहर सुरु भएसँगै विराटनगरमा २९ जना स्कुल जाने उमेरका बालबालिकामा कोरोना संक्रमण देखिएको छ । विराटनगर महानगरपालिकाले बालबालिकामा कोरानाको संक्रमण दर बढेसँगै आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरको शिक्षा समितिको बैठकले तत्काललाई एक साताका लागि महानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाको तथ्याङ्क अनुसार शनिबारसम्म विराटनगरमा १३८ जनामा संक्रमण देखिएको थियो । तीमध्ये नयाँ संक्रमित ७ देखि २० वर्षसम्मका २९ जना विद्यार्थीहरु छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई कोरोनाको उच्च जोखिममा राखेको छ । जसमा मोरङ जिल्ला पनि छ ।

सीमावर्ती भारतीय क्षेत्रमा कोरोना संक्रमणको दर भयावह रुपमा बढिरहेका बेला नेपाली भूभागमा भने खासै सतर्कता अपनाइएको छैन । अहिले पनि किनमेलका लागि सीमापारको बजार जोगवनी जाने क्रम रोकिएको छैन । जसका कारण विराटनगर कोरोनाको ‘हट स्पट’ बन्ने खतरा बढेको छ ।

कोशी अस्पताल कोभिड १९ पिसिआर ल्याबका क्लिनिकल माइक्रो बाइलोजिष्ट प्रणवकुमार यादवले अहिले दैनिक ३ सयभन्दा बढिको संख्यामा पिसिआर परीक्षण हुँदै आएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विराटनगरमा केही दिन यता निरन्तर रुपमा नयाँ संक्रमितहरु भेटिएपछि सीमा क्षेत्रमा पनि सतर्कता बढाइएको दाबी गरे ।

उनले सीमा क्षेत्रमा दुई सुरक्षा अङ्गलाई परिचालन गरी सीमा वारपार गर्नेमाथि निगरानी बढाइएको बताए । त्यसैगरी सीमा नाकामा हेल्थ क्याम्प राखी आवतजावत गर्नेको ज्वरो परीक्षण गरी नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएको निरौलाले बताए ।

जनस्वास्थ्यविज्ञको चेतावनी

जनस्वास्थ्यविज्ञ डा. नवराज सुब्बाले विराटनगर लगायत मुलुकका मुख्य शहरमा पछिल्लो समय नयाँ संक्रमित भेटिन थालेकाले सबैले कडाईका साथ सामाजिक दूरी कायम गर्नेदेखि स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने कार्यलाई सरोकारवाला निकाय लाग्नुपर्ने बताए ।

‘विश्वको कतिपय मुलुक पुनः कोरोना कहरमा फसेका छन्,’ यस्तो अवस्थामा नेपालमा पनि सानो संख्यामा भए पनि कोरोनाका नयाँ संक्रमित भेटिन थालेका छन्,’ जनस्वास्थ्यविज्ञ सुब्बा भन्छन्, ‘खोप लगाउने कार्य पनि भइरहेको छ, तथापि अब हामीले स्वास्थ्य मापदण्डलाई पूर्ण पालना नगरेको खण्डमा विराटनगर कोरोनाको हट स्पट बन्ने खतरा छ ।’

उनले खुल्ला नाका भएकाले नेपाल प्रवेश गर्ने मानिसको स्वास्थ्य जाँच गराएरमात्र नेपाल प्रवेश गराउनुपर्नेमा जोड दिए ।

‘नेपालमा फेरि हिजोको जस्तो कोरोनाको महामारी आएको अवस्थामा धेरै जनधनको क्षतिसँगै आर्थिक र सामाजिक अवस्थालाई ध्वस्त पार्छ,’ जनस्वास्थ्यविज्ञ सुब्बाले भने, ‘आजको सानो संख्यामा संक्रमितहरुको अवस्थालाई कसैले नजरअन्दाज गर्न मिल्दैन ।’

कोरोना महामारीको जोखिमलाई कम गर्न नागरिक तहसँगै सबै क्षेत्र बेलैमा सचेत हुन जरुरी रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप