एन्टिजेन पोजेटिभ देखिएकी महिलाको अस्पताल चहार्दा चहार्दै मृत्यु
विराटनगर । कोरोनाको दोश्रो कहर बढेसँगै फेरि विराटनगरका ठुला अस्पतालले बिरामीलाई भर्ना लिन छाडेका छन् । समयमै अस्पतालले भर्ना नलिएका कारण सोमबार एक बिरामीको मृत्युसमेत भएको छ । उदयपुर, गाईघाटकी ३५ वर्षीय जैनव खातुनको समयमै उपचार नपाउँदा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई सोमबार बिहान विराटनगर ल्याएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिँदै विराटनगरका सुविधासम्पन्न अस्पतालसम्म ल्याइएकी उनी अस्पतालले भर्ना नलिँदा अलपत्र परेकी थिइन् ।
अस्पतालले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि भर्ना गर्न नमानेको परिवारजनको भनाइ छ । भर्नाका लागि विभिन्न अस्पताल चहार्दा चहार्दै उनको मृत्यु भएको एम्बुलेन्स चालक राजा मियाँले बताए । मियाँका अनुसार उदयपुरबाट राति करिब ३ बजे उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो । सो अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई विराट मेडिकल कलेज लगेकोमा सो अस्पतालले पनि भर्ना लिन नमानेको मियाँले बताए ।
‘बिरामीको अवस्था गम्भीर थियो, गोल्डेनले भर्ना गर्न नमानेपछि विराटमा लगियो’ उनले भने, ‘त्यहाँ पनि भर्ना गर्न मानेन, त्यहाँबाट म्याक्स अस्पतालमा सम्पर्क गर्दा बिरामी नल्याउनु भन्यो ।’ त्यसपछि बिरामीलाई आफन्तले कोशी अस्पतालमा भर्ना गराए । आइसोलेसनमा राखेको केही समय उपचार नभएपछि आफन्तले नोबेल मेडिकल कलेज लिएर गएको र एन्टिजेन पोजेटिभ केस भएको जानकारी पाएपछि नोबेलले पनि भर्ना गर्न नमानेको उनको भनाइ छ ।
आफन्तले बिरामीलाई पुनः कोशी अस्पतालमै ल्याएको र बिहान करिब साढे ६ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।
‘उहाँको एन्टिजेन पोजेटिभ हो, पिसिआर भएको थिएन,’ उनले भने, ‘अक्सिजनको लेभल पनि निकै कम थियो ।’ बिरामीको मृत्यु भएपछि आफन्तले शव घर लिएर गएका छन् । श्वासप्रश्वासमा समस्या भएकी महिलालाई उदयपुरबाट विराटनगरसम्म आइपुग्दा दुई सिलिन्डर अक्सिजन सकिएको थियो । तर विराटनगरका अस्पतालले भर्ना गर्न नमानेका कारण उपचार अभावमै उनको मृत्यु भएको परिवारजनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण