सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र-बाबुरामको बचनपछि देउवाले गरे प्रचण्डसँग भेटवार्ता

मङ्गलबार, ३१ चैत २०७७, २२ : ५१
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । महाराजगन्जस्थित देउवाका ससुराली नाता पार्ने प्रमोद राणाको निवासमा उनीहरुबीच भेटवार्ता भएको देउवा निकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

​देउवासँग आज अपरान्ह जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भेटवार्ता गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासबाट साढे पाँच बजे बाबुराम र उपेन्द्र निस्किएका थिए । त्यसपछि देउवा र प्रचण्डबीच राति ९ बजे सत्ता समीकरणकै विषयमा छलफल भएको छ । जसपा अध्यक्ष उपेन्द्र र बाबुरामले प्रधानमन्त्री केपी ओलीको विकल्प दिन आफूहरु तयार रहेको बताएका थिए । उनीहरुले सरकारको नेतृत्व लिन काँग्रेस अग्रसर नभए आफूलाई साथ दिन पनि देउवालाई आग्रह गरेका थिए । स्रोतका अनुसार देउवाले उनीहरुसँग सरकार बन्ने आधार मागेका थिए । 

देउवाको भनाइ उद्धृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, 'तपाईंको पार्टीभित्र एकमत छैन । तपाईंहरु एक भएर नआएसम्म कसरी सरकार बन्छ? संख्या पुग्छ?'

'त्यसको चिन्ता नगर्न' भट्टराईले देउवालाई भनेका थिए । विगतमा ओलीसँग सुशील कोइराला पराजित भएको भएको घटना पनि देउवाले उनीहरुलाई स्मरण गराएको स्रोतले जानकारी दियो । तत्कालीन माओवादी नेता बाबुराम भट्टराई पक्षका सांसदले ओलीको पक्षमा मतदान नगर्ने चर्चा थियो । तर ओलीले ३ सय ३८ मत पाएका थिए भने कोइरालाले २ सय ४९ मत पाएका थिए । 

त्यतिबेला काँग्रेसले ३ सय ६० मत पुग्ने दाबीसहित कोइरालालाई अगाडि सारेको थियो । देउवाले भट्टराईलाई त्यही घटना सम्झाएका थिए । तर यतिबेला काँग्रेस इमान्दार भएर नयाँ सरकार गठनको पक्षमा उभिए सरकार बन्न गाह्रो नभएको बाबुरामको भनाइ थियो ।

देउवासँगको भेटपछि भट्टराईले नयॉ वर्ष २०७८ ले कोभिड १९ र आधुनिक भष्मासुर (केपी ओली)बाट सबैलाई मुक्ति देओस् भन्ने कामना गरेका छन् । बाबुराम र उपेन्द्रसँगको कुराकानीपछि देउवा र प्रचण्डबीच भएको वार्तालाई अर्थ पूर्णरुपमा हेरिएको छ । तर देउवा र प्रचण्डबीच भएको वार्ताको भित्री कुरा गोप्य राखिएको छ । 

 


यसअघि शुक्रबार देउवाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । जसमा देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए । देउवाको प्रस्तावको माओवादीले स्वागत गरे पनि जसपाले निर्णयमा पुग्न समय मागेको थियो । जसपाको पदाधिकारी बैठकपछि उपेन्द्र र बाबुराम सत्ता समीकरणमा जुटेको पाइन्छ । तर जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने जनकपुरतिर लागेका छन् ।
सत्ता गठबन्धन निर्माणमा निर्णायक मानिएको जसपामा ठाकुर र महतो पक्ष नयाँ सरकार गठनप्रति इच्छुक देखिएको पाइँदैन । उनीहरुले तत्काल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नहुनेमा जोड दिएको पाइन्छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप