बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग जसपाका दुई दाउ

शुक्रबार, २० चैत २०७७, १८ : ३१
शुक्रबार, २० चैत २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुईवटा दाउ हेरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग घनिभूत छलफलमा छ । पार्टीभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई ओलीसँग नमिल्न दबाव सिर्जना गरिरहेका छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा ‘नेकपा’ खारेज गरी साबिकको एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएपछि एमाले अध्यक्ष ओलीले जसपाको साथ खोजिरहेका छन् । आफ्नो सरकार बचाउन वा नयाँ सरकार निर्माण हुन नदिन ओलीको कसरत जारी छ ।

जसपाकै उपेन्द्र र बाबुराम कुनै हालतमा पनि ओलीलाई साथ दिन नहुने पक्षमा छन् । ओलीलाई सरकारबाट बहिर्गमन गराउन काँग्रेस र माओवादी केन्द्रसँग उनीहरु निरन्तर छलफलमा छन् । तर, आफ्ना मुद्दा सम्बोधनका लागि ओली उपयुक्त पात्र भएको महन्थ र राजेन्द्र पक्षको बुझाइ छ ।

 


 

जसपाका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘हाम्रा माग सम्बोधनका लागि यतिबेला उपयुक्त पात्र केपी ओली हुनुहुन्छ । प्रचण्डजीले माग सम्बोधन गर्छु भनेर भाषण मात्र गर्नुहुन्छ । देउवाजी रेशम चौधरीको नाम पनि सुन्न चाहनुहुन्न । उहाँले गर्छु भनेर पनि गनगन मात्र गर्ने हो । प्रचण्ड र देउवाजीसँग आँट नै छैन ।’

सत्ता सङ्कट टार्न प्रधानमन्त्री ओलीले निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता, नागरिकता र संविधान संशोधन गरिदिने उनीहरुको आश छ । आफूहरुका माग सम्बोधन गर्न केही कानुनी जटिलता रहेको भन्दै नियम र कानुनभन्दा बाहिर गएर निर्णय लिनसक्ने ओली नै भएको उनको बुझाइ छ ।

‘ओलीजी संविधान, नियम, कानुन र विधि–विधान गर्ने मान्छे होइन । हामीलाई चाहिएको पनि उहाँजस्तै मान्छे होे । उहाँ आँट भएको मान्छे हो । कसले के भन्छ भन्ने कुरामा उहाँलाई मतलब छैन । संसद् विघटनदेखि एमालेमा चलाइएको कारबाही हेर्नुस्,’ उनले भने ।

आफूहरुको माग सम्बोधन गर्न अहिलेजस्तो उपयुक्त समय नआउने उनको भनाइ छ । ‘यस्तो उपयुक्त पात्र र समय सधैँ आउँदैन । आदर्शका कुरा गरेर हाम्रो समस्या समाधान हुँदैन,’ उनले भने, ‘हामीले पार्टीलाई फाइदा हुनेगरी दाउ छोप्ने हो ।’

विगतमा एमालेकै कारण संविधान संशोधन राखिएकोले ओली तयार भए काँग्रेस र माओवादीको स्वतः समर्थन रहने र संविधान संशोधन हुने महन्थ–राजेन्द्रको बुझाइ छ ।

ओलीले आफूहरुका माग सम्बोधन गरिदिनेमा राजेन्द्र महतो आशावादी देखिन्छन् । उनले रातोपाटीसँग भने, ‘केपी ओलीजीले गर्छु भनिराख्नुभएको छ । हाम्रा मागप्रति सकारात्मक देखिनु पनि भएको छ । विगतमा भन्दा अहिले उहाँ बडो उदार देखिनुभएको छ । माग सम्बोधन हुनेमा आशावादी छौँ ।’

प्रधानमन्त्री ओलीले अन्तिम अवस्थामा जसपालाई प्रधानमन्त्री दिनेमा पनि उनी यस्तै आशावादी देखिन्छन् । ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिए संवैधानिक प्रक्रियाअनुसार नै देश अगाडि बढ्ने हो । नियमित प्रक्रियाअनुसार दुई वर्षको कार्यकाल पनि पूरा हुन सक्छ वा संवैधानिक प्रक्रिया पु¥याएर अर्ली इलेक्सनमा जान पनि सकिन्छ । त्यस्तो अवस्थामा जसपाले प्रधानमन्त्री पाउने सम्भावना देख्छु,’ उनले भने ।

महन्थ र राजेन्द्र त्रिपक्षीय गठबन्धनभन्दा ओलीसँगको सहकार्य सहज र फाइदाजनक हुने निष्कर्षमा पुगेको पाइन्छ । संसदमा निरन्तरता र अर्ली निर्वाचनका लागि जसपा तयार रहको महतोको भनाइ छ । ‘हामी दुबै अवस्थाका लागि तयार छौँ । मुलुकमा जे अवस्था आउँछ, जसपामा सामेल हुन तयार छ,’ उनले भने ।

अर्ली निर्वाचन गर्न ओलीको नेतृत्व सर्वस्वीकार्य नहुने भएकाले जसपा अध्यक्ष महन्थ ठाकुरलाई अगाडि बढाउन ओली तयार हुने उक्त पक्षको बुझाइ छ । जसपा स्रोतले भन्यो, ‘मुलुक अर्ली निर्वाचनमै जाने देखिन्छ । त्यस्तो अवस्थामा ओलीजीलाई स्वीकारेर निर्वाचनमा जाने वातावरण बन्ने देखिँदैन । जसपाले डाक्टर साप (बाबुराम भट्टराई) लाई अगाडि सार्दा ओलीजीले मान्नुहुन्न । महन्थ ठाकुरजी काँग्रेसका लागि पनि सहज मान्छे हो । अर्ली निर्वाचनमा तीन/चार महिनाका लागि उहाँ प्रधानमन्त्री बन्ने अवस्था आउँछ होला ।’

मधेस विरोधी छवि सुधार्न एमाले, काँग्रेस र माओवादीका लागि त्यो अवसर पनि हुने देखिन्छ ।  ‘निर्वाचन गराउन तीन/चार महिना प्रधानमन्त्री हुँदा काम त केही हुँदैन । तर, फोगटमा उहाँहरुलाई मधेसप्रेमी बन्ने अवसर बन्छ । महन्थ ठाकुरजी प्रधानमन्त्री पाउने अवस्थामा कोसँग सहकार्य गर्ने नगर्ने भन्ने विषयमा पनि पार्टीभित्र विवाद सकिन्छ,’ जसपा स्रोतले भन्यो ।

 


यस्तो अवस्थामा ओलीसँगै सहकार्य गर्ने विषयमा पार्टीले गर्ने निर्णय मान्न सबै बाध्य हुने ठाकुर–महतो पक्षको भनाइ छ । त्यसैले अध्यक्ष यादवको राजनीतिक प्रतिवेदन छलफलका लागि समेत बैठकमा नलगिएको उक्त पक्षले बतायो । यादवले ओलीलाई खलनायकका रूपमा प्रस्तुत गरेकाले भोलि सहकार्य गर्न गर्ने ठाउँ बाँकी राख्न उक्त कदम उठाइएको देखिन्छ ।

अर्कातिर ठाकुर सामु प्रधानमन्त्री ओलीले राखेका तीनवटा प्रस्तावले पनि जसपा तत्काल राजनीतिक निर्णय नलिने पक्षमा देखिएको हो । प्रधानमन्त्री ओलीले ठाकुरसँग राखेका तीनवटा प्रस्तावमध्ये अर्ली निर्वाचन पनि एक थियो । प्रधानमन्त्री ओलीले आफूलाई तीन प्रस्ताव राखेको रातोपाटीसँगको विशेष कुराकानीमा ठाकुरले खुलासा गरेका थिए ।

 


 

‘पहिलो, सरकारमा आउनुहोस्, मिलेर जाउँला । दोस्रो, सरकारमा आउन चाहनुहुन्न भने बाहिरैबाट हामीलाई समर्थन गर्नुहोस् । त्यो पनि भएन भने तपाईं अरूसँग पनि नजानुहोस् । तटस्थ बस्नुहोस्, निर्वाचनमा जानुपर्छ,’ प्रधानमन्त्रीको प्रस्ताव सुनाएका थिए ।

ठाकुरले जसपा अर्ली निर्वाचनको पक्षमा उभिने पनि सङ्केत दिएका थिए । तर, ठाकुर प्रधानमन्त्री बन्न संविधानको धारा ७६ को ४ मा पुग्नुपर्छ । मन्त्रिपरिषद् गठनका लागि संविधानको धारा ७६ मा विभिन्न प्रावधान राखिएको छ । उक्त धाराको उपधारा (१) ले एकल बहुमतको सरकार गठनसम्बन्धी व्यवस्था गरेको छ । प्रतिनिधि सभामा अहिले राष्ट्रिय मान्यता पाएका चार दलमध्ये कुनै दलको बहुमत छैन । यतिबेला माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओलीको नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा (२) अन्तर्गतको रहेको छ ।

ओली सरकारलाई विस्थापित गर्ने हो भने यही उपधारामा टेकेर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा बीचको गठबन्धन निर्माण हुन जरुरी हुन्छ । संविधानको धारा ७६ को उपधारा (३) ले अहिलेको समीकरणअनुसार नेकपा एमालेलाई नै सरकार गठन गर्नसक्ने सुविधा दिएको छ ।

संविधानको धारा ७६ को उपधारा (२) अन्तर्गतको ओली सरकारले माओवादी केन्द्रको समर्थन गुमाएको अवस्थामा अन्य कुनै साझेदार दल फेला नपरेमा उपधारा (३) मा टेकेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन सक्ने सम्भावना पनि कायम छ । अहिलेको अवस्थामा नेकपा एमाले नै ठूलो दल भएका कारण उपधारा (३) अन्तर्गत एमालेले प्रतिनिधि सभामा सबैभन्दा धेरै सदस्य भएको दलका रूपमा राष्ट्रपतिबाट सरकार गठनका लागि मौका पाउने देखिन्छ ।

तर, धारा ७६ को उपधारा २ वा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र उपधारा ४ अन्तर्गत प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसपछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन सक्ने व्यवस्था छ । जुन व्यवस्था ठाकुरका लागि अनुकुल हुन आउँछ । सम्भव भए राष्ट्रिय सहमति लिएर प्रधानमन्त्री बन्ने नभए ओलीको साथ लिने ठाकुरको तयारी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप