केन्द्रीय संस्करण
राजनीति

महन्थ ठाकुर र उपेन्द्र यादवको ‘केमेस्ट्री’ नमिलेपछि...

person explore access_timeचैत २९, २०७७ chat_bubble_outline0

काठमाडौँ । विगतमा भिन्नाभिन्नै समूहमा रहेका मधेसवादी दलहरु मिलेर अहिले जनता समाजवादी पार्टी नेपाल (जसपा) बनेको छ । तर, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बने पनि यी दुई पार्टीमा शीर्षनेताहरुको ‘केमेस्ट्री’ नमिल्दा धाँजा फाटिरहेको छ ।

सबैको पृष्ठभूमि मधेस आन्दोलन

२०६२/०६३ सालमा दोस्रो आन्दोलन र त्यसपछि मधेस आन्दोलन सुरु हुँदा निर्वाचन आयोगमा दर्ता भएको मधेसकेन्द्रित पार्टी नेपाल सद्भावना पार्टी मात्रै थियो ।

उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम एउटा समाजिक संस्थाका रुपमा संगठित थियो, तर पार्टीको आकार लिएको थिएन । पहिलो मधेस आन्दोलनलाई यही फोरमले हाँकेको थियो । पछि त्यसमा सद्भावना पार्टी जोडियो ।

दोस्रो मधेस आन्दोलनसम्म आइपुग्दा महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जन्मियो । र, नवगठित तमलोपा पनि मधेस आन्दोलनमा जोडियो । अन्ततः फोरम, सद्भावना र तमलोपाले कार्यगत एकता गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाए ।

सत्तामा पुगेपछि टुटफुट शुरु

सरकारसँग ८ बुँदे सम्झौतापछि तीनै दलहरु आ–आफ्नो ब्यानरमा संविधानसभाको चुनावमा सहभागी भए । पहिलो संविधानसभा चुनावपछि यी तीन दलको सत्ता–यात्रा सुरु भयो । सँगसँगै, पार्टी विभाजनको श्रृङ्खला पनि सुरु भयो ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम चार टुक्रा भयो । नेपाल सद्भावना पार्टी पाँच टुक्रा भयो । त्यस्तै तमलोपा दुई टुक्रा भयो । अन्ततः तीनवटा दलबाट ११ वटा दल बने । २०७० को दोस्रो संविधानसभा चुनावमा फुटकै कारण मधेसवादी दलहरु कमजोर बने ।

पहिलो संविधानसभापछि फुटेका यी दलहरुका बीचमा एकीकरणका लागि प्रयास  पनि नभएको होइन । सुरुमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महन्थ ठाकुर नेतृत्वको तमलोपाबीच एकीकरणका लागि प्रयास भयो । अन्तिम चरणमा पार्टीको नाम, झण्डा, राजनीतिक दस्तावेज लगायतका कुराहरु मिले पनि नेतृत्वमा कुरा नमिल्दा शुरुमा एकीकरण हुन सकेन । तर, एकताको प्रयास जारी नै रह्यो ।

वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव, काँग्रेस पृष्ठभूमिका महन्थ ठाकुर र गजेन्द्रवादी विचारधाराबाट प्रशिक्षित मधेसवादी नेता राजेन्द्र महतोबीच एकीकरणका लागि पटक–पटक कुरा भयो । अन्त्यमा नेतृत्वमा कुरा नमिलेपछि एकीकरण प्रकृयामा ‘ब्रेक’ लाग्थ्यो ।

 

राजपाको जन्म

 

अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम(गणतान्त्रिक), महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका बीचमा एकताको प्रयास त भयो । तर, यी दलका वीचमा कुरा मिलिरहेको थिएन ।

चुनावको असफलताबाट थलिएका यी दलहरुलाई एकीकृत हुन मधेसका जनताबाट दबाव थियो । मधेसी जनताले एकीकृत भएर आए मात्रै मतदान गर्ने, नत्र छुट्टा–छुट्टै दललाई मत दिन नसकिने दबाव दिइरहेका थिए ।

यसैवीच, २०७४ मा भएको प्रतिनिनिधिसभा चुनावअघि २०७४ बैशाख ८ गते तमलोपा, तमसपा, फोरम लोकतान्त्रिक, संघीय सद्भावना पार्टी, सद्भावना पार्टी, रामसपावीच एकता भई राजपा नेपाल बन्यो । तर, महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले नेतृत्व गरेको राजपामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल समाहित भएन ।

उपेन्द्र यादवको अर्को धार

एकातर्फ राजपा बनिरहँदा अर्कोतिर उपेन्द्र यादवले पनि एमालेबाट अलग भएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरे । त्यसमा अन्य आदिवासी–जनजातिहरुका साना समूहहरु पनि मिसिए ।

यसबीचमा उपेन्द्र यादवलाई राजपासँग मिल्न मधेसबाट दबाव आए पनि उनले बेग्लै धारको ध्रुव बनाइरहेका थिए । त्यही क्रममा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग उपेन्द्र यादवले एकीकरण गरेर ‘समाजवादी पार्टी’ बनाए ।

मधेसका मुद्दाहरुको हकमा उपेन्द्र यादवका एजेण्डाहरु राजपा नेपालसँग मिल्थे । दुवै पार्टीको आधार क्षेत्र पनि मधेस नै थियो । तर, दुबै दलबीच एकीकरण भइरहेको थिएन । भलै एकीकरणका लागि दुबैतर्फबाट कार्यदल पनि गठन भएको थियो ।

ओलीका कारण रातारात एकता

प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा जब दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन हुने अवस्थामा पुग्यो, अनि हतार–हतार २०७७ बैशाख १० गते मध्यरातमा तत्कालिन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भयो ।

विगत ११ वर्षदेखि यी दलहरुका बीचमा पटक–पटक प्रयास हुँदा पनि एकीकरण भइरहेको थिएन । तर, जब पार्टी नै फुट्ने अवस्था आयो, बाध्य भएर दुईटै पार्टी एक भए ।

पार्टी निर्माण भएको एक वर्ष नबित्दै अहिले जसपा लगभग दुई चिरा भएको छ । हालसम्म पार्टी एकीकरण समायोजनले पूर्णता पाएको छैन । कार्यकारिणी समिति र केन्द्रीय समितिबाहेक अरु कुनै समिति बन्न सकेका छैनन् । नेताहरुका बीचमा पूर्णरुपमा कार्यविभाजन पनि भएको छैन । अहिले सत्ता समीकरणलाई लिएर पार्टीमा दुईवटा धार स्पष्टरुपमा देखिएका छन्, जुन धार ११ वर्ष पहिलेकै हुन् ।

कतिपय विश्लेषकहरुका अनुसार सुरुमै राजपा र समाजवादी पार्टीवीच अप्राकृतिकरुपमा एकीकरण भयो । दुई दलका बीचमा ‘केमेस्ट्री’ नै मिलेको छैन, त्यसैले यो एकता लामो समय जाँदैन भन्ने टिप्पणी एकीकरणकै बेलादेखि सुरु भएको थियो । पार्टी एकीकरण भएको केहीदिनमै दुई पक्षका बीचमा विवादहरु सुरु भयो । पार्टी दर्ता गराउने दिन पनि समाजवादी पार्टीका तर्फबाट संघीय परिषदको अध्यक्षमा राखिएका डा.बाबुराम भट्टराईको नाममा टिपेक्स लगाइएको थियो ।

राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभ भन्छन्, यी दुई पक्षमा यस्तो समस्या आज देखिएको होइन, सुरुदेखि नै हो । र, यसको मुख्य कारण नेतृत्व नै हो ।’

उपेन्द्र यादव आफूलाई मधेसको मसिहा ठान्छन् भने उता महन्थ ठाकुर आफूलाई मधेसको अगुवा ठान्छन् । मुख्य लडाइँ यसैमा रहेको लाभ बताउँछन् ।

विश्लेषक लाभका अनुसार मधेसको राजनीतिमा महन्थ ठाकुर पछि आएका हुनाले उनलाई कसरी स्वीकारौं भन्ने उपेन्द्रलाई लागेको हुनुपर्छ । उता, महन्थ ठाकुरलाई राजनीतिमा आफू वरिष्ठ रहेको हुनाले उपेन्द्र यादवलाई कसरी स्वीकार गरुँ भन्ने लागेर नै यो समस्या आएको हो ।

उपेन्द्र यादव र महन्थ ठाकुरबीच विचार र सिद्धान्तमा पनि मतभिन्नता छ । उपेन्द्र यादव वामपन्थी विचारबाट प्रशिक्षित छन् भने ठाकुर प्रजातान्त्रिक विचारबाट प्रशिक्षित छन् । यसले गर्दा पनि यी दुई पक्ष दुरी बढाएको लाभको बुझाइ छ ।

फोरम नेपाल आन्दोलनमा हुँदा महन्थ ठाकुरको नेतृत्वमा तमलोपा गठन भएको थियो । उपेन्द्र यादवलाई कमजोर गर्न भारतले तमलोपा गठन गर्न लगाएको बुझाइ पनि उपेन्द्र यादवसँग रहेको कतिपयको विश्लेषण छ । लाभ भन्छन्, ‘महन्थ ठाकुर र उपेन्द्र यादवबीच दुरी बढ्नुमा बाह्य कारण पनि छ । त्यसमा उत्तर र दक्षिणलाई पनि लिन सकिन्छ ।’

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद डा.बाबुराम भट्टराईको विचार एउटा छ भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको विचार अर्को छ । मधेस आन्दोलन होस् या सत्ता सहकार्य, कहीँ पनि दुई पक्षबीच सुरुदेखि नै विचार मिलिरहेको थिएन । दुई पक्षका बीचमा आन्दोलनका क्रममा पनि फरक मत आउने गरेको थियो ।

महन्थ र उपेन्द्रको ‘केमेष्ट्री’

महन्थ ठाकुर विद्यार्थी राजनीतिबाट नै काँग्रेससँग जोडिएका हुन् । २०२७ सालमा जनकपुर क्याम्पसमा तत्कालीन काँग्रेसनिकट विद्यार्थी युनियनका अध्यक्षसमेत भएका थिए । उनी सुरुदेखि आन्दोलनकारी र जुझारु नेतामा गनिन्छन् ।

सँस्कृतिमा स्नातकोत्तर गरेपछि उनले जनकपुर क्याम्पसमा प्रोफेसर भएर काम गरे । उनी प्रोफेसर हुँदा पनि विभिन्न आन्दोलनमा सक्रिय भएर लागेका थिए ।

बीपीको दर्शनलाई विश्वास गर्ने महन्थ ठाकुर प्रोफेसर भएर आन्दोलनमा लागेको कारण जनाउँदै उनलाई पदबाट हटाएको थियो । उनी प्रोफेसरबाट हटेपछि बीएल गरेर महोत्तरीमा वकालत सुरु गरेका थिए । उनी वकालत गर्नुका साथै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भए ।

पार्टीको केन्द्रीय सदस्य हुँदै उनी काँग्रेसको कोषाध्यक्षसम्म भए । उनी पार्टीमा महामन्त्री बन्न चाहन्थे, तर तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले उनलाई महामन्त्री नदिएर डा.रामवरण यादवलाई दिएपछि काँग्रेस छाडेर उनी मधेस राजनीतिमा आएको जानकारहरु बताउँछन् ।  ठाकुर धेरै नबोल्ने, भद्र स्वभावका वेदाग नेता मानिन्छन् ।

२०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा जन्मेका उपेन्द्रको शिक्षादीक्षा र लालनपालन सुनसरीमा भयो । यादवले सामाजिक संस्थाका रुपमा २०५४ सालमा मधेसी जनअधिकार फोरम नेपाल गठन गरेर २०६३–०६४ मा मधेस आन्दोलन शुरु गरे । यादवको राजनीतिक यात्रा भने २०३२ सालबाटै शुरु भएको हो ।

पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भएका उपेन्द्र यादवले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । विद्यार्थी राजनीति हुँदै यादव २०३६ सालको जनमतसंग्रहमा सक्रिय भएका थिए ।

अखिल विभाजित भएपछि उनी प्रगतिशील विद्यार्थी (युनियन) को दुई कार्यकाल उपाध्यक्ष पनि भए । काँग्रेसले शुरु गरेको सत्याग्रह आन्दोलनमा सामेल भए र काठमाडौंमा उनलाई गिरफ्तार गरी सेन्ट्रल जेलमा राखियो ।

पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (माक्र्सवादी) बन्यो  । सो पार्टीको कोशी अञ्चल कमिटीमा रहेर काम गर्न थालेका उपेन्द्र यादव २०४६ सालको जनआन्दोलनमा विराटनगरमा गिरफ्तार भए । प्रजातन्त्र पुनस्थापना भएपछि मात्र उनी रिहा भए ।

पछि माले र मार्क्सवादीबीच एकता भएर एमाले बन्यो । यादव सो पार्टीबाट सुनसरी–४ मा विजय गच्छदारको प्रतिस्पर्धी भएर चुनाव लडे । तर, पराजित भए । पछि उनी माओवादीमा आवद्ध भए । मातृका यादव र सुरेश आलेसँगै दिल्लीमा गिरफ्तार भए । तर, उनी तत्कालै रिहा भए । मातृका र सुरेश आलेमगरलाई भारतले नेपालसमक्ष सुपुर्दगी गरे पनि उपेन्द्र छाडिए । त्यसपछि उनी माओवादीबाट टाढिए ।

माओवादी छाडेपछि यादवले मधेसी जनअधिकार फोरमलाई सक्रिय गर्न थाले । भारतमा अर्धभूमिगत अवस्थामा रहेर उनले फोरम नेपालको संगठन विस्तार गर्न थाले । २०६३ माघ २ गते माइतीघर मण्डलका नेपालको अन्तरिम सविधान जलाएर आन्दोलनको घोषणा गरेपछि यादव एकाएक राजनीतिको चर्चाको शिखरमा पुगे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.