शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीकै नेतृत्वमा चुनावमा जान देउवा तयार

विपक्षी गठबन्धनमा दुई मुद्दा बाधक
शनिबार, २८ चैत २०७७, १० : ५६
शनिबार, २८ चैत २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस नयाँ सरकार गठन सम्भव नहुने करिब निष्कर्षमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय तत्काल पुरा नहुने निष्कर्षमा पुगेको बुझिएको छ ।

शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँगको छलफलपछि काँग्रेस सभापति शेरबहादुर देउवाले करिब एक घण्टा आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि बूढानीलकण्ठबाट बाहिरिएपछि भएको उक्त छलफलमा आगामी रणनीतिबारे कुराकानी भएको स्रोतले रातोपाटीलाई जानकारी दियो ।

 

 


देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले सुरु देखिनै भन्दै आएको हो । हाम्रो नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्न निर्वाचनको विकल्प छैन । महन्थ ठाकुर गठबन्धन बनाउन होइन यहाँ देखिन मात्र आउनुभएको देखियो नि !’

स्रोतका अनुसार देउवाले निर्वाचनको माहोल निर्माणका लागि आन्तरिक रुपमा जोडदिन नेताहरुलाई आग्रह गरेका थिए । सत्ता समीकरणको विषयका कारण बैठक नै बस्न नसक्ने अवस्थामा पुगेको जसपाले एकमतका साथ गठबन्धनका लागि राजी हुनेमा देउवालाई विश्वास नै छैन । अर्कोतिर वरिष्ठ नेता पौडेलबाहेकका शीर्षस्थ नेता सत्ताको खेल बाहिरै देखिन्छन् ।

देउवाले शुक्रबार एक कार्यक्रमा आफू सत्ताको खेलमा नभएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए । यसबाटै प्रष्ट हुन्छ काँग्रेसभित्र नयाँ सरकार निर्माण भन्दा पनि ‘अर्ली इलेक्सन’ को राप उठेको छ ।

 

 


उक्त कार्यक्रममा देउवासँग उपसभापति विमलेन्द्र निधिले पनि सरकार निर्माणको कुरा यथार्थ धरातल बाहिर भएको बताएका थिए । काँग्रेसभित्र सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा एकमत भए पनि तीन दल एक ठाउँमा आउनेमा अझै द्विविधा छ ।

काँग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘माओवादी केन्द्रले अहिलेसम्म समर्थन फिर्ता नै लिँदैन, यता अहिले पनि जसपाको एउटा घटक नयाँ सरकार निर्माणमा इच्छुक देखिएको छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्छ÷बन्दैन, द्विविधा नै छ । हिजो उहाँहरु (जसपाका नेता) हाम्रो प्रस्ताव सुनेर फर्किनुभयो । बैठक सकरात्मक नै भए पनि परिणाममुखी भने देखिएन ।’

यही द्विविधाले गर्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर फेरि चुनाव घोषणा हुन सक्ने महतले सम्भावना औँल्याए । ‘केपी शर्मा ओलीले नै संसद विघटन गरेर चुनाव घोषणा गर्न सक्छन्, त्यसैले जुनसुकै परिस्थिति आए पनि निर्वाचनका लागि हामीले तयारी गर्नुपर्छ,’ महतले भने, ‘किनकि हामी आगामी पाँच वर्षका लागि निर्वाचित भएर आउन चाहन्छौं र त्यसलाई प्रतिकूल हुने सम्झौता पनि गर्न चाहन्नौं ।’

विपक्षी गठबन्धनमा दुई मुद्दा बाधक

तीन दलबीच सहकार्य नहुनुमा चुनावमा जाने रुची र जसपाका निलम्बित सांसद रेशम चौधरीको रिहाइमा सम्झौता नगर्ने काँग्रेसको अडानले समस्या खडा भएको बुझिएको छ ।

माओवादी केन्द्र दुई वर्षअघि चुनावमा जाने मुडमा छैन भने जसपाले चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । यी दुई विषयमा सम्झौता गर्नु काँग्रेसका लागि प्रतिकुल हुने महतले संकेत गरेको बुझ्न गाह्रो छैन ।

‘नेपाली काँग्रेसले आगामी निर्वाचनलाई केन्द्रविन्दुमा राखेको छ । यो संसद पूरै अवधि चले पनि डेढ वर्ष बाँकी छैन,’ सभापति देउवाको प्ाथमिकता सुनाउँदै महतले भने, ‘डेढ वर्षसम्म चल्ने÷नचल्ने ठेगान छैन । त्यसैले, आगामी चुनावको तयारी गर्ने र एक्लै सरकार बनाउने हाम्रो मूल उद्देश्य हो । हामी हाम्रो नेतृत्वबाहेक चुनावमा जाँदैनौँ भन्दैनौँ ।’

पुस ५ मा प्रतिनिधिसभा विघटन यता सभापति देउवा र उनी निकट नेताबाट आइरहेका धारणाले काँग्रेसलाई सरकारको नेतृत्वभन्दा पनि निर्वाचन चाहिएको प्रस्टै छ ।

देउवाले माओवादीको चाहना र जसपाको माग पुरा हुन नसक्ने संकेत हिजो पनि दिसकेको बुझिएको छ । केपी ओलीको विकल्प खडा भए दुई वर्षपछि चुनावमा जाने आफ्नो चाहनालाई तिलाञ्जली दिन माओवादी केन्द्र तयार नै छ । तर जसपाको भने सम्झौता गर्ने मुडमा देखिएको छैन । रेशम चौधरीको रिहाइको कुरा गर्दा काँग्रेस सभापति देउवालाई ‘ज्वरो आउने गरेको’ जसपा अध्यक्ष महन्थ ठाकुरले यसअघि रातोपाटीको कुराकानीमा बताएका छन् ।

रातोपाटीकर्मीसँगको अनौपचारिक संवादमा ठाकुरले भनेका थिए, ‘गठबन्धन कसरी बन्छ ? देउवाजीलाई रेशम चौधरीको कुरा गर्दा ज्वरो आउँछ, जुन हाम्रो मुख्य माग होे ।’

तर, काँग्रेसको नेतृत्वमा बहुमत जुटाएर त्यसले मुलुकलाई निर्वाचनमा लैजाने प्रयास भने जारी रहेको महत बताउँछन् । ‘तीन दल एकजुट भइ सरकारको बहिर्गमन होस् भन्ने हाम्रो चाहना छ । काँग्रेसको नेतृत्वमा बहुमत जुटाएर त्यसले मुलुकलाई निर्वाचनमा लैजाने प्रयास हो,’ महत भन्छन्, ‘तर यसका लागि काँग्रेसको प्रयासले मात्र पुग्दैन, माओवादी र जसपा त्यही ढङ्गले आउनुपर्ने हुन्छ ।’

महतका अनुसार निष्पक्ष चुनावका लागि काँग्रेसको नेतृत्व अपरिहार्य भए पनि त्यो परिस्थिति सुनिश्चित भइराखेको छैन । उनी भन्छन् ‘निष्पक्ष चुनावका लागि हामीले ओली सरकारको विकल्प खोजेका छौं । ओलीजीले निर्वाचनमा साधन स्रोत, प्रशासन यन्त्रको भरपुर दुरुपयोग गर्नुहुन्छ । त्यसैले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्ने सरकार आओस् भन्ने हामी पनि चाहन्छौँ । तर, ओलीको नेतृत्वमा चुनावमा जाँदैनौं भन्ने होइन ।’

महतसँग काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पनि मत मिल्छ । उनले भने, ‘तत्काल अर्को सरकार बन्ने सम्भावना नै छैन । केपी ओलीलाई दुई/दुईवटा बजेट ल्याउन दिने हो कि एउटै बजेट ल्याउन दिएर चुनावमा जाने हो, काँग्रेसले सोच्नुपर्ने बेला आएको छ ।’

मुलुक कसैको बहुमत नपुग्ने ठाउँमा पुगेको भन्दै निर्वाचनको विकल्प नभएको लेखकको भनाइ छ । सम्भव भए आफ्नै र नभए ओलीकै नेतृत्वमा भए पनि चुनावमा जाँदा मुलुकले निकास पाउने लेखकको बुझाइ छ ।

 

 


देउवा र निधि मौन

काँग्रेसमा सत्ता राजनीतिका अब्बल खेलाडी देउवा र निधिमा सत्ता बनाउने हुटहुटी नजाग्नु पनि नयाँ सरकार निर्माणमा बाधक देखिन्छ । चुनाव हारेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सक्रियताले परिणाम दिन सकेको छैन । उनीहरुको जोडबलमा ओलीको विकल्प दिने संस्थागत निर्णयपछि बसेको तीन दलको बैठक कर्मकाण्डमै सकिएको छ ।

बैठक पनि कर्मकाण्डकै लागि बोलाएको देउवाको भनाइबाट प्रस्ट हुन्छ । ‘बैठक बोलाएको छैन, शेरबहादुरले वास्तै गरेन, कामै गरेन भन्लान् भनेर बैठक बोलाइदिएको छु ,’ देउवाले भनेका थिए ।

यसबाट सत्ता राजनीतिका ‘भेट्रान खेलाडी’ देउवा यो पटक प्रधानमन्त्री बन्ने मौका आउँदा निष्क्रिय जस्तो देखिएको प्रस्ट हुन्छ  । यता, केपी ओलीको पहिलो सरकार ढाल्न अग्रपंक्तिमा देखिएका निधि पनि यसपटक शान्त छन् ।

निधिले ०७३ मा तत्कालीन एमाले–माओवादी गठबन्धन तोड्न गेम चेञ्जर भूमिका खेलेका थिए । तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्य सम्भव पारेपछि नेपाली राजनीतिका उनी गेम चेञ्जरका रुपमा देखिएका थिए ।

चरम अविश्वासको तहमा झरेको काँग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीयरूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी निधि नै थिए । तर यतिबेला भने निधि मौन जस्तै छन् । केही दिनको भारत बसाइपछि बिहीबार नेपाल फर्किएका निधिले तत्काल सरकार निर्माणको सम्भावना नरहेको सुनाए ।

साथै उनले यसबाट आफू निष्क्रिय रहेको पनि स्वीकार गरे । काँग्रेस स्रोतका अनुसार निधि र देउवाले यसपटक नयाँ सरकार बनाउन पौडेललाई जिम्मेवारी दिएका छन् ।

स्रोतले भन्यो, ‘यो पटक देउवा र निधिजीले पौडेलजीलाई जिम्मेवारी दिनुभएको छ । निधिजीले सरकार बनाउने जिम्मेवारी पौडेललाई दिनुस् भन्नुभएको थियो । अनि देउवाजीले उहाँलाई नै जिम्मेवारी दिनुभएको हो ।’

पौडेलको अहिलेसम्मको दौडधूपले कुनै परिणाम दिन भने सकेको छैन । स्रोतले भन्यो, ‘पार्टीले निर्णय गर्दैमा सरकार बन्ने होइन भन्ने हामीलाई लागेकै थियो । तर, पार्टीका केही नेताबाट औपचारिकता दिँदा सरकार निर्माण लागि सहज हुन सक्छ भन्ने कुरा आयो । काँग्रेसले चाहेर मात्र ओलीको विकल्प दिन सकिँदैन भन्ने कुरा पुष्टि हुँदैछ ।’

काँग्रेसको गत शुक्रबारको निर्णयले सरकार पनि बन्न नसक्ने र प्रधानमन्त्री ओलीसँग अर्ली निर्वाचनका लागि समझदारी गर्न असहजता खडा गरेको स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप