सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गगन थापाले पनि मापदण्ड मिचेको स्वास्थ्यमन्त्रीको आरोप

प्रतिनिधिसभामा स्वास्थ्य मन्त्री र सांसदहरुको सवाल–जवाफ
सोमबार, २३ चैत २०७७, १९ : ५४
सोमबार, २३ चैत २०७७

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले कोरोना महामारी फेरि फैलिन सक्नेतर्फ चिन्ता व्यक्त गर्दै सरकारले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले कोरोना महामारी नै नभएजस्तो गरी राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेतासम्मले दौडधुप बढाएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

संक्रमण रोक्न सीमानाकालाई व्यवस्थित गर्नुपर्ने, क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन गरिनुपर्ने, प्रभावकारीरुपमा खोप अभियान सञ्चालन गरिनुपर्ने लगायतका विषयमा पनि सांसदहरुले जोड दिए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिएपछि सांसदहरुले प्रश्न तथा सुझाव दिँदै कोरोना रोकथाममा जोड दिएका हुन् । सांसदहरुले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई यसबारे केन्द्रित रहेर प्रश्न तथा सुझाव पनि दिए । स्वास्थ्यमन्त्रीलाई सांसदहरुको सुझाव र प्रश्न यस्ता थिए–

गगन थापा : होली नखेल भन्ने सरकारका प्रधानमन्त्री हजारौं मान्छे लिएर रंगशाला फुटबल हेर्न जानुभयो । सम्माननीय राष्ट्रपतिज्यूबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भइरहेको छ । सरकारको र हाम्रो पनि सभा चलिरहेको छ । जनतालाई भन्छ पर्व नगर । छानीछानी हो र ? सरकारलाई लाग्ने जनतालाई नलाग्ने ? सरकारको धारणा के हो ? पहिलो चरणमा कोरोना अघि–अघि जनता र सरकार पछिपछि भए, मन्त्रालयले के सिक्यो, म जान्न चाहन्छु ।

देवेन्द्रराज कँडेल– स्वास्थ्यमन्त्रीले मन्त्रालय सम्हालेको केही दिनमा खोप कार्यक्रम सुरु भयो । भीभीआईपी, राष्ट्रसेवकलगायतले खोप लगाउँदै गर्दा सर्वसाधारणले कहिले खोप पाउँछन् ? जोखिम भत्ता नपाएको गुनासो छ, जोखिममा नरहेकाले खाएको कुरा छ, त्यसबारे प्रष्ट पारियोस् ।

रंगमती शाही : कोभिड सुरु नहुँदै सीमा नाकामा व्यवस्थापन नगरी जनतालाई दुख दिनेगरी लकडाउन गर्दा सर्वसाधारण आतंकित भने । स्वास्थ्य मन्त्रालयमै कति मापदण्ड पालना भएको छ ? सिंहदरबारमा ज्वरो नाप्ने थर्मल गन पनि छैन । सरकारको बजेट सकिएकै हो ?

पुष्पा भुसाल : प्रधानमन्त्रीले सदनमा भाषण गर्दा ३ महिनाभित्र खोप दिने भनिएको थियो, त्यसको उत्तर चाहन्छु , गरिबीको रेखामुनि रहेका नेपालीले ५ देखि ८ लाख खर्च गरेर कसरी बाँच्ने ? निःशुल्क उपचारको व्यवस्था होस् ।

डिला संग्रौला : कोरोना महामारीका बेला सरकार जिम्मेवार भएन । फेरि महामारी भित्रिदै छ, सरकारको कार्ययोजना के छ ?

 


 

पार्वता डीसी चौधरी : कोभिडले जनतालाई आक्रान्त बनायो । यो भयावह रुपमा फेरि आउँदै गर्दा सरकार कसरी अघि बढ्दैछ ?

राजेन्द्रकुमार केसी : भ्याक्सिन अवैध हुने भनी स्वास्थ्यमन्त्रीले मार्मिक कुरा गर्नुभयो ? अध्यादेश कहिले संसदमा पेश गर्ने हो ? सरकारले पेश गर्ने कि सरकारले हो ? भ्याक्सिन पास गर्न पनि प्रतिपक्षले रोक्यो भन्ने जस्ता कुरा आए ।

रामबहादुर विष्ट : भारत र चीनबाट खोप अनुदानमा आइसक्यो, सरकारको अनुदानमै भर हो कि किन्नेतर्फ पनि छ ? छ भने बजेटमा कति भ्याक्सिन ?

भीमसनदास प्रधान : मन्त्रीज्यूले ६ प्रतिशत जनताले खोप पाएको भन्नुभयो, कतिलाई लगाउने हो ? लण्डनबाट आएको व्यक्ति पनि सिधा घर गएको अवस्था छ, जानकारी चाहन्छु ।

भरतकुमार शाह : मधेसतिर लकडाउन हुने व्यापक चर्चा छ, यसबारे प्रष्ट पारिदिन अनुरोध गर्दछु ।

 


 

दिलेन्द्रप्रसाद बडु : मन्त्रीज्यूले कोरोनाको दर बढिरहेको पिक्चर दिनुभयो । सीमा नाकामा परीक्षण नगन्य छ । खोप लगाउनका लागि कति बजेट व्यवस्था गर्नुभएको छ । नयाँ जनादेशमा जान कति बजेट छ ? यसमा पनि स्पष्ट गर्न अनुरोध गर्दछु । खोप लागूऔषधजस्तो हुने भयो भन्नुभयो, यसमा स्पष्ट पारिदिनुहुन अनुरोध गर्दछु ।

सुजाता परियार : गरिब जनताले उपचार गर्ने वीर अस्पताल हो । नयाँ सर्जिकल भवन ५०० बेडको छ, तर सञ्चालनमा आउन सकेको छैन, यसमा सरकार गम्भीर बनेको देखिएको छैन, जवाफ चाहन्छु ।

दिव्यमणिराज भण्डारी : पीसीआर परीक्षण गरेको ५ प्रतिशत जनतामा कोरोना देखिएकाले अवस्था भयावह बन्दैछ । पीसीआर बढाउनुपर्छ ।

प्रेम सुवाल : भारतसँगको खुला सीमानाकामा क्वारेन्टिन र परीक्षण राम्रो नहुँदा पहिलो लहर फैलियो, अहिले त्यहाँ तयारी के कस्तो भइरहेको छ, खोप खरिदमा १० प्रतिशत कमिसनबारे अन्तर्वार्ता दिनुभएको थियो, यसबारे प्रष्ट पारियोस् ।

सांसदहरुले यसरी प्रश्नको वर्षा गरे पनि मन्त्री त्रिपाठीले केही विषयमा जवाफ दिए भने केही विषयमा जवाफै दिएनन् ।

जोखिम भत्ताका विषयमा उनले मन्त्रालयले भत्ता पठाइसकेको बताए । यद्यपि सबैलाई वितरण गर्ने प्रणाली भएकाले केही कठिनाइ भएको उनको जवाफ थियो । ‘जोखिम भत्ता मन्त्रालयले पठाइसकेको हो, कुनैकुनै अस्पतालमा भत्ता दिँदामा समाजवादी व्यवस्थाजस्तो भएकाले सबैले पाएको हो’ उनले भने ।

 


 

मन्त्री त्रिपाठीले असारसम्ममा ६० लाख जनतालाई खोप लगाउने सरकारको योजना रहेको पनि बताए । यस्तै हालसम्म १८ लाखभन्दा बढीले लगाइसकेको पनि बताए । ६५ भन्दा माथि उमेर समूहलाई सरकारले यसअघि नै १० दिनको खोप अभियान सकिसकेको पनि उनले सांसदहरुलाई जवाफ दिए ।

स्वास्थ्य मापदण्डको विषयमा सांसद पुष्पा भुसाल र गगन थापा लगायतले सोधेको प्रश्नमा मन्त्री त्रिपाठीले सबैले कोरोना नियन्त्रणका लागि गम्भीरता देखाउनुपर्नेमा जोड दिए ।

मन्त्री त्रिपाठीले भने, ‘पार्टीहरुले, नेताजीहरुले, प्रम, भूतपूर्व प्रम सबैले नै जुन सभा गर्नुभयो, स्वास्थ्य मन्त्रालयले त थुन्न सक्ने भएन । सबैलाई मम मम गरौं न । कार्यकर्ताले कोरोनालाई त त्यसै धपाइदिन्छन् भनेजस्तो नगरौँ ।’

उनले स्वास्थ्य मापदण्ड उलंघन भएको स्वीकार्दै मापदण्ड पालनामा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । मन्त्री त्रिपाठीले गगन थापाले पनि स्वास्थ्य मापदण्डको उलंघन गरेको भन्दै झटारो हान्न भ्याए । ‘गगन थापा नै मेरो क्षेत्रमा गरेर सभा गरेर मापदण्ड उल्लंघन गर्नुभएको थियो । मैले सांसदकै रुपमा सोच्दा पनि राजनीतिक वृत्तमा भइएन,’ उनले भने ।

स्वास्थ्यमन्त्री त्रिपाठीले सरकारले सञ्चालन गरेको खोप अभियान निशुल्क रहेको भन्दै बजेट पनि पर्याप्त रहेको प्रतिक्रिया दिए । ‘खोप अभियान निःशुल्क नै छ । सरकारले ४८ अर्ब रुपैयाँ सुरक्षित रुपमा बजेटमा राखेको छ,’ उनले भने, ‘अहिलेसम्म ५ अर्ब भन्दा केही बढी खर्च भएको छ । त्यो ४८ अर्ब सबै खर्च हुँदैन, बचाउँछौं । एक–एक पैसाको खर्चको श्वेतपत्र जारी गरिन्छ ।’ 

क्वारेन्टाइन कुनै स्थायी संरचना नभएकाले आवश्यकताअनुसार व्यवस्था गरिँदै गइने मन्त्री त्रिपाठीले बताए । विगतका गल्तीलाई सच्याउँदै अघि बढ्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।

 


 

मन्त्री त्रिपाठीले सरकार लकडाउन गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । ‘भरसक लकडाउन नहोस् भन्नेमा सरकार छ, यसअघिकै लकडाउनले समग्र अर्थतन्त्रलाई प्रभावित गरिसकेको छ । त्यसको आँकलन आउन बजेटमा अर्थमन्त्रीले प्रस्तुत गर्नुहोला’ उनले भने, ‘हाम्रो प्रयास र सरकारको प्रयास त्यो अवस्था आउन नदिने भन्ने नै हो ।’

स्वास्थ सामग्री खरिदका विषयमा

विगतमा ३ अर्ब ८२ करोडको सामान खरिद भएको, तर त्यो हालसम्म प्रयोगमा नआएको मन्त्री त्रिपाठीले बताए । उनले भने, ‘कतिपय प्याकेज पनि खुलेको छैन, आवश्यक थिएन भने खरिद किन गरियो, त्यसबारे मन्त्रालयले समिति बनाएर छानविन गरिरहेको छ ।’

यस्तै मन्त्री त्रिपाठीले ८ देखि १२ हप्ताको फरकमा कोरोनाको  दोस्रो डोज लगाउन मिल्ने विश्व श्वास्थ्य संगठनले भनेकाले यसअघिको २८ दिनको मापदण्ड परिवर्तन गरिएको पनि बताए । उनका अनुसार  वैशाख ७ देखि १८ गतेसम्म दोस्रो डोजको खोज दिने तय भएको छ ।

उनले वीर अस्पतालको भवन छिट्टै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको पनि संसदलाई जवाफ दिने क्रममा बताए ।

संक्रमण जेठ असारमा पुनः उच्च दरमा पुग्न सक्ने

मन्त्री त्रिपाठीले जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरे ।

पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना नगरे जेठ असारमा पुन उच्च दरमा पुग्न सक्ने उनको भनाइ छ ।

उनले भने–

‘कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो सातादेखि निकै कम भइसकेकोमा पुनः संक्रमण बढ्दै गइरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेष्ठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितहरुको संख्या ११ हजार ५ सय ६३ बाट एक्कासी बढेर चैत्र २२ गते ९२ हजार ९ सय पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ । कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शिघ्र पहिचान, आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टीन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकाले यसतर्फ सबैको ध्यान जरुरी छ ।’

मन्त्री त्रिपाठीले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । उनले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताए ।

 


 

खोपको आपतकालीन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधी तेश्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गरे ।

उनका अनुसार, चैत्र २२ गते सम्म २२ लाख ८५ हजार भन्दा बढीको नमुना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भइसकेका छन् । ३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ ।

कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । सोमबार ३ बजे सम्म ४ हजार ५ सय ३६ जनाको नमुना परीक्षणमा २ सय ६७ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी पनि उनले बताए ।

उनले  पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताए । सरकारले महामारी रोकथामका लागि वैज्ञानिक यथार्थपरक नीतिहरु तर्जुमा गरि बहुक्षेत्रिय सहयोग र समन्वय गर्दै आएको पनि उनले स्पष्ट पारे ।

 नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै स्थानीय सरकारहरुको समन्वय, सहयोग तथा सहकार्यका कारण कोभिड का कारण मृत्यु हुने तथा संक्रमण हुनेको दरलाई कम गर्न सकिएको बताए । उनले  कोभिड १९ शताब्दीकै प्रमुख चुनौतीको रुपमा रहेको र त्यसले मानव स्वास्थ्यको संगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गरे ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप