नेपाल भित्रिएको कोरोनाको नयाँ भेरिएन्ट कति खतरा ?

काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेका तीनजनामा नयाँ प्रकारको भेरिएन्टको कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिएका डोटी, डडेलधुरा र कञ्चनपुरका एक÷एकजनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ‘एस जिन’ नेगेटिभ भएकोे पत्ता लागेको हो ।
नेपाल प्रवेश गर्ने २० जनाको स्वाब ¥यान्डमरुपमा परीक्षण गर्दा ‘एस जिन’ नेगेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले रातोपाटीलाई बताए । ३ हजार ४७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४३ जनालाई कोरोना देखिएको उनको भनाइ छ ।
नेपालमा युके भेरिएन्ट देखिएको झण्डै ३ महिनापछि भारतबाट नेपाल प्रवेश गरेका तीनजनामा युके भेरिएन्ट पत्ता लागेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रुना झाले बताइन् । ‘यसअघि पनि नेपालमा युके भेरिएन्ट देखिएको छ,’ उनले भनिन्, ‘नेपालका लागि यो नयाँ भेरिएन्ट होइन ।’
युके भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । युके भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । छिमेकी राष्ट्र भारतमा दोस्रो लहरमा संक्रमित भएकामध्ये ८० प्रतिशत लक्षणविहीन छन् ।
तर, नेपाल सरकारले १२ वटा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई ‘स्क्रिनिङ’मात्रै गर्छ । उताबाट आउनेमा कोरोना संक्रमणको लक्षण देखिएको खण्डमा एन्टिजेन विधिबाट परीक्षण गरिन्छ । भारतमा ८० प्रतिशत लक्षणविहीन कोरोना संक्रमित भएकाले नाकामा स्क्रिनिङमात्रै गरेर प्रवेश अनुमति दिँदा नेपालमा भुसको आगोसरी संक्रमण फैलन सक्ने जनस्वास्थ्यविद् तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनीको चेतावनी छ । सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबैलाई अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्नेमा डा. मरासिनीले जोड दिए ।
भारतमा कोरोना संक्रमणको पहिलो लहरमा ग्राफ उच्च भएको ठीक एक महिनापछि नेपालमा कोरोना संक्रमण दर अचानक बढेको थियो । अघिल्लो पटक भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि हजारौँ नागरिक कोरोना परीक्षणबिना सीमा क्षेत्रबाट प्रवेश गर्दा नेपालमा कोरोना संक्रमण भित्रिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सम्झन्छन् । भारतबाट कोरोना भित्रिने शैली पुरानै भए पनि कोरोनाको भेरिएन्ट फरकफरक हुने भन्दै उनले सबैलाई सचेत हुन सुझाव दिए ।
सीमा नाकाबाट प्रवेश गर्नेलाई कडाइ नगरेको खण्डमा नेपालमा सजिलै ब्राजिलियन, दक्षिण अफ्रिकी भेरिएन्ट देखिन सक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ ।
एक सातामा संक्रमण दर बढ्यो
नेपाल कोरोना संक्रमितको दर बढ्दै गए पनि परीक्षण दर सरकारले बढाउने सकेको छैन । पछिल्लो समय विदेश यात्रामा जानेहरूले अनिवार्य परीक्षण गर्नुपरेका कारणमात्र नेपालमा कोरोना परीक्षण हुने गरेको छ ।
चैत ६ गतेदेखि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई एन्टीजेन विधिबाट सरकारले कोरोना परीक्षण गर्न थालेको छ । भारतमा लक्षणविहीन संक्रमित बढेकाले एन्टिजेन विधिबाट भन्दा पिसिआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने डा. मरासिनी बताउँछन् । पीसीआर विधिबाट कोरोना परीक्षण गराएमा लक्षणविहीन संक्रमितको पहिचान गर्न सकिने उनको भनाइ छ ।
एन्टीजेन कति प्रभावकारी ?
जनस्वास्थ्य वैज्ञानिक डा.समीरमणि दीक्षितका अनुसार पिसिआर परीक्षणको तुलनामा एन्टिजेन परीक्षणको विश्वसनियता कम हुन्छ भनेर भन्न मिल्दैन ।
एन्टीजेन परीक्षणले नेगेटिभ नतिजा देखाएका व्यक्तिलाई अन्य लक्षणहरुको आधारमा चिकित्सकको सल्लाहअनुसार थप पिसिआर गर्नुपर्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए ।
‘एन्टीजेन परीक्षणका लागि संकलन गरिएको स्वाबमा भाइरसको मात्रा कम छ भने यसले सही नतिजा देखाउने सम्भावना कम हुन्छ,’ उनले भने, ‘तर यसो भन्दै गर्दा नमूना स्वाबमा कम भाइरस भएको अवस्थामा पनि संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने नयाँ किटहरू बजारमा आउन थालेका छन् । अहिलेलाई एन्टीजेन परीक्षणलाई अस्पताल, क्वारेन्टिन बसेका, कोभिड–१९ भएका मानिसको वरिपरि बसेकाको स्वाब परीक्षणमा उपयोग गर्न सकिन्छ ।’
भारतमा २४ घण्टामा एक लाखभन्दा बढी संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतका प्रायः सबै प्रदेशमा ब्राजिलियन, दक्षिण अफ्रिकी भेरिएन्ट र युके भेरिएन्टका भाइरस संक्रमित भेटिएका छन् । त्यसैले नेपालले घातक मानिएको भेरिएन्ट थाहा पाउन सबै प्रयोगशालामा अरू जिनसँगै पीसीआर गर्दा ‘एस जिन’लाई पनि अनिवार्य रुपमा समावेश गर्न जनस्वास्थ्यविद्हरु सुझाव दिन्छन् ।
नेपालमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक अन्यमा ९३ वटा प्रयोगशालामा जिन सिक्वेन्सिङ प्रविधिको अभाव छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भाइरसका भेरिएन्टहरु छुट्याउन सक्ने दावी गर्छन् । शंका लागेका खण्डमा विदेश पठाउन पनि जिन सिक्वेन्सिङ सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव