आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

आजैदेखि नयाँ सरकार गठन गर्न घनिभूतरुपले छलफल अगाडि बढाउने प्रचण्डको उद्घोष

शनिबार, २१ चैत २०७७, १७ : १७
शनिबार, २१ चैत २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेको छन् ।

शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले  आज ४ बजेबाट घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् ।

‘साढे तीन बजे काठमाडौं फर्केर ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठन बारेका बैठकहरु घनिभूतरुपले अगाडि बढाउने छु भनेर आएको हुँ । देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु,’ उनले भने ।

 


 

सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनले भने, ‘नयाँ परिस्थिति बन्ने छ । त्यही कामका निम्ति मैले छिटो जानुपरेको हो । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’

यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरे । उनले भने  ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग्ने  र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’

नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरे । ‘मलाई साथीहरुले आज कपिलवस्तु नजानुहोस् । नयाँ सरकार गठनका लागि तपाईंले तुरुन्तै पहल लिनुपर्छ भन्नु भएको थियो । तर मैले भनेँ म आज कपिलवस्तु जानै पर्छ । म त्यहाँको जनता र साथीहरुलाई भनेर छिट्टै फर्किन्छु,’ प्रचण्डले भने । उनले काठमाडौं पुगेर को कोसँग छलफल गरिँदैछ भन्नेबारे भने उल्लेख गरेका छैनन् ।

हालै मात्र आफूले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेको भन्दै उनले भने, ‘मैले महन्थ ठाकुरलाई पनि भनेको छु, म त हैरान भएर केपी ओलीविरुद्ध विद्रोह गरेर आएको छु । मधेसी अधिकारको पहिचान विरोधीसँग तपाईंहरुको के खासखुस भइरहेको छ ? यसले मधेसी जनताको अपमान हुन्छ । त्यसैले मधेसी जनताको आत्मसम्मानको मोर्चामा आउनुस् ।’

लामो मौनतापछि केन्द्रीय कार्यसमिति बैठकबाटै काँग्रेसले सरकार निर्माणका लागि पहल गर्ने निर्णय लिएपछि प्रचण्ड उत्साहित देखिएका छन् । यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शनिबार नै प्रधानमन्त्री केपी ओलीलाई हटाएरै छाड्ने उद्घोष गरेका थिए ।

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप