शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा ‘हार्डलाइनर’ र ‘सफ्टलाइनर’ को टक्कर

ओली पक्षमै देखियो दुई लाइन, माधव समूहमा पनि उस्तै
बुधबार, १८ चैत २०७७, १६ : ५६
बुधबार, १८ चैत २०७७

काठमाडौं । अघिल्लो शुक्रबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा महासचिव ईश्वर पोखरेलले माधव–झलनाथ पक्षका बरिष्ठ नेताहरुलाई मञ्चमा नराख्न लबिङ गरे । तर, ओली समूहमै रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पोखरेलको खण्डन गरे ।

पार्टीको प्रमुख भइसकेका र प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिलाई सम्मानपूर्वक मञ्चमै राख्नुपर्ने नेम्वाङले अडान लिएका थिए । अन्ततः बरिष्ठ नेता झलनाथ खनाललाई मञ्चमै राखियो । माधव नेपाल भने बैठकमै उपस्थित थिएनन् ।

माधव नेपाल र भीम रावललगायतका चार नेतालाई  सोधिएको स्पष्टीकरणमा महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेका थिए । तीनदिने म्यादसहित सोधिएको स्पष्टीकरण पत्र चैत ८ गते लेखिएको थियो । तर, १० गते रातिसम्म पत्रको जवाफ नआएपछि पोखरेल तत्कालै उनीहरुमाथि कारवाही गर्ने पक्षमा उभिए । सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेताहरु चाहिँ पार्टीमा अदालतको पूर्जीजस्तो गर्न नहुने पक्षमा उभिए ।

एमाले स्रोतका अनुसार ईश्वर पोखरेलले चैत १० गते राति १२ बजेसम्म स्पष्टीकरणको जवाफ नआएमा तुरुन्तै कारवाही गर्नुपर्ने तर्क गरेका थिए । तर, अरु नेताले त्यसो गर्न नहुने बताएपछि पोखरेलको चाहनामा केही समय ‘ब्रेक’ लाग्यो । सुरेन्द्र पाण्डेले त सबैभन्दा ढिलो चैत १७ गतेमात्रै जवाफ लेखेका छन् ।     

 


नेकपा एमालेभित्र दुई लाइन संघर्ष चलिरहँदा यसलाई अझै चर्काउन खोज्ने र मिलाउन खोज्ने दुई धार देखा परेको छ । यस्तो दुई धार ओली पक्षमा पनि देखिएको छ र माधव नेपाल पक्षमा पनि ।

ओली समूहमा रहेका महासचिव ईश्वर पोखरेल ‘हार्डलाइनर’ नेता हुन् । यसअघि माओवादीसँगको एकतामा पनि असन्तुष्ट रहँदै आएका पोखरेल अहिले माधव–झलनाथ समूहमाथि कडा कारवाहीको पक्षमा उभिएका छन् ।

ओली पक्षका हार्डलाइनर ईश्वर पोखरेल, गोकुल बाँस्कोटा र महेश बस्नेत लगायतका नेताहरु खनाल–नेपाल पक्षलाई पेलेरै ठेगान लगाउनुपर्ने पक्षमा उभिएका छन् भने सफ्टलाइनर भनेर चिनिएका पौडेल, नेम्वाङ र ज्ञवालीहरु सम्वाद र सहमतिबाट अघि बढ्नुपर्ने मनस्थितिमा भए पनि ओलीसँग त्यसबारे खुलेर छलफल गर्न डराइरहेका छन् ।

तर, ओली समूहकै अन्य नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतचाहिँ माधव–झलनाथ पक्षसँग सहमति खोज्नुपर्ने पक्षमा छन् । उनीहरु ओली समूहका ‘सफ्टलाइनर’ नेता हुन् ।

एमालेमा एकताको पक्षधर मानिने विष्णु पौडेलले नै अघिल्लो साता धुम्बाराहीमा ओली र माधव नेपाल पक्षबीच वार्ताको पहल गरेको एमाले स्रोतको भनाइ छ ।  भलै, त्यो वार्ता सफल हुन सकेन ।

अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेलमार्फत चैत ८ गते माधव नेपालसहितका चार नेतालाई पार्टीको अनुशासनविपरीत गुटबन्दी गरेको भन्दै लिखित स्पष्टीकरण सोधेका थिए । तर, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई कारवाहीस्वरुप पार्टीबाट ६ महिना निलम्बन गरेका थिए ।

नेपाल र रावलपछि ओलीले भुसाल र पाण्डेलाई समेत कारवाही गर्ने तयारी गरेका छन् । तर, ओलीको यस्तो कार्यशैलीप्रति उनी पक्षधर नेताहरुले नै असन्तुष्ट देखिएका छन् ।

ओली पक्षका हार्डलाइनर ईश्वर पोखरेल, गोकुल बाँस्कोटा र महेश बस्नेत लगायतका नेताहरु खनाल–नेपाल पक्षलाई पेलेरै ठेगान लगाउनुपर्ने पक्षमा उभिएका छन् भने सफ्टलाइनर भनेर चिनिएका पौडेल, नेम्वाङ र ज्ञवालीहरु सम्वाद र सहमतिबाट अघि बढ्नुपर्ने मनस्थितिमा भए पनि ओलीसँग त्यसबारे खुलेर छलफल गर्न डराइरहेका छन् ।

खासगरी विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेताहरुले ओलीको ‘एक्सन’प्रति असन्तुष्टि जनाएको बालुवाटार स्रोतले जनाएको छ । नेताहरुको कारवाहीपछि पौडेल, नेम्वाङ र ज्ञवालीले आफ्नो धारणासमेत सार्वजनिक गरेका छैनन् ।

ओली पक्षमा मात्रै होइन, खनाल नेपाल पक्षमा पनि हार्डलाइनर र सफ्टलाइनरको कित्तामा नेताहरु विभाजित देखिन्छन् । ओलीसँग कुनै हालतमा मिल्नुहुन्न भन्नेमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलगायतका नेताहरु छन् ।

‘पौडेल, नेम्वाङ लगायतका केही नेताहरु पार्टी मिलाएरै जाने पक्षमा हुनुहुन्थ्यो । तर, ओली त्यसमा सहमत हुन सक्नुभएन र कारवाहीमै जानुभयो । यसले भोलिसम्म राजनीति गर्छु भन्ने नेताहरु चिन्तित हुनु स्वाभाविक हो’, ओली पक्षमा खुलेका एक केन्द्रीय सदस्यले रातोपाटीसँग अनौपचारिक कुराकानीमा भने, ‘कारवाहीमा उल्लेख व्यहोराले पार्टी मिलाउन भन्दा फुटाउन मद्दत पुग्ने देखिन्छ ।’

माधव नेपाल समूहमा पनि उस्तै समस्या

ओली पक्षमा मात्रै होइन, खनाल नेपाल पक्षमा पनि हार्डलाइनर र सफ्टलाइनरको कित्तामा नेताहरु विभाजित देखिन्छन् । ओलीसँग कुनै हालतमा मिल्नुहुन्न भन्नेमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलगायतका नेताहरु छन् ।

यो समुहमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त लगायतका नेताहरु चाहिँ ओलीसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा उभिएको स्रोत बताउँछ ।

 


‘हार्डलाइनर’लाई फाइदा, विवाद अझै चुलिँदै  

सत्तारुढ एमालेभित्रको आन्तरिक कलह थप झाँगिदै जाने देखिएको छ । एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने, एउटा पक्षले गरेका निर्णय अर्को पक्षले अस्वीकार गर्ने र त्यसको काउन्टरमा दुवै पक्षले समानान्तर गतिविधि सञ्चालन गर्ने गतिविधि तीव्र हुँदै गएका छन् ।

पछिल्ला घटनाक्रमहरूले औपचारिकरुपमा पार्टी विभाजन नभए पनि दुवै पक्षको गृहकार्य भने पार्टी विभाजनतर्फ नै उन्मुख भएको प्रष्ट भएको छ ।

ओलीले गरेको कारवाहीको काउन्टरमा खनाल नेपाल पक्षले आफ्ना पक्षका नेता कार्यकर्ताहरूलाई ओली कदमविरुद्ध देशव्यापीरुपमा प्रतिवाद गर्न निर्देशन नै जारी गरिसकेको छ । साथै यो पक्षले त्यसका लागि केन्द्रदेखि वडातहसम्म नै संगठन विस्तार र समानान्तर गतिविधि बढाउँदै लैजाने नीति लिएको छ ।

२०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएपछि पूर्ववत् अवस्थामा फर्किएका २ पार्टीमध्ये एमालेमा त्यसको बढी असर देखिएको हो ।

नेकपा हुँदा नै दुई ध्रुवमा विभाजित एमाले नेताहरु पूर्ववत् अवस्थामा फर्किएपछि पनि एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्दै कारवाही र निषेध नै गर्ने हदसम्म पुगेपछि केन्द्रदेखि स्थानीय तहसम्म नै विभाजनको रेखा चिरिएको एमालेकै नेता कार्यकर्ताहरूले बताउन थालेका छन् ।

खासगरी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते बालुवाटारमा आफू पक्षीय बैठक राखेर बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको जिम्मेवारी खोस्ने, विधान संशोधन गर्ने र केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेपछि चिढिएको खनाल–नेपाल पक्षमाथि ओलीले स्पष्टीकरण हुँदै पार्टी सदस्यबाटै निलम्बन गरेपछि विवाद उत्कर्षतर्फ पुगेको हो ।

 


अध्यक्ष ओलीले बरिष्ठ नेता माधव नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमध्ये नेपाल र रावललाई स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्बन नै गरिसकेका छन् । नेपाल र रावलमाथिको कारवाहीले एमालेभित्रको झगडा थप झाँगिन पुगेको नेताहरुको भनाइ छ ।

ओलीले गरेको कारवाहीको काउन्टरमा खनाल नेपाल पक्षले आफ्ना पक्षका नेता कार्यकर्ताहरूलाई ओली कदमविरुद्ध देशव्यापीरुपमा प्रतिवाद गर्न निर्देशन नै जारी गरिसकेको छ । साथै यो पक्षले त्यसका लागि केन्द्रदेखि वडातहसम्म नै संगठन विस्तार र समानान्तर गतिविधि बढाउँदै लैजाने नीति लिएको छ ।

मंगलबार बसेको खनाल नेपाल पक्षीय स्थायी समिति सदस्यहरुको बैठकले ओलीको निरंकुश र स्वेच्छाचारी गतिविधिले एमालेलाई फुटतर्फ उन्मुख गराएको भन्दै उक्त गतिविधिको खुलेर विरोध गर्ने निर्णय नै गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ’, खनाल नेपाल पक्षले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन् ।

त्यति मात्रै होइन, खनाल नेपाल पक्षले ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास गरेको आरोप लगाउदै  आफैले गोप्य सम्झौताका साथ घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँगको एकीकरणका विरुद्ध अनेकौं षडयन्त्र गर्दै एकतालाई भंग गर्न उद्धत रहेको पनि बताएका छन् । उनीहरुले ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले पुनर्जीवित नेकपा (एमाले) लाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दूष्प्रयत्न गरेको गम्भीर आरोप लगाएका छन् ।

अल्मलिए ‘नयाँ जोगी’   

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गर्दा ओलीको पक्षमा लागेवापत मन्त्री उपाहार पाएका केही माओवादीका नेताहरु भने एमालेमा कारवाही प्रकरण चर्किएपछि मौन बसेका छन् ।

यसअघि मन्त्रीको सपथ खाएका बेला मेची–महाकाली पुगेर माधव प्रचण्डलाई चर्को गाली गर्ने उनीहरु नेकपा विवादमा सर्वोच्चले गरेको फागुन २३ को फैसलापछि मौनप्रायः छन् ।

सर्वोच्चको फैसलापछि मन्त्रीहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायतका २३ नेताहरु ओलीसँगै रहने भन्दै पार्टी जिम्मेवारी समेत लिइसकेका छन् । तर, नेपाल लगायतका नेताहरुलाई कारवाही गरेपछि भोली आफ्नो हैसियत पनि त्यही हुने हो कि भन्ने त्रास उनीहरुमा पर्न थालेको छ ।

‘पहिला लागिहालियो । अहिले बरिष्ठ नेतालाई त कारवाही भयो भनेपछि भोली हामीलाई त झन् बाँकी राख्दैनन् । यदि त्यसो भयो भने हाम्रो त राजनीतिक भविष्य नै चौपट नहोला भन्न सकिन्न’, माओवादीबाट एमाले प्रवेश गरेका एक नेताले भने, ‘मलाई त रातभरि निद्रा लाग्न छोड्यो ।’

यसैबीच, एमालेका नवप्रवेशी टोपबहादुर रायमाझीले अर्को समूहका नेतालाई फोन गरेर एकआपसमा ‘गद्दार’ नभनिएकाले मिल्न सकिने बताएको रायमाझीको फोन रिसिभ गर्ने एक नेताले जानकारी दिए ।

को को हुन् एमालेका हार्डलाइनर र सफ्टलाइनर ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप