शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका चार हत्या : मुख्य कारण ‘ड्रग्स’

मृत फेला विद्यार्थी पनि ‘एडिक्ट’, विष खाएको आशंका
मङ्गलबार, १० चैत २०७७, १३ : ०९
मङ्गलबार, १० चैत २०७७

काठमाडौं । गुहेश्वरी मन्दिरछेउ वागमतीमा काठमाडौं–७ का ४९ वर्षीय रजुनमान श्रेष्ठको हत्या भयो । फागुन १ मा मध्यरात गाडी सिक्न वागमती करिडोर पुगेका रजुनमानलाई चावहिलस्थित बेबिलोन डिस्कोबाट मदिरा पिएर निस्केका चारजना किशोरले हत्या गरे ।

गाडी बिग्रेपछि रजुनमानले मिस्त्रिलाई फोन गरे । मिस्त्रीले ‘आउँदिन्’ भनेपछि उनी दिव्यश्वरी पार्टी प्यालेस र गुह्येश्वरी मन्दिरको बीचमा हिँड्दै थिए । रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का विशाल तामाङसहितका चारजना मिलेर उनको हत्या गरेको आरोप छ ।

प्रहरीको अनुसन्धानबाट उनी ‘ड्रग एडिक्ट’ भएको थाहा भएको छ । ‘रजुनमान ड्रग एडिक्ट रहेछन्,’ हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने ‘लागूपदार्थ खाने बानीका कारण उनी मध्यरात गाडी लिएर करिडोरमा निस्किएका थिए ।’

 


‘मोबाइल लुट्ने नियत’ले चारजना किशोरले मदिराको नशाको सुरमा उनको हत्या गरेका हुन् ।

रजुनमानको हत्यापछि काठमाडौँमा लगातार थप ३ जनाको हत्या भयो । दक्षिणकाली नगरपालिका–१ खहरे स्थित चाल्नाखेल जङ्गलमा १० कक्षामा अध्ययनरत दुई विद्यार्थीको रहमस्यम मृत्यु भएको छ । सो मृत्युको यकिन कारण थाहा भइसकेको छैन ।

प्रहरीले अनुसन्धानबाट हत्या पुष्टि गरेको चारवटा घटनासँग नशालु पदार्थ (लागु औषध)को कनेक्सन देखिएको छ । रजुनमान जस्तै बल्खुमा हत्या गरिएकी सन्तोषी श्रेष्ठ, टोखामा हत्या गरिएका आशिष लिम्बु र कलङ्कीमा ढुंगाले हिर्काएर हत्या गरिएका ५५ वर्षीय ‘चौधरी’ को हत्याको कनेक्सन लागूऔषधसँग देखिएको छ ।

‘चारवटा हत्याको मुख्य कारण लागु औषध देखिन्छ’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीसँग भने–‘हत्या गर्नुको पछाडिको सम्बन्ध–विवाद पनि छ तर, मुख्य कारण चाहिँ नशालु पदार्थ देखियो ।’

हत्यारा र मृतक ‘एडिक्ट’

टोखा नगरपालिका–१ मा आशिष लिम्बुलाई मोटरसाईकल वर्कशपका ३ जना मिलेर हत्या गरे । फागुन २९ मा टोखा नगरपालिका–१ मालुङ्ग साङ्ला ढलान स्थित बाँसको झाङमा उनको शव भेटिएको थियो । ‘एमडी’ मोटरसाइकल वर्कशप सञ्चालक र कामदार मिलेर उनको हत्या गरेको काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

 


मोरङको बेलवारी–२ घर भएका आशिष लागु औषध प्रयोगकर्ता हुन् । उनि वर्कशपमा गाँजा तान्न गइरहन्थे । फागुन २८ मा साँझ ८ बजेतिर आशिषले साथीसँग गाँजा मागे । अनि, वर्कशपमा गए । 

आशिष गाँजा भर्दै थिए । वर्कशपका मिस्त्री  भुपेन्द्र कुमार शाहले उनलाई भने–‘सँधै आएर यहाँ गाँजा खान मिल्छ ?’ सो विवाद बढ्यो । हत्यामा पुगेर विवाद टुंगियो ।

हत्या आरोपमा रौतहट घर भएका मोहम्मद कासिम मन्सुरी, शेख अब्दुल र भारतिय नागरिक भुपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ । 

नशालु पदार्थको लतमा परेका आशिष हत्या हुनुअघि दिउँसो उनि मोटरसाईकल दुर्घटनामा परेका थिए । नशाको सुरमा मोटरसाईकल चलाउँदा दुर्घटनामा परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

बल्खुमा सन्तोषी श्रेष्ठलाई उनका पति सन्तोष सापकोटाले ह्यामरले हिर्काएर हत्या गरे । सन्तोष ड्रग एडिक्ट रहेको बताउँछन् उनका बुवा नारायण सापकोटा । बुवा नारायणले रातोपाटीसँग भने–‘सँधै डुली हिँड्थ्यो, साथीहरुसँग मिलेर ट्याप (लागु औषध) खान्थ्यो ।’

लागु औषधको नशामा उनले पत्नीलाई कुटपिट गर्न थालेपछि पछिल्लो १ बर्षयता सन्तोषी माइतीघरमा बस्न थालिन् । छोरालाई पनि जोरपाटी स्थित माइतीमा राखेर पढाउन थालेकी थिइन् ।

घरेलु हिंसा नसहने अठोट गरेर ३३ वर्षीया सन्तोषीले पतिसँग सम्बन्ध विच्छेदको प्रस्ताव गरिन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सम्बन्धविच्छेदको कुरा उठेपछि सन्तोषले लागु औषध नशाको सुरमा सन्तोषीको हत्या गरेका हुन् । हत्यापछि ओखलढुंगा घर भएका सन्तोष कार्कीसँग उनले २ सेट लागु औषध मागेका थिए ।

नशाको सुरमा ढुङ्गा प्रहार

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको हत्या भयो । कलङ्कीस्थित थापागाउँमा सिन्धुलीका २१ वर्षीय दिनेश थापाले हिर्काएको ढुङ्गाले सडकमा सुतिरहेका ‘चौधरी’को मृत्यु भयो । मृतकको वास्तविक परिचय खुलिसकेको छैन ।

 


सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई प्रहरीले पक्राउ गरेको छ । दिनेश लागूऔषध एडिक्ट रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘हत्यामा संलग्न आरोपी दिनेश लागूपदार्थको नशामा रहेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘नशाकै सुरमा उनले ढुङ्गाले हिर्काउँदा चौधरीको मृत्यु हो ।’

विद्यार्थी पनि एडिक्ट

दक्षिणकाली नगरपालिकामा शुक्रवार मृत फेला परेका थिए अर्जुन खड्का र मङ्गल तामाङ । बाङ्गेमूढामा बस्ने उनीहरु साथी हुन् । उनीहरु १० कक्षामा पढ्थे । नुवाकोट घर भएका १६ वर्षीय अर्जुन र काभ्रेका १८ वर्षीय मङ्गल नशालु पदार्थको लतमा थिए । उनीहरुले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ ।

 


मृतकको शव भेटिएको ठाउँमा विषको बट्टा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । अर्जुन असन स्थित टेउडा स्कुलमा पढ्थे । मङ्गल क्षेत्रपाटीस्थित जिपी स्कुलमा पढ्थे । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने–‘उनीहरु लागु औषध प्रयोगकर्ता रहेछन् ।’

शव परिक्षण रिपोर्ट नआएको हुनाले विद्यार्थीको मृत्युको यकिन कारण खुल्न बाँकी रहेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले रातोपाटीलाई बताए । उनले भने–‘अर्जुन र मङ्गल नशालु पदार्थको लतमा रहेको कुरा खुलेको छ ।’

यस्तो छ तथ्याङ्क

काठमाडौं उपत्यकाको पछिल्लो तिन महिनाको तथ्यांक अनुसार संख्यात्मक रुपमा हत्या बढेको त छैन । तर, लागु पदार्थ सेवनबाट हुने हत्या चाहिँ बढेको अनुसन्धान अधिकारीहरुको निष्कर्ष छ ।

स्रोत : महानगरीय प्रहरी कार्यालय, रानीपोखरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप