शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खु हत्या प्रकरण : पत्नीको हत्या गरेर जसले लुटे गहना र पैसा !

बुधबार, ०४ चैत २०७७, १० : ३२
बुधबार, ०४ चैत २०७७

काठमाडौं । बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ वर्षीया सन्तोषी श्रेष्ठको हत्या भयो । सोमबार उनको हत्या गरेर बोरामा पोको पारेको अवस्थामा शव भेटिएको थियो । अनुसन्धानबाट हत्यामा उनकै श्रीमान सन्तोष सापकोटाको संलग्नता देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

चैत २ मा जोरपाटीस्थित माइतीबाट उनी सहकारीको ‘किस्ता तिरेर आउँछु’ भनेर निस्केकी हुन् । तर, साँझसम्म फर्किनन् । बुवा र भाइसँग सन्तोष बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्थे । बारम्बार झगडा हुन थालेपछि सन्तोषी चाहिँ कोभिड–१९ संक्रमण शुरु भएपछि माइतीघरमा बस्न थालेकी थिइन् ।

बुवा र भाई तेजबहादुर सापकोटालाई काममा पठाएर सन्तोषले ह्यामरले हिर्काएर श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बुधवार साँझ कुलेश्वर मन्दिर नजिकैबाट सन्तोषलाई पक्राउ गरिएको एसएसपी सिंहले रातोपाटीलाई बताए ।

सानेपास्थित सहकारीमा किस्ता बुझाउन सन्तोषीले माइतबाट २३ हजार पैसा लिएर गएकी थिइन् । पैसा बुझाउनुअघि सुकुम्बासी बस्तीमा पुगेकी उनको हत्या गरेर सन्तोषले सो पैसा लुटेका लुटेको प्रहरीको भनाइ छ । आरोपीको साथमा ११ हजार ५ सय रुपैयाँ फेला परेको छ । हत्यापछि सन्तोषीले लगाएको सुनको सिक्री, बाला र मुन्द्रा लुटेर उनी भागेका थिए ।

‘हत्या गरेर आईफोन पनि लुटेर भागेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘आईफोन, पैसा र सुनका गहना सन्तोषको साथबाट बरामद गरेका छौँ ।’

हत्यापछि श्रीमतीको शव व्यवस्थापन गर्ने तयारीमा थिए सन्तोष । तर, भाइ तेजबहादुर कामबाट फर्केर आउँदा घर पछाडी पेटीमा बोराबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरे । त्यसपछि सन्तोषले शव व्यवस्थापन गर्न पाएनन् । घरमा पुलिस पुगेर शवको मुचुल्का गर्न थालेपछि भागेका सन्तोष सातदोबाटो गएर साथी कहाँ बसे ।

ड्रग एडिक्ट

रङ्ग–रोगनको काम गर्ने सन्तोष लागु औषध प्रयोगकर्ता हुन् । रातोपाटीसँग कुरा गर्दै उनका बुवाले भनेका छन्, ‘नशालु चक्की चाहिँ खाइरहन्थ्यो, रंग लगाउन जानेको थियो ।’ श्रीमतीको हत्यापछि ओखलढुंगा घर भएका सन्तोष कार्कीसँग २ सेट लागु औषध मागेका थिए । प्रहरीले सन्तोष कार्की र काभ्रे पाँचखाल घर भएका रोहित शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २३ एम्पुल नुफ्रिन, २४ एम्पुल डाईजेपाम र २२ एम्पुल फेनारगन बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ । बुवा नारायण सापकोटाका अनुसार सन्तोष यसअघि लागु औषध मुद्दामा जेल बसेर छुटेका थिए ।

‘योजनाबद्ध हत्या गरेँ’

सन्तोष सापकोटाको पुरानो घर मकवानपुरको हटिया–४ मा पर्छ । बुवा, आमा र भाईसँग उनि बल्खुमा बस्थे । सोमबार श्रीमतीको हत्या गर्ने योजना अनुसार नै बुवालाई फर्निचरको काम गर्न भक्तपुर पठाएको प्रहरीलाई बताएका छन् ।

आमा हेटौँडा गएकी थिइन् । भाइ गौशालास्थित हार्डवेयर पसलमा काम गर्छन् । घरमा कोही नभएको मौकामा उनले पत्नीको हत्या गरेका हुन् । पत्नी धनी परिवारकी र आफुसँग डिभोर्स मागेको हुनाले योजनाबद्ध रुपमा हत्या गरेको उनले प्रहरीलाई साविती बयान दिएका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप