शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

शबनमले घटनाको पूरा योजना बुनेकी थिइन्, नयाँ मोबाइल र सीम किनेकी थिइन्, लठ्याउने औषधी पनि टाढैबाट किनेकी थिइन्

बुधबार, १२ फागुन २०७७, १३ : ३०
बुधबार, १२ फागुन २०७७

भारतको उत्तर प्रदशको अमरोहा गाउँ बावनखेडी यतिबेला शबनमको मृत्युदण्डका कारण चर्चामा छ । सन् २००८ मा एकै परिवारका ७ जनाको हत्याले पूरा प्रदेशमा व्यापक चर्चा थियो । मानिसहरु न्यायको माग गर्दै सडकमा उत्रिएका थिए । एक भारतीय सञ्चार माध्यमले शवनमको विषयमा अनुसन्धान अधिकारी, सरकारी वकिल र शबनमका वकिलसँग कुराकानी गरेको छ ।

‘मुख्यमन्त्रीलाई शबनमलाई आर्थिक मद्दत गर्न रोकेका थिए’

बावनखेडी हत्याकाण्डको अनुसन्धान गर्ने प्रहरी अधिकारी आरपी गुप्ता रिटायर्ड भइसकेका छन् र एक नीजि विश्वविद्यालयमा प्रशासनिक अधिकारीको रुपमा काम गरिरहेका छन् । शबनम र सलिमलाई पक्राउ गर्ने गुप्ताले घटना हुनु दुई दिन अघि मात्रै हसनपुर थानाको चार्ज पाएका थिए । उनी भन्छन्, ‘७ जनाको हत्या भएको थियो । कोही साक्षी थिएनन् । घटनास्थलबाट धेरैजसो प्रमाण मेटिएको थियो । यो ब्लाइन्ड मर्डर थियो । मुख्यमन्त्री आफैं घटनास्थलमा पुगेकी थिइन् । अपराधी पक्राउ गर्न ढिला भएको भए प्रहरीमाथि धेरै प्रश्न उठ्न सक्थ्यो ।’

उनी त्यतिबेलाको घटना स्मरण गर्दै भन्छन्, ‘तत्कालीन मुख्यमन्त्री मायावती घटनास्थलमा पुगिन् र बावनखेडीमा भीडको अगाडि २४ घण्टाभित्र घटनाको वास्तविकताबारे पर्दाफास गर्ने बचन दिइन् । मुख्यमन्त्री शबनमलाई पाँच लाख भारुको आर्थिक मद्दत लिएर उनको घर गइरहेकी थिइन् तर मैले उनको पीएलाई मुख्यमन्त्रीलाई आर्थिक मद्दत दिनबाट रोक्न भनिदिएँ । मलाई लागेको थियो कि पीएले मेरो कुरा गम्भीरताका साथ लिएनन् । त्यतिबेला मैले एक स्थानीय बसपा विधायक हाजी शब्बनसँग शबनम आफैं पनि हत्यारा हुनसक्ने बताएको थिएँ । त्यसैले मुख्यमन्त्रीले तत्कालका लागि आर्थिक मद्दत रोक्नुपर्ने बताएको थिएँ । ’

‘तर जसरी भए पनि यो सन्देश मुख्यमन्त्रीसम्म पुग्यो । तत्कालीन मुख्यमन्त्री मायावतीले केही मिनेटपछि शबनमलाई भेटिन्, सहानुभूति पनि व्यक्त गरिन् तर आर्थिक मद्दत दिइनन् । पाँच लाख भारुको मद्दतको घोषणाा गर्दै उनले अनुसन्धान पूरा भएपछि सरकारले प्रदान गर्ने बताइन् । त्यसको भोलिपल्ट प्रहरीले हत्याकाण्डको खुलासा गरे । त्यतिबेलासम्म शबनम र उनका प्रेमी पक्राउ परिसकेका थिए ।’

यो फोटो  रामपुर जेल को हो। 

नयाँ मोबाइल–सिम खरिद गरे, नशालु औषधी पनि टाढाबाट किनेकी थिइन्ः

अनुसन्धान अधिकारी गुप्ता भन्छन्, ‘शबनम र सलिमले लामो योजना बनाएर यो हत्या गरेका थिए । हरेक चरण योजनाबद्ध थियो । कुरा गर्नका लागि नयाँ मोबाइल र सीम खरिद गरेका थिए । कसैलाई शंका नहोस् भनेर नशालु औषधी पनि टाढाबाट खरिद गरेका थिए । शबनमले आफ्ना काकाका छोरामाथि पनि हत्याको आरोप लगाएकी थिइन् । शबनमका पितासँग जग्गासम्बन्धि विवाद चलिरहेको थियो तर पनि घटनास्थल हेर्दा हामीले हत्यारा घर भित्रकै हुन् भनेर अनुमान गरिसकेका थियौं । लुटपाट र बदमास भागेको कहानी झुटो लागिरहेको थियो किनभने घरबाट कुनै पनि सामान गायब थिएन । महिलाले लगाएको गहना पनि यत्तिकै थिए ।’

प्रहरीले सुरुवाती घण्टामा शबनमका काकाका छोरालाई शंकाको आधारमा सोधपुछका लागि पक्राउ पनि गरेको थियो । मुरादाबादका तत्कालीन डिआईजी बद्री प्रसादले सम्पत्ति विवादको कुरा आइरहेको छ र एक संदिग्धलाई पक्राउ पनि गरिएको छ । प्रहरीले शबनमलाई सोधे – जब लुटेरा गए तब ढोका किन बन्द थियो ? राती तिमी एक बजे छतबाट किन ओर्लियौ ? जब घरमा इनवर्टर थियो, बिजुली थियो तब छतमा किन सुत्न गयौ ? छतमा ओछ्यान किन थिएन ? यी प्रश्न सुनेर शबनम आत्तिइन् ।

गुप्ता भन्छन्, ‘काकाका भाइलाई फसाउने शबनमको चाल पनि फेल खायो । हामी प्रमाणको खोजीमा थियौं र एक व्यक्तिले निकै पत्यारिलो सूचना दिए । त्यसपछि प्रमाणहरु भेटिँदै गयो । नशालू औषधी पनि भेटियो, मोबाइल र सीम कार्ड पनि भेट्यौं । हत्याका बेला प्रयोग भएको बञ्चरो पनि भेटियो । हामीले नक्कली पहिचान पत्रमा सीमा बेच्ने पसलेलाई पनि जेल पठाएका थियौं । बिसरा रिपोर्टमा नशाको औषधीको पुष्टि भएको थियो । ’

 


न्यायाधिसले मृत्युदण्डको सजाय सुनाउनु अघि शबनम–सलिमलाई चेम्बरमा बोलाएर कुराकानी गरेः

सरकारी वकिल धर्मपाल सिंह भन्छन्, ‘घटनामा कोही पनि साक्षी थिएनन् । यो घटना पूर्ण रुपमा परिस्थितिजन्य प्रमाणमा निर्भर थियो । प्रमाण र साक्षीको तालमेल मिल्दै गयो । पर्याप्त प्रमाण र कन्फेसन (स्विकारोक्ति) पछि न्यायाधिस एसए हुसैनी साहबले दुबैलाई मृत्युदण्डको सजाय सुनाएका थिए । संसारको हरेक अदालतमा यो निर्णय यथावत् रहनेछ ।’ उनी भन्छन्, ‘बच्चालाई समेत मारिएको थियो । यो निकै क्रुर पल थियो । फाँसीभन्दा पनि कुनै ठूलो सजाय हुन्थ्यो भने हामी त्यो माग गर्दथ्यौं ।’

शबनम र सलिमका वकिल इरशाद अन्सारी भन्छन्, ‘शबनमले सधैं आफू र सलिमले कुनै हत्या नगरेको बताउने गर्थिन् । प्रहरीले अत्यधिक यातना दिएकोले आफूहरुले अपराध स्विकार गरेको उनको भनाई थियो । प्रहरीले भेट्टाएको बञ्चरो पनि नक्कली भएको सलिमले बताउने गर्दथ्यो । आफूहरुले कुनै बञ्चरो प्रयोग नगरेको पनि उनी बताउने गर्दथे ।’

अन्सारी भन्छन्, ‘न्यायाधिसले सुरुमा सलिमलाई चेम्बरमा बोलाए त्यसपछि शबनमलाई । दुबैसँग छुट्टाछुट्टै कुरा गरेपछि एक–अर्कालाई अगाडि राखिएको थियो । त्यतिबेला एक अर्काले आरोप लगाएका थिए ।’

अनुसन्धान अधिकारी आरपी गुप्ता र सरकारी वकिल डिपी सिंहले पनि यसको पुष्टि गर्छन् । गुप्ताले भने, ‘निर्णय सुनाउनु अघि न्यायाधिसले मलाई प्रहरीले थुप्रै पटक विवेचनामा गलत मानिसहरु पनि फसाएको बताएका थिए । त्यतिबेला मैले आफूलाई आफ्नो अनुसन्धानमा शत प्रतिशत विश्वास भएको बताएको थिएँ ।’

सरकारी वकिल डिपी सिंह पनि भन्छन्, ‘तत्कालीन जिला न्यायाधिस हुसैनीको अगाडि शबनम र सलिमले वास्तविकता सुरु गरेका थिए । त्यसपछि मात्रै उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । यो रेयरेस्ट अफ रेयर मामला थियो । ’

अदालतले सय मिति र २९ साक्षीको बयानपछि १४ जुलाई सन् २०१० मा शबनम र सलिमलाई दोषी ठहर गरिएको थियो । उनीहरुलाई परिवारका सातजनाको हत्याको दोषी पाइएको थियो । शबनमको परिवारले उनको र सलिमको विवाहमा बाधा पुर्याइरहेका कारण यस्तो अपराध घटित भएको थियो । त्यसको भोलिपल्ट १५ जुलाईमा २९ सेकेन्डभित्रै दुबैलाई फाँसीको सजाय सुनाइएको थियो ।’

अमरोहका वरिष्ठ पत्रकार ओबैद–उर–रहमान पनि त्यस दिन अदालतमा उपस्थित थिए । ओबैद स्मरण गर्दै भन्छन्, ‘शबनम र सलिम एक अर्कामाथि आरोप लगाइरहेका थिए । उनीहरु त्यहि व्यक्ति थिए जसले आफूहरु सँगै बस्नका लागि एक अबोध बालकसहित सातजनाको हत्या गरेका थिए । तर मृत्युदण्डको सजाय सुनाएपछि उनीहरु एक–अर्काको विरुद्धमा उत्रिएका थिए । ’

कचहरीका थुप्रै पुराना वकिलका अनुसार सजाय सुनाएपछि शबनम आफ्ना छोरालाई काखमा लिएर अदालत पुगेकी थिइन् । अदालतबाहिर निस्कँदै सलिमले शबनममाथि रिस पोख्दै भनेका थिए, ‘मैले केही गरेको होइन, शबनमले बहकाउमा आएर ममाथि झुटो आरोप लगाइरहेकी छिन् ।’

शबनम अब भारतमा मृत्युदण्ड पाउने पहिलो महिला हुन सक्छिन् । अनुसन्धान अधिकारी आरपी गुप्ता भन्छिन्, ‘मैले कहिल्यै उनको आँखामा अफसोस देखिनँ । उनी एक निकै चतुर हत्यार हुन् । उनलाई फाँसीमा चढाएपछि नै न्याय पूरा हुनेछ । यस्ता मानिसहरुका लागि समाजमा कुनै स्थान दिइनु हुँदैन ।’

उनी थप्छिन्, ‘आज शबनमको बच्चाको कुरा गरेर उनलाई मृत्युदण्ड दिइनु हुँदैन भन्ने कुरा उठाइएको छ । ती पनि १० महिनाका अबोध नै थिए जसको गला शबनमले नै दबाएकी थिइन् । जे भयो, त्यो बर्बरताको हद थियो । यस्तो कुनै दोस्रो उदाहरण छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप