शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डको निष्कर्ष : नेकपा दुर्घटना गराउने प्रयास असफल बन्यो

शुक्रबार, २६ भदौ २०७७, १८ : ५९
शुक्रबार, २६ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटाउने र दुर्घटनातर्फ लैजाने षड्यन्त्रलाई विफल बनाएको दावी गरेका छन् ।  स्थगित भएको झण्डै डेढ महिनापछि शुक्रबार ५ घण्टा बसेर समापन भएको स्थायी समिति बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी भित्रको विवाद समाधान गर्न यो बैठक सफल हुने धारणा राखेका थिए । 

उनले बैठकले पार्टीमा नयाँ उचाईको एकताको संकल्पसहित निश्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै पार्टीलाई कमजोर बनाउने र तोडफोड गर्ने देशीविदेशी तथा प्रतिकृयावादी शक्तिहरुको चाहनालाई असफल बनाउन बैठक सफल हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । 

बैठकको समापन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले पनि दुर्घटनाबाट पार्टीलाई बचाउँदै, विचारको बहस गर्दै र बैचारिक रुपमा पनि रुपान्तरणको दिशामा पार्टी र संगठन अघि बढ्नेमा आफु विश्वस्त रहेको धारणा राखेका थिए । ‘सांगाठनिक रुपमा पार्टी अझ बढी मजबुत र रुपान्तरण गर्नेगरी बैठकले आधार प्रदान गरेको छ । ढोका खुलेको छ’ प्रचण्डले सम्बोधन गर्दै भनेका थिए, ‘त्यसअर्थमा यो बैठक सफल भएको छ ।’


उनले यसअघिका विभिन्न प्रकारका उत्तरचढाव र घटनाहरुबाट शिक्षा लिँदै केही दिनमा पार्टी एकताको उदेश्यलाई पुरा गर्नेगरी बहस, छलफलहरु अघि बढाउने तथा पार्टीलाई अझ बढी सुदृढ गर्ने र महाधिवेशनमा बहसको प्रकृयालाई उन्नत ढंगले अघि बढाएर महाधिवेशन सफल पार्न सकिने बताएका थिए । 

४४ सदस्यीय नेकपा स्थायी समिति सदस्यमध्ये १३ जनाले बैठकमा पेश भएको अध्यक्षद्धयको प्रस्तावमाथि धारणा राखेका थिए । सदस्यहरुले राखेका धारणलाई समेत समेट्नेगरी प्रस्ताव पारित गर्दै बैठक शुक्रबारै समापन गरिएको छ ।   बैठकमा माधवकुमार नेपाल, देव गुरुङ, भिम रावल, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघु पन्त, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रस्तावमाथि धारणा राखेका थिए । 

प्रचण्डलाई कार्यकारी, ओलीलाई सरकार 

बैठकले केपी शर्माओलीले सरकार र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । 

प्रवक्ता श्रेष्ठकाअनुसार अब पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने र सरकार पार्टीको मागदर्शनमा चल्ने भएपनि सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय गर्ने पद्धतिको विकास हुनेछ । 

चैत २५ देखि ३० मा महाधिवेशन 
बैठकले आगामी यो वर्षको अन्तिम अर्थात २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । त्यसको तयारीका लागि आगामी कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ । 

एमसीसीबारे अलग्गै छलफल गर्न झलनाथको माग 
बैठकमा बरिष्ठ नेता झलनाथ खनालले भित्री पार्टी संघर्षलाई परिभाषित गर्नुपर्ने भन्दै एकता र प्रगतिको महाधिवेशन गर्न सकेमात्रै पार्टी एकताको महत्व झल्किने बताएका थिए । खनाल निकट एक स्थायी समिति सदस्यले बैठकमा खनालले भनेको भनाई उदृत गर्दै रातोपाटीसँग भने, ‘पार्टी कमिटी प्रणालीमा स्थापित गर्नुुपर्छ ।

जनवादी क्रान्ति सम्पन्न भैसकेकाले समाजवादको लक्ष्यलाई स्पस्ट पार्नुपर्छ ।’ खनालले कम्युनिस्ट पार्टीको नेतृत्वविना समाजवाद आउन नसक्ने भन्दै पार्टी र सरकारको सम्बन्धलाई अझ प्रस्ट पार्नुुपर्ने आवश्यकता रहेकोे धारणा राखेका थिए ।  ‘एमसीसीबारे अलग्गै छलफल गर्नुपर्छ र भ्रष्टाचार तथा कमिशन नियन्त्रण गर्न छुट्टै कानून बनाउनुपर्छ’ खनालले बैठकमा आफ्नो धारणा राखेका थिए । 

पार्टी विवाद मत्थर 
स्थायी समिति सदस्यहरुका अनुसार यो बैठकपछि पार्टी भित्रको आन्तरिक विवाद तत्काललाई मत्थर भएको छ ।  शुक्रबार बसेको स्थायी समिति बैठकमा विवादका विषयहरुलाई सम्बोधन गर्ने शीर्ष नेताहरुको प्रतिबद्धतापछि बैशाख महिनायता देखिएको विवाद समाधान उन्मुखको दिशामा गएको नेता गणेश शाहले बताए । ‘समस्या समाधान भैसक्यो भन्न मिल्दैन । मत्थर भएको छ समाधानको बाटोमा गएको छ’ उनले पाटीभित्रको समस्याबारे छोटो प्रतिकृया दिए । अर्का एक स्थायी समिति सदस्यकाअनुसार नेताहरुले निर्मम आत्मलोचना गरेका छैनन । ‘कमी कमजोरीको स्वीकारोक्ति भयो । आगामी बैठकमा जिम्मेवारीका साथ प्रस्तुत हुने भनिएको छ । तर त्यो जिम्मेवारी भनेको के हो थाहा छैन’, ती सदस्यको भनाई छ । 

पहिरो पन्छियो: जनार्दन शर्मा 
स्थायी समिति सदस्य जनार्दन शर्माले विषयबस्तु पहिलादेखि नै उठेका भएपनि शुक्रबारको बैठकले नयाँ निर्णय गरेको बताए । उनले पार्टीमा देखापरेको अन्तरविरोध समाधान गर्न पार्टीभित्रको समग्र पक्षको कार्यदलले समीक्षा गरेकाले त्यसका आधारमा भएका निर्णयहरुलाई पुरानै निर्णयलाई पुन निर्णय गरिएको भन्न नमिल्ने बताए ।

‘पार्टीमा आएको पहिरो हामीले पन्छायौ र गाडी गुड्ने बनायौ जसको परिणामस्वरुप आज पार्टी एकताबद्ध हुँदै बैठक समापन भएको छ’, शर्माले रातोपाटीसँग भने, ‘आजका अन्तरविरोधलाई तत्तकालका रुपमा समाधान गरेर महाधिवेशनमा पुग्नका लागि ठोस निर्णय भएको छ ।’ उनले दुईवटा अध्यक्षबीचको कार्यविभाजनको परिभाषा समेत गरिएकाले बैठक उपलव्धिमुलक मान्नुपर्ने भन्दै पहिला बैठक नै बस्न नसक्ने र अध्यक्ष बीचमा देखापरेको समस्यालाई अध्यक्षद्धय बीचकै छलफल, सम्वाद र कार्यदलले गरेको मिहिनेतबाट दुवै अध्यक्षलाई एकताको पक्षमा उभ्याउने ऐतिहासिक निर्णय भएको बताए ।

‘जसले गर्दा सिंगो पार्टी एकतामा उभिएको छ । मुल समस्या दुई अध्यक्षको अन्तरविरोधले पैदा भएको थियो । यद्यपि पार्टीमा त्यस्ता विचार प्रवृत्ति हुन्छन् । तर फेरि पनि दुई अध्यक्षबीचमा भएको अन्तरविरोधलाई विश्वासमा बदल्न सम्भव भएको छ’, शर्माको भनाई छ । उनले अब अगाडि बढ्ने बाटो समेत यो बैठकपछि खुलेको भन्दै बैचारिक राजनीतिक र सांगठानिक विधिगत र पद्धतिको विकास गर्न केन्द्रीय समिति हुँदै महाधिवेशनमा गएर नयाँ संश्लेषण गर्ने सुनिश्चितता भएको दावी गरे । 

यो पनि.....


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप