शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने नेकपा बैठकको निर्णय

प्रचण्डले कार्यकारी भूमिकाका साथ पार्टीको नेतृत्व गर्ने
शुक्रबार, २६ भदौ २०७७, १६ : ३८
शुक्रबार, २६ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ । 

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने निर्णय भएको बताए ।

यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन । तर महत्त्वपूर्ण सवालमा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने हुन्छ । 

 आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राखेका थिए । 

ती सदस्यले धारणा राखेपछि प्रचण्डले प्राप्त  सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए भने त्यसपछि विभिन्न निर्णय गर्दै बैठक सकिएको थियो । श्रेष्ठका अनुसार छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ । 

पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन् । 

महाधिवेशन चैतमा 
यस्तै  बैठकले आगामी चैत्र अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता श्रेष्ठले बताए । 

यस्तै बैठकले नेपाल भारत सीमा समस्या समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई सकारात्मक रुपमा लिँदै अतिक्रमणमा परेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि वार्ताबाट आवश्यक पहल गर्न सुझाव दिएको छ । 

कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गरेका कामहरु सकारात्मक रहेको बैठकले निष्कर्ष निकालेको छ । अझै प्रभावकारी नियन्त्रण र उत्पन्न परिस्थितिको सम्बोधनका लागि राष्ट्रिय एकताका साथ अगाडी बढ्न सरकारलाई बैठकले सुझाव दिएको उनले बताए ।  स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै देखिएका समस्या सम्बोधनमा देखिएका समस्यालाई गम्भिरतापूर्वक लिन पनि सुझाव दिएको छ । 

अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि नेकपाले गरेको छ । झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा संशोधनको प्रकृया छिट्टै अगाडी बढाउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप