शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बामदेव राष्ट्रियसभामा जान तयार, ओलीको योजनामा धक्का

बामदेव जागेपछि नेकपामा फेरि विवाद बढ्ने संकेत
सोमबार, १५ भदौ २०७७, १८ : ५९
सोमबार, १५ भदौ २०७७

काठमाडौं । हाल सरकारका प्रवक्ता एवम् अर्थ र सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारीमा छन्, डा. युवराज खतिवडा । नेकपाभित्रको विकसित घटनाक्रमले उनको पद ‘डेन्जर जोन’ मा परेको छ । संवैधानिक रुपमा भदौ २० भित्र राष्ट्रियसभा सदस्य मनोनित भइसकेमात्रै मन्त्रीका रुपमा निरन्तरता दिन सक्ने बाध्यकारी अवस्थामा रहेका खतिवडाको मनोनयन नै अन्योलमा परेपछि उनी ‘डेन्जर जोन’मा परेका हुन् । 

सरकारले राष्ट्रियसभामा रिक्त रहेको एक पदमा भदौ २० भित्र नियुक्ति कसलाई गर्नेछ भन्ने चासोका बीच उपाध्यक्ष बामदेव गौतमको नाम फेरि चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेपनि पार्टीभित्र बामदेव गौतमलाई नै राष्ट्रियसभामा लैजानुपर्ने मत बलियो बन्दै गएको छ ।

पार्टी स्रोतका अनुसार पछिल्लो केही दिनयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच गौतम नै राष्ट्रिय सभामा जानुपर्ने विषयमा छलफल भएको हो ।प्रचण्ड, नेपाल र खनालले यस विषयमा गौतमसँग पनि छलफल गरेको र सो क्रममा गौतमले पार्टीले निर्णय गरेको खण्डमा आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन् । 

जनार्दन शर्मा भन्छन्, वामदेव उपप्रधान​सहित अर्थमन्त्री  

यता नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताए । उनले सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भएको बताए । 

१८ गतेकै बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजाने पुर्व निर्णयको कार्यन्वयन गर्छ, नेकपा कार्यदलका सदस्यसमेत रहेका शर्माले रातोपाटीसँग भने, ‘गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएकाले पनि त्यसको कार्यान्वयन गर्ने बेलामा उहाँलाई सरकारमा लैजानुपर्ने हुन्छ,’ 

शर्माले थपे, ‘वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रावकारी हुन्छ ।’

 
गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले पनि बामदेव राष्ट्रियसभामा जान तयार भएको बताए । गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकमा गौतमले उपयुक्त समयमा प्रधानमन्त्री बनाउने आश्वासन पाएपछि राष्ट्रियसभामा नजाने सोच बनाएका थिए ।

उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा सचिवालयमा समझदारी बनेपनि अहिले अवस्था अनुकुल नरहेको निष्कर्षका साथ गौतम फेरि राष्ट्रियसभामा जान तयार भएको बताइएको छ । 

‘प्रत्येक्ष चुनावमा जाने कुरा अहिलेको अवस्थामा बेमौसमी हुन्छ । फेरि दुई वर्षपछि उहाँ प्रतिनिधिसभामा लडेर प्रतिनिधिसभामा जाने बाटो नजिकै पनि आउँदैछ छ’, प्रेस सहयोगी सुवेदीले रातोपाटीसँग भने, ‘उहाँ राष्ट्रियसभामा जान तयार हुनुहुन्छ ।’ 

 


यसअघि गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । सोही महिनाको  २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो ।  तर प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेका थिए भने पार्टीभित्र यही विषयमा विवादसमेत चर्किएको थियो ।

विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएका थिए भने अहिलेसम्म कसैको मनोनयन भएको थिएन । 

प्रधानमन्त्री चाहन्छन् खतिवडाकै निरन्तरता

प्रधानमन्त्री ओली डा. खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा देखिएका छन् । यसअघि नै गौतम प्रतिनिधिसभामा जाने निश्चित भइसकेकाले खतिवडाले नै निरन्तरता पाउने ओलीको तर्क छ ।  शनिबार एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका थिए । 
 
‘उहाँ (खतिवडा) ले राम्रो काम गर्नुभएको छ !’ ओलीले भनेका थिए, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो, त्यही अनुसार चल्नुपर्छ ।’

युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताएका थिए । तर, मुख्यरुपमा प्रधानमन्त्रीले आफ्नो कामलाई सफल बनाउनका लागि मन्त्रिपरिषद्को हिसावमा, अन्य पक्षहरु पनि केलाएर समग्रता हेरेर निष्कर्ष निकाल्ने उनको भनाइ थियो ।

ओलीले उपाध्यक्ष गौतम राष्ट्रिय सभामा नजाने निश्चित भएको दावी गर्दै खतिवडा नै जानसक्ने सभावनालाई बल पुग्नेगरी अभिव्यक्ति दिएका थिए ।  ओलीले बामदेव राष्ट्रियसभामा नजाने बताउँदै भनेका थिए, ‘एक पटक राष्ट्रिय सभामा लैजाने निर्णय सचिवालयले गरेको थियो । तर उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय समाप्त भयो । र, उहाँ त्यसरी नजाने भनेपछि त्यो निर्णय उतिबेलै समाप्त भयो ।’


फेरि विवादको संकेत

बामदेव जागेपछि नेकपामा फेरि विवाद बढ्ने संकेत देखिएको छ । पछिल्लो समय नेकपाभित्र विवाद चर्किएपछि समस्या समाधान स्वरुप गठन भएको कार्यदलले हालैमात्रै प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा आन्तरिक सहमति र नयाँ शक्ति सन्तुलनमा जोड दिइएको छ । सोही प्रतिवेदनमन आधारमा पनि खतिवडाको कार्यकाल दोहोरिन गाह्रो रहेको नेकपाका एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए । 

उनका अनुसार खतिवडालाई निरन्तरता दिन नहुनेमा नेकपाभित्र मत बलियो रहेको छ ।  यही कारण प्रचण्डसहितका शीर्ष नेताहरुले बामदेवलाई नै राष्ट्रियसभामा लैजानुपर्ने निष्कर्षसहित उनलाई अघि सारेको उनको भनाइ छ ।

खतिवडालाई प्रधानमन्त्री ओलीकै जोडबलमा पहिलो र दोस्रो कार्यकालमा समेत नियुक्त गरिएको थियो । गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिलाई अर्थ मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिनु हुँदैन भन्नेमा नेकपाभित्र सुरुदेखि नै विवाद थियो । तर ओलीले सबै आलोचनाका बीच खतिवडालाई बोकिरहेका छन् ।

नेकपाले सचिवालयको भदौ १८ गतेको बैठक बोलाइएको छ ।  सो बैठकमा राष्ट्रियसभामा कसलाई लैजाने भन्नेबारे गर्मागर्मी बहस हुने निश्चित छ । ओलीले  सरकार सञ्चालनको आफ्नै तौरतरिका हुने भन्दै कतिपय विषयमा पार्टीको निर्णय लागू हुन नसक्ने अभिव्यक्ति समेत दिँदै आएका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप