शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमानको कमाल : विद्युत् प्राधिकरण बन्यो सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान

गत वर्ष ११ अर्ब ५ करोड नाफा
सोमबार, ०१ भदौ २०७७, १५ : १६
सोमबार, ०१ भदौ २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थान मध्येकै सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको हो । प्राधिकरणपछि सबैभन्दा धेरै नेपाल टेलिकमले सो वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । 

यसैबीच प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान पूरा भएर सिञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नाफामा जान थालेपछि प्राधिकरण नयाँ आयोजनाको कार्यान्वयनका लागि आफैं स्रोत जुटाउने क्षमतामा रहेको भन्दै सरकारले जुटाइदिने स्रोतहरु अरु पूर्वाधार क्षेत्रमा खर्च गर्न सकिने अवस्था रहेको समेत उनको भनाइ थियो । 

आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै, २०७४/७५ मा २ अर्ब ८५ करोड तथा २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा वृद्धिका बाबजुद पनि इतिहासमै पहिलोपटक ग्राहस्र्थ विद्युतीय ग्राहकको विद्युत् महशुल घटाइएको समेत घिसिङले बताए । विद्युत् प्राधिकरणले अहिले प्रत्येक वर्ष १० अर्ब रुपैयाँ नाफा कमाउने उद्धेश्य लिएको छ । 

प्राधिकरणले २०७२/७३ मा २५ प्रतिशत रहेको विद्युत् चुहावटलाई २२.९ प्रतिशत, २०.४५ प्रतिशत, १५.५२ प्रतिशत हुँदै चौथो वर्षसम्म १५.२७ प्रतिशतमा झारेको जनाएको छ । अबका वर्षहरुमा यस्तो चुहावट १० प्रतिशत भन्दा तल झार्ने लक्ष्य लिएको छ ।   


ग्राहकको संख्यामा समेत योबीचमा उल्लेख्य रुपमा बढेको प्राधिकरणले जनाएको छ । योबीचमा ग्राहक संख्या अहिले बढेर ४७ लाख ८५ हजार पुगेको जनाइएको छ । आगामी २ वर्षभित्र ६० लाख अर्थात् सबै नेपालीहरुको घरमा आधुनिक स्वच्छ उर्जा पुर्याउने लक्ष्य समेत प्रधिकरणले लिएको कार्यकारी निर्देशक घिसिङले बताए । ४ वर्षको अवधिमा विद्युत्को यो पहुँच ७८ प्रतिशतबाछ बढेर ८६ प्रतिशतमा पुग्न सफल भएको हो । 

प्रसारण लाइनतर्फ समेत प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ । ४ वर्षअघि २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले ४ हजार २ सय ७५ किलोमिटर पुगेको तथा २६ हजार वितरण ट्रान्सफर्मरको संख्या समेत बढेर ३५ हजार ५ सय पुगेको र आगामी ४ वर्षभित्र थप १० हजार ट्रान्सफर्मर थप गरिने योजना रहेको समेत जनाएकोे छ । 

त्यस्तै, चार वर्षअघि ८ सय १ मेगावाट रहेको विद्युत्को आन्तरिक उत्पादन अहिले १ हजार २ सय ५८ मेगावाट पुगेको, ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएकोमा ३ हजार मेगावाट विद्युत् निर्माणको चरणमा रहेको जनाइएको छ । अहिले विद्युत्को क्षेत्रमा ५ खर्ब रुपैयाँको थप लगानी सुनिश्चित भएको जनाइएको छ । 


अहिले प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्दै विद्युत्को निर्यात गर्ने, ४ वर्षभित्र काठमाडौं उपत्यकाका तारहरुलाई भूमिगत गराउने, भार प्रेषण केन्द्रलाई अत्याधुनिक बनाउने, कार्यालयहरुमा इन्टरप्राइज रिसोस प्लानिङ (ईआरपी) लागु गरिने र प्राधिकरणको छुट्टै डाटा सेन्टर स्थापना गर्ने समेत लक्ष्य लिएको जनाएको छ । २०४२ सालमा स्थापित प्राधिकरणले सोमबार ३५ औं वार्षिकोत्सव मनाउँदै यस्तो जनाएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप