शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोडसेडिङ अन्त्य गर्ने कुलमानको कार्यकाल सकिँदै, कुलमानको विकल्पमा यी नाम चर्चामा

आइतबार, १८ साउन २०७७, १५ : ५५
आइतबार, १८ साउन २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । लोडसेडिङको सास्ती खेपेका नेपालीहरु माझ घिसिङले वाहवाही कमाएका छन् ।  ऊर्जा क्षेत्रको सिस्टम उनले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनुपर्ने आवश्यकता नभएको भन्ने मत पनि छ । 

अहिले प्राधिकरण भित्र र बाहिर कुलमानलाई निरन्तरता दिने कि नयाँ ल्याउने भन्ने बहस शुरु हुन थालेको छ । केहीले वर्तमान ऊर्जामन्त्री वर्षमान पुनको पालामा उनको पुनरागमनको सम्भावना  न्युन रहेको पनि भनिरहेका छन् ।

यद्यपि, प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्त मन्त्रिपरिषद्को निर्णयबाट हुने हो । यसमा दल निकट व्यक्ति राख्ने प्रतिस्पर्धा समेत हुने गरेको छ ।  अहिले ऊर्जामन्त्री तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्छन् । घिसिङलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए । तत्कालीन माओवादीले घिसिङलाई नियुक्त गरेको भएपनि साविकको माओवादीभित्र पनि विभिन्न गुट उपगुट हावी रहेकाले आफू निकटका व्यक्ति ल्याउन  चर्को लबिङ भइरहेको बताइन्छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै आफू निकटहरुसँग घिसिङको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । लोडसेडिङ अन्त्य गर्न र विद्युत उत्पादनमा सक्षम देखिएपनि अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा ल्याइएको छ । ऊर्जामन्त्री पुनले घिसिङको ठाउँमा विभागका सिंह ल्याउने तयारी गरेको स्रोत बताउँछ । यता प्राधिकरणकै उपकार्यकारी निर्देशक शेर सिंह भाटको नाम पनि चर्चामा आउन थालेको छ । यसैगरी केहीले पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीको नाम पनि चर्चा गर्न थालेका छन् । यस विषयमा बुझ्न ऊर्जामन्त्री पुनसँग सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।

ऊर्जासँग सरोकार राख्नेहरु घिसिङ दोहोरिएको हेर्न चाहन्छन् 

ऊर्जासँग सरोकार राख्नेहरु घिसिङकै कार्यकाल दोहोरिएको हेर्न चाहन्छन् । तर खुलेर घिसिङ दोहोरिनुपर्ने माग राख्न सक्दैनन् । निजी क्षेत्रका ऊर्जासम्बद्ध व्यक्तिहरु  घिसिङलाई दोहोर्याउनु पर्ने माग गर्छन् । ऊर्जा प्रवर्द्धक एक अधिकारी भन्छन्, ‘यो सरकारको निर्णय हो । हामी कसैको पक्ष विपक्षमा खुलेर आवाज उठाउँन मिल्दैन तर हाम्रो सर्कलभित्र घिसिङ दोहोरिए हुन्थ्यो भन्ने चाहना छ । हामी कसैको व्यक्ति वा संस्थाको नाम चाहिँ नलिदिनु होला । फेरि भोलि घिसिङ भन्दा दोस्रो व्यक्ति आए हामीलाई समस्यामा पार्छन् ।’ 

घाटाको प्राधिकरण नाफामा, लोडसेडिङको तनाव छैन
चार वर्षअघि नेपालमा दैनिक १८ घन्टा सम्म लोडसेडिङ हुन्थ्यो । रात परेपछि आम सर्वसाधारणलाई मैनबत्ती र वैकल्पिक बत्तिको जोहो गर्न हतारो हुन्थ्यो । कलकारखानाहरू पेट्रोलियम पदार्थमा निर्भर हुन्थे । यस्तो बेलामा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको बलमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको आगमन भएको थियो ।

 उनी २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । असोज १ बाट उनले कार्यभार सम्हाले । उनको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशकमा विभिन्न नामहरु चर्चामा आउन थालेका हुन् । 

उनको पहिलो योजना काठमाडौँ उपत्यकालाई लोडसेडिङ मुक्त बनाउनु थियो । सोही सालको लक्ष्मी पुजादेखि नै उनले उपत्यकामा लोडसेडिङ अन्त्य भएको घोषणा गरे । घिसिङको कार्यकालमा घण्टौसम्म लोडसेडिङ खेप्नुपरेको छैन । उनकै नेतृत्वमा अहिले राजधानीमा विद्युतको तारलाई भूमिगत गरेर व्यवस्थित गर्ने काम समेत भइरहेको छ ।

प्राधिकरणकै कर्मचारी भएकाले पनि हुनसक्छ, उनलाई विगतमै लोडसेडिङको समस्याबारे राम्रो जानकारी थियो । नेतृत्वमा आएको दुई महिनामै काठमाडौंमा लोडसेडिङ हटाएपछि उनको चर्चा चुलियो । अहिले देशभर लोडसेडिङ अन्त्य भइसकेको छ । घिसिङले लोडसेडिङ मात्रै अन्त्य गरेनन्, वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा समेत लगेका छन् । 

ऊर्जा क्षेत्रमा काम गर्ने अधिकांशले उनको कार्यकाल दोहोर्याइनु पर्ने आवाज उठाइरहेका छन् । विद्युत प्राधिकरणको आगामी कार्यकारी निर्देशक  कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री पुनमै  निर्भर छ  । अब उनलाई सरकारले दोहोर्याउँछ वा नयाँलाई अवसर दिन्त्छ त्यो भने हेर्न नै बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप