शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा १४ औँ महाधिवेशन केन्द्रित यस्तो छ गुटगत कसरत

बिहीबार, २२ साउन २०७७, १२ : ५८
बिहीबार, २२ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसमा १४ औँ महाधिवेशन केन्द्रित गुटगत कसरत जारी छ । कोरोनाभाइरसको महामारीकै बीचमा आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्न तम्सिएको काँग्रेसभित्र सभापतिका आकांक्षीबीचको गुटगत कसरत बाक्लो छ । कोरोनाको यस्तो अवस्थामा महाधिवेशन कसरी गर्ने भन्ने विषयभन्दा गुटगत रणनीतिमा नेताहरुको व्यस्तता बढी छ । सभापतिका आकांक्षीहरुमा गुटभित्र उपगुट निर्माण गर्ने अभ्यास पनि जारी छ । यता कोरोनाको वर्तमान अवस्था केही समय जारी रहे महाधिवेशन हुने–नहुने टुंगो पनि छैन ।

 


देउवा समूहमा निधिको पनि करसत
सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा दोहोरिने गरी आन्तरिक गतिविधि बढाइरहेका छन् । संस्थापन इतरको विरोधलाई बेवास्ता गर्दै देउवाले पार्टीका विभाग र विभिन्न निकायमा सदस्यहरू धमाधम थप्ने क्रम जारी छ ।
देउवाका पछिल्ला कदम प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट चुनिने ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधिमाथि प्रभाव जमाउन केन्द्रित देखिन्छ । अहिले केन्द्रीय विभागमा परिरहेका नेता तथा कार्यकर्तामा अधिकांश क्षेत्रीय प्रतिनिधि भइसकेका र फेरि पनि चुनिएर आउने सम्भावना भएकाहरू हुन् ।

यस्तै देउवाले गत फागुन १९ गते ३० र बुधबार ४ सय ७९ पुराना नेता तथा कार्यकर्तालाई ज्येष्ठ राजनीतिज्ञ सभामा ल्याउने निर्णय लिनुलाई पनि महाधिवेशनसँग जोडिएको छ ।पार्टीका सक्रिय राजनीतिमा नरहेका पूर्वसभामुख, पूर्वमन्त्री तथा सांसददेखि पार्टीको पूर्वदाधिकारी तथा कार्यकर्तालाई देउवाले राजनीतिज्ञ सभामा मनोनय गरेका थिए ।

उनीहरुलाई महाधिवेशन प्रतिनिधि चुनेर पठाउन महत्तवपूर्ण भूमिका खेल्न सक्ने पात्रका रुपमा हेरिन्छ । देउवा फेरि सभापति बन्ने उत्कट आकांक्षाका साथ क्रियाशील सदस्यता वितरणदेखि केन्द्रमा मनोनयनबाट प्रभाव जमाउने रणनीतिमा लागेको पाइन्छ ।

पछिल्लो समय उनी आफू निकट नेता कार्यकर्तासँग आन्तरिक रणनीतिमा व्यस्त छन् । तर देउवा समूहभित्रै उपसभापति विमलेन्द्र निधि पनि उपगुट निर्माणको कसरतमा देखिएका छन् । निधि सभापतिका लागि आफू तयार रहेको सन्देश दिन प्रयासरत छन् । 

 


संस्थापन पक्षसँगै उनले संस्थापन इतर पक्षसँग पनि छलफल र संवाद बढाइरहेका छन् । केही दिनअघि निधिले आफूलाई भेटेरै सभापतिमा सघाउन आग्रह गरेको शशांक कोइरालाको दाबी छ ।
तर निधिले देउवासँगको छलफल र सहमति बेगर सार्वजनिक रुपमा सभापतिमा दाबेदारी देखाउन गर्न सकिरहेको अवस्था छैन । १४औँ महाधिवेशनमा देउवा आफै उम्मेदवार भए निधिले आफू उम्मेदवार हुने नहुनेबारे छलफल गर्ने बताउँदै आइरहेका छन् ।

पौडेल समूहमा भद्रगोल
१३ औँ महाधिवेशनमा देउवासँग पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिका लागि आफू तयार रहेको सन्देश दिने गरी आफू निकट नेताहरू आन्तरिक छलफल बढाएको पाइन्छ । सभापतिको सन्देश दिने गरी नेता पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेपछि कार्यकर्तासँगका भेटघाटमा पनि बाक्लिएको छ ।

पछिल्लो समय उनी सभापति देउवाका हरेक निर्णय विरुद्ध आक्रमक देखिन थालेका छन् । देउवाभन्दा एक वर्ष जेठा पौडेलले उमेरका आधारमा मूल्याङ्कन भन्दै देउवा र पौडेलबाटै काँग्रेसमा पुनर्ताजकी सम्भव नभएका विश्लेषणमा चुनौति दिने गरी गतिविधि अगाडि बढाएको देखिन्छ । पौडेल निकट एक नेताका अनुसार पौडेलले संस्थापन इतरमा एकल उम्मेदवार बन्न प्रयास जारी छ ।

पारिवारिक विरासतबाट राजनीतिमा उदाएका शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा आकांक्षा देखाइरहँदा पौडेलले ‘धुलोबाट आएको नेतालाई छोड्न तयार’ रहेको भन्दै विरासतको राजनीति नस्वीकार्ने सन्देश दिए । पौडेल अहिलेसम्म जसरी पनि उम्मेदवार बन्ने तीन नेताको भनाइ छ ।  

पौडेल समूहबाटै महामन्त्री डा. शशांक कोइरालाले आफू पार्टी नेतृत्वका लागि तयार रहेको बताउँदै कार्यकर्तालाई बोलबद्ध बनाउँदै लगेका छन् ।सभापति देउवापछि काँग्रेसमा शशांकसँग पार्टी कार्यकर्ताको पंक्ति बढी छ । उनले आफू निकट नेता कार्यकर्तासँगको. छलफलमा पार्टीभित्रको गुट उपगुट अन्त्यका लागि आफू उपयुक्त पात्र भएको बताउँदै आएका छन् ।

 


उनले पौडेल समूहमा उपगुट निर्माण गरि भावी सभापतिका लागि कसरत बढाइरहेको पाइन्छ । शशांकले हालै मात्र भेटघाटका लागि भनेर महाराजगञ्जस्थित निवाससँगै जोडिएको एक घर भाडामा लिएका छन् ।
महाधिवेशन भएको लामो समय सभापति देउवासँग नजिक देखिएका शशांकले महाधिवेशनको मुखमा छुट्टै गुट बनाएर महाधिवेशनको महोल बढाउँदै गएको पाइन्छ ।

काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पनि आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको उद्घोष गरिसकेको अवस्था छ  । पौडेल समूहमा रहेका सिंह पनि उपगुट निर्माण गरि भावी सभापतिका लागि महोल सिर्जना केन्द्रित देखिन्छन् । उनले बिजुली बजारमा निर्वाचनका समयमा खोलेको सम्पर्क कार्यालयलाई भेटघाटको थलो बनाएका छन् । 
तर चाक्सीबारीस्थित सिंह निवासमा भेटघाट र चहलपहल बढी छ । पार्टी नेतृत्वमा पुग्ने अभिलासासहित गत हिउँदमा देश दौडाहमा निस्किएका सिंह यतिबेला आन्तरिक भेटघाट र छलफलमा व्यस्त भएको पाइन्छ ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला कार्यकर्ताकै बीचमा छन् । कोरोनाको महामारीमाा पनि उनले कार्यकर्तासँगको भेटघाट र छलफललाई जारी राखेको पाइन्छ । पौडेल समूहमा रहेका शेखर जिल्ला तहबाटै गुट निर्माणमा संघर्षरत छन् । उनले केन्द्रदेखि जिल्लासम्म पहुँच विस्तार गर्दै लगेको देखिन्छ ।

उनले कोरोना संक्रमणका बीचमा उपत्यका बाहिर नेता कार्यकर्तासँगको भेटघाटलाई सामाजिक दुरी कायम गरेरै निरन्तरता दिइरहेका छन् ।
काठमाडौंको अनमानगरमा सम्पर्क कार्यालय खोलेका शेखरले विराटनगरको कोइराला निवासमा पनि कार्यकर्तासँगको भेटघाट गर्दै आएका छन् । उनी बढी समय विराटनगरमा कार्यकर्तासँग रमाइरहेको पाइन्छ । 
संस्थापन इतर पक्षबाट सभापतिको एकल उम्मेदवार तय गराउन नेता अर्जुननरसिंह केसीको सक्रियता जारी छ । तर सहमति बन्न नसकेको खण्डमा आफू पनि सभापतिको उम्मेदवारको रुपमा खडा हुनेगरी आन्तरिक रणनीतिमा उनी लागेको देखिन्छ । 

 


काँग्रेस केन्द्रीय कार्यसमितिमा आफूभन्दा सिनियर नेता नभएको दाबी गर्दै नेता केसीले १४ औँ महाधिवेशनमा आफ्नो उम्मेदावरी स्वाभाविक हुने तर्क कार्यकर्ता माझ राख्दै आएका छन् । नेता केसीको निवासमा नेता कार्यकर्ताको चहलपहल बढ्दो छ ।

विशेषतः केसी निवास देउवाविरुद्ध मोर्चाबन्दीको थलो बन्ने गरेको छ । १३ औँ महाधिवेशनमा देउवा टीमबाट महामन्त्रीमा पराजित भएका केसी गत चुनावपछि पुनः पौडेल समूहमा जोडिएका थिए ।
केसीसँग करिब ३ सय बढी महाधिवेशन प्रतिनिधि रहेकोले पौडेल पक्षमा केसी निर्णाय पनि मान्छिन् । 

पौडेल निकट पूर्वसहमहामन्त्री रामशरण महतले पनि आफूलाई सभापतिका रुपमा दावी गर्दै आएका छन् । उनले पनि मिडिया र सभा समारोहमा सभापतिका आकांक्षा दर्शाउँदै आएका छन् ।
यद्यपि गुटविहीन महत आफू सभापति हुनेभन्दा पनि पौडेललाई सभापति बनाउन केन्द्रित रहेको बुझिएको छ ।

सिटौला समूहमा गगनलाई गाह्रो
१३ औँ महाधिवेशनमा पार्टीमा तेस्रोधारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला १४ औँ महाधिवेशनका लागि खुलेर अगाडि सरिसकेको अवस्था छ । उनले महाराजगञ्जमा भेटघाटका लागि कार्यालय नै खोलिसकेका छन् । सिटौलालले कार्यर्तासँगको छलफललाई पनि तीव्रता दिएको उनको सचिवालले बताएको छ ।

केही महिनाअघि गृह जिल्ला झापाबाट १४ औँ महाधिवेशनमा पनि सभापतिका लागि आफ्नो उम्मेदावरी रहने उद्घोष गरेका सिटौलाले त्यही अनुसार गतिविधि पनि बढाइरहेको उनीनिकट नेताहरु बताउँछन् ।
सिटौला केन्द्रमा आफ्नो गुट अस्तित्व कायम गर्दै जिल्ला तहबाट महाधिवेशनको शक्ति आर्जनमा केन्द्रित देखिन्छन् । तर सिटौला समूहकै युवा नेता गगन थापा आन्तरिक छलफलमा लागि रहेको बुझिन्छ । त्यस्तै परे आफू सभापतिको उम्मेदावर हुन पनि पछि नसर्ने थापाको मनसाय देखिन्छ ।


साउन १० मा राजधानीमा काँग्रेसका १३ युवा नेता सम्मेलित कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गरेका थिए  । १३ औँ महाधिवेशनमा सिटौला समूबाट महामन्त्रीको उम्मेदवार भएर पराजित भएका थापाले युवा नेताहरु नेतृत्वमा आउन हिम्मत गर्नुपर्ने बताएका थिए । महामन्त्रीको कसरतमा रहेका थापा बलियो टिममा स्पेस पाउने सम्भावना कमजोर देखिएपछि सभापतिमै उम्मेदवारी दिनेगरी आन्तरिक रणनीति बनाइरहेको उनी निटस्थहरु बताउँछन् । जित्ने गरी महामन्त्रीको उम्मेदावर बन्ने परिस्थिति खडा नभए सभापतिमै चुनौति सामना गर्ने थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप