शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली– देउवा निरन्तर वार्तामा : पौडेलको पक्षको ‘गोप्य’ भेला

शुक्रबार, ०९ साउन २०७७, १८ : ०८
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केही दिनयता निरन्तर छलफलमा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार र शुक्रबार पनि ओली र देउवाबीच छलफल भएको छ । विहीबार ओली र देउवाबीच ‘वान टू वान’ वार्तामा भएको थियो भने शुक्रबारको छलफलमा नेकपा संसदीय दल उपनेता सुवास नेम्वाङ र काँग्रेस नेता रमेश लेखक सहभागी थिए ।

विहीबारको छलफलमा देउवाले लकडाउनपछिको चुनौतीमा विशेष रणनीति बनाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको भनिएको छ । तर शुक्रबारको छलफल संवैधानिक आयोगको नियुक्त प्रक्रियामा केन्द्रित भएको नेम्वाङले रातोपाटीलाई जानकारी दिए । 

नेम्वाङ  र लेखकको साथमा ओली र देउवाबीच शुक्रबार विहान ११ बजे करिब १ घण्टा छलफल भएको हो । नेम्वाङले उक्त छलफललाई विगतको छलफल कै निरन्तरता भएको बताए । संवैधानिक आयोगका सम्बन्धमा गत असार १७ गते प्रधानमन्त्री ओली र देउवाबीच ‘गोप्य’ भेटवार्ता भएको थियो । 

२१ असारमा प्रधानमन्त्री ओलीका दूत बनेर नेम्वाङले सभापति देउवालाई भेटेका थिए । उक्त भेटमा देउवासँग भएको कुराकानीबारे नेम्वाङले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । देउवाले राखेको कुराबारे प्रधानमन्त्रीको जवाफबारे सोही दिन देउवालाई फोन गराएर नेम्वाङले सुनाइ दिएका थिए । नेपाली राजनीतिमा उक्त भेटको चर्चा सेलाउन नपाउँदै ८ साउन (हिजो) प्रधानमन्त्री र देउवाबीच पुनः भेटवार्ता भयो ।

नेम्वाङले भने, ‘हिजोको बैठकमा के भयो थाहा छैन । संवैधानिक आयोगका सम्बन्धमा सायद हिजो छुस्स कुराकानी भयो होला । आजको छलफल चाहि विगतकै छलफलको निरन्तरता हो । विभिन्न संवैधानिक आयोगका कसरी बनाउने ? के गर्ने ? संवैधानिक परिषदको बैठक अहिलेसम्म बस्न सकेको छैन । कहिले राख्नुहुन्छ भन्ने लगायतका विषय छलफल भयो ।’ 

संवैधानिक आयोगका विषयमा छलफल भए पनि कुनै सहमति भने हुन नसकेको नेम्वाङले बताए । सहमतिका लागि आइतबार फेरि देउवार ओलीबीच छलफल हुने बुझिएको नेम्वाङले बताए ।

ओली- देउवा विपक्षीको विमति

यद्यपि नेकपाभित्रको सत्ता संघर्ष जारी नै रहेको बेला ओली र देउवाबीच निरन्तर भइरहेको भेटवार्तालाई काँग्रेस र नेकपा विपक्षी खेमाले गम्भीर रुपमा नियाली रहेको छ ।

प्रधानमन्त्रीले पार्टीभित्र कुनै छलफल नै नगरी निर्णय र नियुक्त गर्ने गरेको भन्दै नेकपाभित्र विवाद छ भने देउवाले पनि पार्टीभित्र छलफल नगरी प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेको विषयमा अर्को पक्षले विमति प्रकट गरेको छ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँग पार्टी सभापतिको उठ बसबारे विमति प्रकट गरे । उनले रातोपाटीसँग भने, ‘पार्टीभित्र केही छलफल भएको छैन । शेरबहादुरजीका व्यक्तिगत कुरा के के छन् ? शेरबहादुजी किन जानुभएको हो थाहा पनि छैन । पार्टीका निर्णय लिएर सरकारसँग जानुपर्ने थियो । तर उहाँ कसरी जानुभयो थाहा छैन ?’

प्रधानमन्त्रीसँगको भेटबारे आफूहरुलाई अहिलेसम्म कुनै पनि जानकारी नगराइएको पौडेलले बताए ।  ‘उहाँको यही कार्यशैली त मन नपरेको हो । केन्द्रीय समिति बैठकमै सरकारसँगको उठ बसका सम्बन्धमा सचेतक हुनुपर्ने कुरा उठाएका थियौँ । सरकारले कोरोना रोकथामा र नियन्त्रणका नाममा गरिद गरिएको स्वास्थ्य साम्रगीमा ठूल ठूला भ्रष्टचारका काण्डहरु छन् । वाइटवडीका काण्ड, एनसेलको भ्रष्टचारको काण्ड, गोकर्ण रिसोर्टको काण्ड पनि छ,’ देउवाको कार्यशैलीप्रति आक्रोशित हुँदै पौडेलले भने, ‘सारा भ्रष्टचारका काण्ड दबाउन लागेर प्रधानमन्त्री नै भ्रष्टचारको संरक्षण हुनु भएको छ । त्यसलाई हाम्रो पार्टीले भण्डाफोर गर्न नसक्ने हो भने पार्टी अस्तित्व रहन्छ ? विपक्षी दलको जिम्मेवारी यसरी पूरा हुन्छ भन्ने मेरो कुरा हो ।’
 
तर प्रधानमन्त्री ओली र विपक्षी नेता देउवाको भेटलाई स्वाभाविक मान्नुपर्ने ओली- देउवा पक्षको तर्क छ । लामो समयदेखि संवैधानिक आयोग रिक्त अवस्थामा रहेकाले ओली र देउवाले छलफललाई तीव्रता दिएको बुझिएको छ । संविधान बनेको ५ वर्ष हुनै लाग्दा पनि १३ संवैधानिक आयोगमध्ये ११ वटामा ४० पद रिक्त रहेको अवस्था छ । मधेसी, थारू र मुस्लिम आयोगमा अध्यक्ष मात्र नियुक्त गरिएको छ । 

यी तीनै आयोगमा चार–चार जना सदस्य रिक्त छन् । समावेशी आयोग अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि पदाधिकारीविहीन अवस्थामा छ । संविधानअनुसारका महिला, दलित र आदिवासी जनजाति आयोगमा अध्यक्ष नियुक्त हुन सकेको छैन । यी आयोगमा अध्यक्षसहित अन्य चार–चार जना सदस्य रहने संवैधानिक व्यवस्था छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद रिक्त छ । दीप बस्न्यातको कार्यकाल समाप्त भएपछि आयुक्त नविन घिमिरे प्रमुख आयुक्त भएका थिए । उनको कार्यकाल पनि सकिँदै छ । अर्का आयुक्त राजनारायण पाठक घुसकाण्डमा परेपछि राजीनामा दिएका थिए ।

यस्तै, निर्वाचन आयोगमा आयुक्तहरू इला शर्मा र सुधीर शाहको कार्यकाल सकिएपछि रिक्त पदमा नियुक्ति भएको छैन । यस्तै प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल अध्यक्ष नियुक्त भए पनि अन्य चार सदस्य पद रिक्त छ । वर्तमान सरकार बनेको साढे दुई वर्ष भइसक्दा पनि राजनीतिक भागबण्डाको निहीत स्वार्थ बाधक बन्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्तिमा कुरा नमिल्दा निर्णय प्रक्रिया रोकिएको बुझिएको छ ।

तर नेकपा नेता नेम्वाङल  र काँग्रेस नेता लेखकले भने उक्त कुरा अस्वीकार गरे । लेखकले भने, ‘कुनै ठाउँमा गाठो परेको वा कुरा नमिलेको वा त्यसैमा रस्साकस्सी भएको छैन । आजको छलफलमा एक छिन बसेर फेरि बसौला भनेर दुबै जना उठ्नु भएको हो ।’ देउवाले शनिबार आफू निकट नेताहरुसँग छलफल गरेर आइतबार प्रधानमन्त्रीसँग छलफलमा बस्ने योजना बनाएको बुझिएको छ ।

पौडेल पक्षको गोप्य भेला

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा छलफल जलिरहेको बला वरिष्ठ नेता पौडेल समूह आन्तरिक रणनीति बनाउन गोप्य भेलामा बसिरहेको थियो । शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा विहान ११ बजे पौडेल पक्षबीच गोप्य भेटवार्ता भएको हो ।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, सुजता कोइराला र शेखर कोइराला सहभागी थिए । 

बैठकमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘ महाधिवेशनमा विषयमा सहमति गरेर कसरी अगाडि बढ्ने भन्नेमा छलफल भयो । साथै तोकिएको मितिमा महाधिवेशनको सुनिश्चिताका लागि हामीहरु क्रियाशील रहनेमा छलफल केन्द्रित थियो । अन्य कुनै निर्णय भएको छैन ।’

आफ्नो समूहलाई एकताबद्ध कसरी बनाइ राख्ने भन्नेबारे छलफल भएको ती नेताको भनाइ छ । देउवाले पार्टीका केन्द्रीय विभाग गठन र विस्तारमा जोड दिएपछि पौडेल पक्षका नेताहरु भेला भएर आफू निकट कार्यकर्तालाई देउवा क्याम्पमा जानबाट रोक्ने रणनीति बनाएको बुझिएको छ ।

यस्तै आफ्नो समूहबाट महाधिवेनमा एककल उम्मेदारीका तय गर्न पछिल्लो समय पौडेल पक्ष निरन्तर छलफलमा छ । आफूहरु एक हुन नसके आगामी महाधिवेशनमा पनि देउवालाई रोक्न नसकिने निष्कर्षमा पुगेको पौडेलल समूह आन्तरिक समितिको खोजिमा छ ।

पौडेल पक्षले पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलालाई पनि जोड्ने कोशिस गरिरहेको छ । तर सिटौला देउवा वा पौडेल पक्षमा समाहित हुने पक्षमा देखिँदैनन् । बोलाउँदा पनि सिटौला पौडेल पक्षको भेलाका सहभागी हुने गरेको छैन ।

आजको छलफलमा आन्तरिक रणनीतिका साथै प्रधानमन्त्री ओलीसँग सभापति देउवाको बाक्लिदो भेटवार्ताबारे छलफल भएको ती नेताले बताए । 

उनले भने, ‘नेकपाको सत्ता संघर्षका पार्टीलाई निरपेक्ष राख्न हामीले आग्रह गर्दा गर्दै सभापतिजी प्रधानमन्त्रीसँग निरन्तर छलफलमा हुनुहुन्छ । संवैधानिक आयोगमा नियुक्तको विषय भए पार्टीभित्र किन छलफल गरिराख्नु भएको छैन ? प्रश्न यहाँनिर छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप