शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा फेरि सुरु भयो महाधिवेशनको बहस : फागुनमा कति सम्भव ?

शुक्रबार, ०५ असार २०७७, १६ : १४
शुक्रबार, ०५ असार २०७७

काठमाडौँ । नेपाली काँग्रेसमा कोरोना महामारीले चार महिनादेखि रोकिएको महाधिवेशनको बहस फेरि सुरु भएको छ । काँग्रेसमा ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी भइरहेको गतिविधिमा कोरोना सन्त्रासले ब्रेक लागेको थियो ।

कोरोना महाकारीलाई मध्येनजर गरी गत चैत ९ गतेदेखि लागु हुनेगरी काँग्रेसले क्रियाशील सदस्यता वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा सकृय हुने पार्टीपंक्तिलाई निर्देशन दिएको थियो ।

त्यसपछि पछिल्लो चार महिना कोरोना नियन्त्रणमा सरकारलाई सुझाव र दबाब दिन केन्द्रित भएको काँग्रेस अब पार्टीको महाधिवेशनको विषयमा पनि गतिविधि बढाउने तयारीमा छ ।

नागरितकताको विषयमा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार शीर्ष नेताहरुबीच भएको छलफलमा वरिष्ठ नेता राचन्द्र पौडलले महाधिवेशनको विषय उठाएका थिए । महाधिवेशनको कार्यतालिका परिमार्जन गरि विस्तारै गतिविधि सुरु गर्नेपर्नेबारे आफूले कुरा उठाएको पौडले जानकारी दिए ।

रातोपाटीसँग पौडलले भने, ‘अस्ति साभपतिको घरमै गएर (अनौपचारिक) पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर काम अगाडि बढाउने पर्ने भन्ने कुरा राखिसकेको छु । सभापतिजीले हुन्छ भन्नु भएको छ । छिट्टै पदाधिकारी बैठक बोलाएर यसबारे केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने भन्नुभएको छ ।’

आगामी फागुन ७ गतेको लक्ष्यलाई पुरा गर्ने गरी कार्यतालिका ल्याउनुपर्नेमा उनको जोड छ । ‘जसरी हामीले अरु व्यवहार चलाउछौँ । त्यसै गरी  अधिवेशनको व्यवहार पनि चलाउनु नै पर्छ । आगामी फागुन ७ गतेको लक्ष्यलाई पुरा गर्ने गरी कार्यतालिका ल्याइन्छ । यसका लागि पदाधिकारी र केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्छौँ,’ पौडेलले भने ।

०७२ फागुन २०–२३ सम्म राजधानीमा भएको १३ औँ महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी एक वर्षको कार्यकाल बढाएर कार्यतालिका ल्याएका थिए ।

पार्टी विधानअनुसार अघि बढेको भए गत फागुन २० सम्ममा १४ औँ महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको ५ महिना भइसक्थ्यो ।

पार्टी विधानले असाधारण स्थिति उत्पन्न भए मात्रै एक वर्ष कार्यकाल बढाउन सकिने व्यवस्थामा टेकेर देउवाले सांगठनिक संरचनाको समायोजन र पुनर्गठन गर्न नसकेको स्थितिलाई असाधारण मानेर कार्यकाल लम्ब्याएका थिए ।

पौडल पक्षले महाधिवेशनको ताकेता गर्दागर्दै पनि कोरोनाका कारण त्यो लम्ब्याइएको समयमा पनि महाधिवेशन नहुने सम्भावना बढ्दै गएको छ ।

काँग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ तोकिएकै  मितिमा महाधिवेश सम्पन्न गर्न प्रयास गरिने बताउँछन् । ‘अहिलेसम्म निर्धारित समयमा महाधिवेशन गर्ने लक्ष्य छ । लकडाउन खुकुलो हुँदै गएको छ । त्यही अनुसार साथी भाइले जिल्ला–जिल्ला र गाउँ–गाउँमा काम पनि अगाडि बढाउनुहुन्छ,’ उनले भने, ‘अहिलेसम्मको हिसाबले निर्धारित समयमा महाधिवेशन गर्छौ भनेको सक्छौँ । कोरोनाको अवस्था के हुन्छ बाँकी कुरा त्यसले निर्धारण गर्छ ।’

महाधिवेशनको कार्यतालिका अनुसार वर्कआउटमा सक्रिय केन्द्रीय सदस्य रमेश लेखकले महाधिवेशनका गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे छलफल भइहेको बताए । उनले भने, ‘नेताहरुबीच महाधिवेशनको कुरा चलेको मैले बुझेको छु  । पार्टीका नेताहरु बसेर फागुनमा महाधिवेशन गर्न के कति सम्भव छ भनेर छलफल चलाउनुपर्यो । क्रियाशील सदस्यता कति दिनमा नविकरण गर्न सक्छौँ, साधारण सदस्यता कतिदिनमा वितरण गर्न सक्छौँ, स्थानीय तहको अधिवेशन कति दिनमा गर्न सक्छौँ, प्रदेशको अधिवेशन कतिदिनमा सक्छौँ र केन्द्रको अधिवेशन कति दिनमा सक्छौँ ।’

काँग्रेसको नयाँ पार्टी संरचना अनुसार स्थानीय स्तरमा मात्र ५ वटा अधिवेशन हुन्छन् । त्यसपछि मात्र सात वटा प्रदेशको अधिवेशनको प्रक्रिया सुरु हुन्छ । काँग्रेसले गाउँ र नगर वडा अधिवेशन २०७७ साल मंसिर ९ गते, गाउँ र नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते, जिल्ला अधिवेशन मंसिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गतेका लागि तय गरिसकेको छ ।

फागुनमा महाधिवेशन गर्न अब नौ महिना मात्र बाँकी छ ।

त्यसैले कोरोनाले निम्त्याउने अवस्थाले नै महाधिवेशनको समय निर्धारण हुने लेखकको बुझाइ छ । उनले भने, ‘नौ महिना बाँकी रहेकाले फागुनमा महाधिवेशन गर्नका लागि बलगर्ने कुरा ठीक हो । त्यसका लागि प्रयास गर्नुपर्छ । तर कोरोना कुनै स्थितिसम्म काममै रहने अवस्था कति रहन्छ । कोरोना एकाध महिनामा सकियो भने फागुनमा महाधिवेशन हुन्छ । सकिँदैन भने महाधिवेशन केही समय लम्बिन सक्छ ।’

त्यो लम्बिने समय संविधानमा राजनीतिक दल सम्बन्धी प्रावधानमा टेकेर थप ६ महिना थप्न सकिने कुरातिर लेखकले इंकित गरेको बुझ्न सकिन्छ । लेखकले सबैभन्दा जटिल विषयका रुपमा क्रियाशील सदस्यता नविकरण र वितरण गरिसकेपछि त्यसमा उत्पन्न हुने विवादको व्यवस्थापनलाई लिए ।

उनले भने, ‘महाधिवेशनको सबै प्रक्रियाबीच एउटा जटिल प्रक्रिया छ । क्रियाशील सदस्यता नविकरण र वितरण गरिसकेपछि त्यसमा उत्पन्न हुने विवादको व्यवस्थापन बढो समय लाग्छ ।’

यो विषयमा १३ औँ महाधिवेशनमा नरहरि आचार्यको संयोजकत्वमा रामकृष्ण यादव र लेखकले काम गरेको थिए ।  त्यतिबेलाको अनुभव सुनाउँदै लेखकले भने, ‘यो साह्रै जटिल काम छ । यसका लागि निकै समय चाहिन्छ ।’

काँग्रेस नेताहरुका अनुसार लकडाउन अलिकता खुुकुलो भएकोले काम गर्न समिन्छ कि भन्ने स्थिति देखिन्छ । लेखकका अनुसार तर काँग्रेसको सदस्यता वितरण जटिल खालको छ । प्रत्येक वडामा नयाँ क्रियाशील सदस्यता वितरणका लागि त्यो वडाभरीका सबै क्रियाशील सदस्यलाई भेला गराएर को–कोलाई दिने भनेर छलफल गराउनुपर्छ ।

क्रियाशील सदस्यता महाधिवेशनलाई प्रभावमा पार्ने मुख्य अस्का रुपमा हेरिन्छ । विधानले जहिलेसुकै बाँड्न सकिने व्यवस्था गरे पनि यो सदस्यता महाधिवेशनकै मुखमा वितरण गर्न काँग्रेसमा प्रचलन बनिसकेको छ ।

काँग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । अगामी दिनमा त्यसलाई दश लाख बनाउने काँग्रेसको लक्ष्य छ ।

महाधिवेशनमा क्रियाशील सदस्यहरुको सोझै प्रभाव रहँदैन । तर गाउँ वडा र नगर वडा अधिवेशनमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि चुनेर पठाउँछन् र क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि चुन्छन् ।

उनीहरू नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । त्यसैले क्रियाशील सदस्यता नविकरण र विचरणका विषयमा काँग्रेसभित्र महाधिवेशनका बेला रडाको मच्चिँदै आएको छ ।

उनले भने, ‘यो प्रक्रिया कोरोनाको महामारीबीच कति गर्न सकिन्छ, के गर्न सकन्छि यसबारे पार्टीले छलफल गर्छ र हामी निर्णयमा पुग्छौँ ।’ उनी कोरोनाको परिस्थिति लम्बियो भन्ने महाधिवेशन केही दिन लम्बिन सक्ने बताउँछन् । तर  नेपालमा कोरोना बढ्दै गइरहेकाले कहिले नियन्त्रणमा आउँछ भन्नेबारे विज्ञ नै अनविज्ञ छन्।

लेखकका अनुसार कार्यतालिका जारी भइसकेपछि सबै साथीहरु उत्साहित भएर काममा लाग्ने तयारी भइसकेको थियो । तर कोरोनाको प्रकोपका कारणले गाउँदेखि केन्द्रसम्मका काँग्रेस महाधिवेशन केन्द्रित सबै काम रोकिएको छ ।

रोकिएका कामलाई पुनर्ताजकी दिन आवश्यक भएको काँग्रेसका आवाज उठिरहेको छ । लेखकले भने, ‘हामीले बनाएको तालिका काम लाग्दैन । किन भने आजसम्म क्रियाशील सदस्यताको नविकरण र वितरण गरिसकेर त्यसको छानबिनको प्रक्रियामा प्रवेश गरि सक्नुपथ्र्यो । फेरि पुनः तालिका ल्याउनु पर्ने भयो । त्यसका लागि केन्द्रीय समिति बैठक बसेर पुन : तालिका बनाएर काम सुरु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप