शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णयमा पुग्यो सरकार

बुधबार, २१ साउन २०७७, १९ : ३९
बुधबार, २१ साउन २०७७

काठमाडौं । सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो । 
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुने  छ ।  यस्तै काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका शहरी इलाकामा आवगमनमा रोक लगाउने निर्णय पनि सरकारले गरेको छ । 

 


                                 

लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।

सरकारको निर्णयपछि पनि व्यवसायीले विभिन्न माग राखेर यातायात सञ्चालनमा गर्न मानेका थिएनन् । विभिन्न चरणको छलफलमा उनीहरुको माग सम्बोधन गर्न सरकार तयार भएपछि साउन ८ देखि यातायातका साधन सञ्चालनमा आएका थिए । यद्यपी लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैन । 


सरकारले साउन ९ गतेमध्यरातदेखि लागू हुनेगरी लकडाउन हटाउने निर्णय गरेको थियो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारको भनाइ छ । 

सरकारले लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने सरकारले सञ्चालन अनुमति दिएको छैन । 

यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरिसकेको छ । सेमिनार र भेला भने गर्न भने दिइएको छैन । 

यसैगरी भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ । 

यसैगरी सरकारले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय  पूर्ववत् रुपमा सञ्चालन भइसकेका छन् । 

सरकारले लकडाउन खोजेर अवस्थालाई सामान्यीकरण गर्न खोजिरहेकाे बेला संक्रमितको संख्या बढ्न थालेसँगै फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । 
यस्तै संक्रमण न्यूनीकरणका लागि पुनः लकडाउन गर्नुपर्ने आवाज समेत उठेको छ । मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलमा १५ दिन  कडाखालको लकडाउन गर्न सुझाव आएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप