शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

युवतीको ‘इग्नोर’को बदलामा एसिड हानेपछि मदिरा पार्टी !

शुक्रबार, ०९ साउन २०७७, १५ : ५४
शुक्रबार, ०९ साउन २०७७

काठमाडौँ । मोहम्मद आलम उमेरले ४७ पुगे । तर, उनी आफ्नो गार्मेन्ट कारखानामा संयोगले करिब एक महिना काम गर्न आइपुगेकी २२ वर्षीया युवतीलाई मन पराउँथे ।

एक महिनापछि काठमाडौँको एक पाँचतारे होटलमा काम मिलेपछि युवतीले त्यहाँ काम छाडिन् । तर, आलमले उनलाई पछ्याइरहे । दिदीसँग बाफलमा बस्ने उनको कोठामा आलम आउनेजाने गर्थे । उनका दुई दिदीले लामो सयम आलमको गार्मेन्ट कारखानामा काम गरेका थिए ।

गार्मेन्ट कारखानाको मालिक आलमले फोन र एसएमएस गरेर हैरान गरेपछि युवतीले पछिल्लो एक महिनायता सम्पर्क बन्द गरिन् । फेसबुकमा ब्लक गरिन्, फोन पनि ‘कालो सुची’मा राखिन् ।

विहीबार नयाँ नम्बरबाट युवतीको मोबाइलमा फोन आयो । २८ औँ पटक उनले ‘इग्नोर’ गरिन् । २९ औँ कल उठाउँदा उनै पुराना साहुजी बोले ।

‘आज एकपटक भेटेर कफी खाउँ नँ’ आलमले आग्रह गरे । धेरै नै आग्रह गरेपछि युवती साँझ आलमलाई भेट्न सीतापाइला चोकमा गइन् ।

चोकमा कफी पिएपछि आलमले मोटरसाइकलमा डेरासम्म छाडिदिन्छु भने । युवतीले भनिन्, ‘पर्दैैन दाई, हिँडेर जान्छु ।’ आलमले कर गरेपछि उनी मोटरसाइकलमा  चढिन् । घरनजिक करिब २० मिटरको दुरीमा युवतीलाई पुर्याएर आलम फर्किए ।  

मोटरसाइकलबाट ओर्लेको केहीबेरमै युवती चिच्याइन, ‘आईया !’ पसलमा दहि किनेर डेरातर्फ जाँदै गरेकी उनलाई बाटोमा कुरेर बसेका एक युवाले एसिड छ्यापे । रुँदै घर गइन, दिदीले तत्कालै उनलाई अस्पताल लगिन् ।


सात दिनदेखिको योजना

आफुले मन पराएको युवतीले ‘इग्नोर’ गरेपछि आलमले एक साताअघि नै उनलाई एसिड छ्याप्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो योजना उनले गार्मेन्ट कारखानाका कालीगढ फैयाज आलम उर्फ मुन्नासँग सेयर गरेका थिए ।

योजनाअनुसार उनले पहिला नै मुन्नालाई युवतीको घर छेउको मकैबारीमा लगेर राखेका थिए । सीतापाइला चोकमा युवती र आलम चिया पिउँदै गर्दा मुन्ना एसिड छ्याप्ने व्यग्र प्रतिक्षामा थिए ।

मोटरसाइकलबाट ओर्लिएर युवतीले दहि किनिन् । बाटोमा कुरेर बसेका युवाले रक्सीको बोतलमा बोकेको एसिड फाले । एसिड छ्यापेपछि मुन्ना दौडिएर मुल सडकतर्फ अगाडि बढे, जहाँ मोटरसाइकलमा रौतहट लक्ष्मीपुर गाउँपािलका–४ घर भएका आलम कुरिरहेका थिए ।


अनि, मदिरा पार्टी

एसिड हानेपछि उनीहरु डल्लु फर्किए । एसिड लगेको बोतल विष्णुमतिमा फालेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । ‘डल्लु फर्केर उनीहरुले मदिरा पाटी गरेको’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतले भने ।

‘आफ्नो अनुचित हर्कत अस्विकार गरेपछि योजना बनाएर एसिड छ्यापेको अनुसन्धानबाट खुलेको छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।

योजना सफल भएपछि मुन्नाले बोकेको मोबाइलको सिमकार्ड निकाले । आलमले आफ्नो मोबाइलको ‘कल लग’ बाट मुन्नाको नम्बर मेटाए ।

‘झोला तयार गरेर बिहीबार राती नै मुन्नालाई भारत भगाउने उनको योजना रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘ट्वाइलेट सफा गर्दा बाँकी रहेको एसिड छ्यापेको खुलेको छ ।’ बिहीबार राती नै महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

साधारण लेखपढ मात्र भएका २३ वर्षीय मुन्नाले आफुलाई ‘साहुको योजना केही थाहा नपाएको’ प्रहरीसमक्ष बयान दिएका छन् । 

यस्तै पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन हिासतमा राखेर प्रहरीलाई अनुमति दिएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप