मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एकतर्फी प्रेमको परिणाम : 'बहिनी'भन्दै मोटरसाइकलमा कोठासम्म लगिदिए, कामदार प्रयोग गरेर एसिड छ्यापे

मुन्नाको बयान, ‘साहुले भनेपछि हानेँ’
शुक्रबार, ०९ साउन २०७७, ०९ : ४२
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । रौतहटका मोहम्मद आलम र ओखलढुंगाकी २२ वर्षीया युवतीबीच बिहीबार साँझ डल्लुमा भेट भयो । पूर्वपरिचित आलमले युवतीलाई मोटरसाइकलमा बाफल चोकमा लगेर छाडिदिए र उनी कोठातिर लागिन् ।
फेरि कोठाबाट निस्केर चोकमा दही चिउरा किनेर फर्किँदै गर्दा मकैबारीमा लुकेर बसेका अपरिचितले उनलाई एसिड फ्याँके । मुख, घाँटी र कपालमा एसिडले पोल्न थाल्यो, उनी चिच्याइन् । 

एसिड आक्रमणमा संलग्न भारतीय नागरिक मुन्ना मोहम्मद र मोहम्मद आलमलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको केही घण्टामा पक्राउ गरेको छ । सीसीटीभी फुटेको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 


कामदारको प्रयोग 
डल्लुमा मोहम्मद आलमको ब्याग कारखाना छ । त्यहाँका कामदार हुन्, भारतीय नागरिक मुन्ना । 
आफूले ‘बहिनी’ भन्ने गरेको परिचित युवतीलाई बाफलमा छाडेपछि आलम मोटरसाइकल लिएर कारखानामा आए । त्यहाँबाट मुन्नालाई लिएर बाफल चोक गए । रक्सीको बोतलमा भरिएको एसिड दिँदै उनले मुन्नालाई भने, ‘त्यो केटी आएपछि मुखमा लाग्नेगरी बोत्तलले हान्नु, अनि गाडी खुलेपछि भारत जानु ।’ 

साहुको निर्देशन अनुसार मुन्ना बाफलको रोडमा रहेको मकैबारीमा लुकेर बसे । मकैबारी नजिकै युवती बस्थिन् । आलमले भनेको युवती आएको देखेपछि उनले एसिड फ्याके । उनी चिच्याउन थालिन् । 
आलम नजिकै बसेर सो घटना नियालिरहेका थिए । एसिड फ्याकेपछि उनले मुन्नालाई लिएर कारखानामा गए । 

‘राति ११ बजेतिर हामीले आक्रमणका योजनाकार सहित दुवैलाई नियन्त्रणमा लियौं’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दीपक थापाले भने, ‘मुन्नाले साहुकै योजनामा एसिड हानेको स्वीकारेका छन् ।’ 
एसिड आक्रमणका योजनाकार आलमले पीडित आफ्नो ‘बैनी जस्ती’ भएको बताएका छन् । राजधानीको पाँचतारे होटलमा एकाउन्टेन्ट रहेकी युवतीले पनि ‘आलम मेरो दाइजस्तो मान्छे’ भनेकी छिन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । 

अर्को केटा मन पराएपछि...
आलम ती युवतीलाई मन पराउँथे, तर भन्न सक्दैनथे । अर्थात आलम ती युवतीसँग एकतर्फी प्रेममा थिए । यहीबीचमा युवतीले अर्को केटालाई मन पराएपछि आलमले एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

घटनास्थलको सिसिटीभी फुटेज र फोन कलको आधारमा मुन्ना र आलम पक्राउ परे । एसिड आक्रमणपछि आलमले युवतीको मोवाइलमा एनसेल नम्बरबाट दर्जनौं पटक मिसकल गरेको भेटेपछि प्रहरीले उनलाई खोजेको थियो । 
आक्रमण योजना सफल भएपछि उनि कारखाना नजिकै रहेको कोठामा गएका थिए । मुन्न कारखाना मै बस्थे । 

अभियुक्तको बयान भिडियोमा

मुन्नाको बयान, ‘साहुले भनेपछि हानेँ’ 
व्याग कारखानाका कालिगढ मुन्ना मोहम्मदले ‘साहुले भनेपछि एसिड फ्याँकेको’ बयान दिएका छन् । ‘मलाई धेरै कुरा थाहा थिएन, रक्सी जस्तो लागेको थियो’ मुन्नाले प्रहरीसँगको भिडियो बयानमा भनेका छन्–‘युवतीलाई बोतल फ्याँकेपछि भारत जानु भनेको थियो ।’ 

रक्सीको बोतलमा भएको एसिड उछिट्टिएर आफ्नो पनि हात पोलेको उनले बताएका छन् । एसिड फ्याँकेपछि साहुले आफूलाई मोटरसाइकलमा कारखाना ल्याएको बयान दिँदै मुन्नाले त्यसबाहेक आफूलाई केही थाहा नभएको बताएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप