शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली–प्रचण्ड संवाद ठप्प, ‘जबज’बारे निर्णय गर्न प्रचण्डलाई कठिन

बिहीबार, ०८ साउन २०७७, १९ : ०१
बिहीबार, ०८ साउन २०७७

काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि सत्तारुढ दल नेकपाले जारी स्थायी समिति बैठक स्थगित गरेर संवादका लागि समय उपलब्ध गराए पनि शीर्ष नेताबीच संवाद अघि बढ्न सकेको छैन । बैठक स्थगित भएको तेस्रो दिन बित्न लाग्दा पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच संवाद हुन नसकेको हो । 

बरु ओलीले बिहीबार प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । तर ओली र प्रचण्डबीच भेटवार्ता र संवाद हुन नसकेको उनीहरुका सचिवालयले पुष्टि गरेका छन् । 
‘मङ्गलबारयता दुई अध्यक्षबीच कुनै भेटवार्ता र संवाद भएको छैन । दुई अध्यक्षबीचको भेटवार्तालाई हामीले त्यति धेरै नोटिसमा पनि राखेका छैनौँ । भयो भने तपाईंहरुले नै समाचार बनाइहाल्नु हुन्छ’, ओलीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले रातोपाटीसँग भने, ‘भोलि, पर्सितिर हुन पनि सक्छ ।’ 


के सहमति टाढिएको हो त ? भन्ने प्रश्नमा सल्लाहकार थापाले भने, ‘कुरा प्रस्ट छ, उहाँहरुले माने सहमति हुन्छ, नमाने हुँदैन’, थापाले जनताको बहुदलीय जनवादबारेको प्रस्तावतिर सङ्केत गर्दै भने, ‘के गर्ने, उहाँको निर्णय हो ।’
ओली–प्रचण्ड संवाद अघि नबढे पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग भने प्रचण्डको निरन्तर संवाद भइरहेको छ । बुधबार साँझ मात्रै प्रचण्ड र नेपालबीच झण्डै दुई घण्टा संवाद भएको हो । उक्त संवादमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । प्रचण्ड र नेपालबीच वार्ता भए पनि आफू निकटका स्थायी समिति सदस्यहरुसँग भने उनीहरुले पनि छलफल गर्न सकेका छैनन् । 
प्रचण्ड र नेपालले आफू निकटका नेताहरुसँग सामूहिक छलफल गर्ने र ओलीमाथि दबाब बढाउने योजना बनाउने बताएका थिए । 

‘हामी हामी बीचमै पनि छलफल हुन सकेको छैन । बुधबार गर्ने भनिएको थियो तर भएन । बिहीबार पनि हुन सकेन’, प्रचण्ड निकटका एक स्थायी समिति सदस्यले भने, ‘स्लाइड्ली पछि हटेजस्तो नै देखिन्छ ।’  
नेकपाले आफ्ना नेता कार्यकर्तालाई बाढी पहिरो तथा विपद्मा परेका नागारिकको उद्धार र राहतमा केन्द्रित हुन अपिल गर्दै साउन १३ गतेसम्मलाई स्थायी समिति बैठक स्थगित गरेको थियो । तर नेताहरुको मनोविज्ञान १३ गतेको बैठक पनि नराख्ने नै बुझिन्छ । 

बैठक स्थगित गरेपछि नेताहरुबीच संवादमार्फत निकासको खोजी हुने नेता कार्यकर्ताको अपेक्षा थियो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले पनि प्रधानमन्त्री र प्रचण्डबीच दुई दिनयता कुनै भेटवार्ता र संवाद हुन नसकेको पुष्टि गरे । 


‘मङ्गलबारपछि अर्का अध्यक्षसँग कुनै भेटवार्ता भएको छैन । बुधबार वामपन्थी नेता बर्मन बुढालाई अन्तिम श्रद्धाञ्जलि दिन आर्यघाट जानुभयो । फर्केपछि निवासमै सामान्य भेटघाटमै दिन बित्यो’, सापकोटाले भने, ‘बिहीबार पनि अहिलेसम्म भेटवार्ताका लागि कुने समय तय भइसकेको छैन ।’ 

दुई अध्यबीच नै संवाद टाढिएपछि नेकपाको विवाद पनि थप लम्बिने निश्चित भएको एक स्थायी समिति सदस्यले बताए । ‘उहाँहरुबीच संवाद नै हुन सक्दैन भने निकास त झन् टाढाको विषय बन्ने देखियो’, ती स्थायी समिति सदस्यले निराशायुक्त भाषामा रातोपाटीसँग भने, ‘सेफल्यान्डिङ केलाई बनाउने भन्ने नै नभएपछि वार्ता र संवाद नभएको पनि हुनसक्छ । अर्कोतर्फ यिनीहरुले देश र जनताभन्दा पनि आफ्नो स्वार्थ बढी हेर्दा बन्धकको अवस्था आएको हो ।’
ती सदस्यका अनुसार नेकपाभित्रको विवाद र आन्तरिक सङ्घर्ष केटाकेटीखेल जस्तै बन्न पुगेको छ । ‘साना केटाकेटीहरु हेक्का नराखी खेल सुरु गर्छन् । खेल्दाखेल्दै कुरा नमिलेपछि झगडा गर्छन् । अनि आफै पनि मिल्छन् तर नेताहरुको यो खेलले देश, जनता र कार्यकर्तालाई असर पार्छ’, नेपाल निकट ती स्थायी समिति सदस्यको भनाइ छ । उनका अनुसार परिस्थितिलाई टालटुल पार्ने दिशाको खोजीमा दुवै पक्ष लागेका छन् ।
पार्टी विवादमा प्रचण्ड आफैले ओलीको राजीनामा मागेको र ओलीले राजीनामा कुनै हालतमा नदिने अडान र दिनुपरे जबजको सर्त मान्नुपर्ने विषयले समस्याको गाँठो फुक्नुको साटो थप कसिएको धेरै नेता कार्यकर्ताको बुझाइ छ । 
असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो । मङ्गलबार बाढी पहिरोको बहानामा बैठक स्थगित गरे पनि नेताहरुबीच संवाद होला र निकास निस्केला भन्ठानेका नेकपाका नेता कार्यकर्ताले भने निराशा व्यक्त गर्न थालेका छन् ।

प्रचण्ड–नेपाल सहकार्यमाथि प्रश्न 
पार्टी र सरकार सञ्चालनमा पूर्णतः ओली असफल भइसकेको निष्कर्ष प्रचण्ड–नेपाल समूहले निकालेका थिए । सोही आधारमा प्रचण्डले बैठकमै ओलीको राजीनामा मागेका थिए । त्यसमा बरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले साथ दिएका थिए ।

तर ओली कुनै हालतमा राजीनामा दिन तयार भएनन् । बरु पछिल्लो पटक ओलीले राजीनामा नदिने बरु, अर्ली महाधिवेशन, केन्द्रीय समिति लगायतका विभिन्न प्रस्ताव गर्दै अन्तिममा आफूले राजीनामा दिनुपरे प्रचण्डलाई जबज मान्न तयार हुुनुपर्ने प्रस्ताव अघि सारेका थिए । जुन प्रस्तावले प्रचण्डलाई तत्काल निर्णय गर्न कठिन भयो र आफ्नो एजेन्डाबाट पछि हट्न बाध्य बनायो । 
जबजका सवालमा नेपाल पक्ष पनि सकारात्मक छ । एकीकृत पार्टीले विचार बारेको बहस अघि नबढाएको अवस्था र जनताको बहुदलीय जनवाद (जबज) या एक्काइसौँ सताब्दीको जनवाद के मान्ने भन्ने यसबेला प्रचण्डलाई अप्ठ्यारो पर्यो जुनबेला आफू एकल अध्यक्ष बन्ने प्रयासमा थिए । 

ओलीले जबज मान्ने प्रतिबद्धता खोजेकै बेला माधव नेपाल समूहले पनि जबजलाई नै साथ दिने देखेपछि नेपालसँगको प्रचण्ड सम्बन्धमा नै प्रश्न उठ्न पुगेको कतिपयले विश्लेषण गर्न थालेका छन् । यद्यपि प्रचण्ड जबज स्वीकार गर्ने नगर्ने र नेता नेपालसँगको सहकार्यलाई कसरी निरन्तरता दिने भन्नेमा निर्णयमा पुगि नसकेको उनी निकटका नेताहरुको बुझाइ छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप