दशैंअघि नै पार्टी एकता गर्न साझा र विवेकशील तीव्र छलफलमा
काठमाडौँ । साझा र विवेकशील नेपाली दलको राजनीतिक संवाद समितिले पार्टी एकताका लागि छलफललाई तीव्रता दिएको छ । साझा सङ्गठन विभाग प्रमुख केशव दाहाल नेतृत्वको संवाद समिति र विवेकशीलका महासचिव निर्देश सिलवाल नेतृत्वको संवाद समिति निरन्तर छलफलमा छ ।
२८ असारमा साझा पार्टीले समान सोच भएका पार्टी, समूह र व्यक्तिहरुसँग एकीकरणको प्रक्रियालाई अगाडि बढाउन तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेपछि पार्टी एकताका लागि साझा र विवेकशीलबीच साउन ३ गते बानेश्वरमा औपचारिक वार्ता भएको छ ।
उक्त छलफलमा साझाबाट वार्ता समितिका संयोजक दाहालसहित सदस्य समीक्षा बाँस्कोटा, किरणकृष्ण श्रेष्ठ र विवेकशीलबाट संयोजक सिलवालसहित रमेश पौडेल र रन्जु दर्शनाको पनि उपस्थित थिए ।
छलफलमा सहभागी विवेकशीलबाट सहभागी एक नेताले भने, ‘बानेश्वरको छलफलमा आफ्ना अनुभव साटासाट गर्ने, पहिलो के बिग्रेको थियो, त्यसलाई कसरी सुधार गर्ने भन्ने विषयमा छलफल भयो । सामान्य कुराकानी भयो । टेवुलबाट आआफ्ना एजेन्डा राखेर सहमति गर्ने गरी भने छलफल भएको छैन ।’
त्यसका लागि साउन ७ गते संवाद समिति छलफलमा बस्ने भनिएको थियो । बाग्मती प्रदेशसभा बैठकका लागि हेटौँडामा रहेका विवेकशीलका वार्ता समिति सदस्य रमेश पौडेल काठमाडौँ फर्किन सम्भव नभएपछि छलफल साउन ९ गतेलाई सारिएको छ ।
यस्तै साझाबाट संवाद समितिको नेतृत्व सम्हालेका दाहालले भने, ‘पहिलो मिटिङमा हामीबीच भावनात्मक कुरा भए । हामी किन छुट्यौँ । अब एकीकरणको उपादेयता के हो भन्ने विषयमा कुराकानी गरौँ । दोस्रो मिटिङमा पार्टी वार्ताको कन्टेन फाइनल गर्ने र क्रमशः कन्टेनवाइज छलफल अगाडि बढाउने कुरा भएको छ ।’
पहिलो बैठकले दुवै दललाई पार्टी एकताका लागि सकारात्मक ठाउँमा उभ्याएको वार्ता समितिको दाबी छ । ‘पार्टी एकीकरण गर्दा सुरुमा हाम्रा अनुभावहरुलाई सश्लेषण गरौँ । हामी एकीकृत भएर काम गर्दाका अनुभव के हुन् ? हामी किन विभाजित भयौँ । त्यसका कारणहरु के हुन् ? फेरि एकीकरण गर्दा हाम्रा पुराना अनुभवहरुले हामीलाई कहाँनिर मद्दत गर्छ ? हामी सचेत रहनुपर्ने कुरा के हुन् ? आत्मा समीक्षाबाट वार्ता अघि बढाउने हाम्रो तयारी हो,’ दाहालाले भने ।
त्यसपछि आफूहरुले कस्तो पार्टी बनाउन चाहेको हो भन्ने विषयमा छलफल प्रवेश हुने उनको भनाइ छ । ‘दुईवटा पार्टी मिलाउने भन्दा हामीले बनाउन चाहेको पार्टी कस्तो हो भन्नेबाट हामी छलफललाई अगाडि बढाउने मोटामोटी कुरा भएको हो । मेरो यो तेरो यो भनेर संवाद सुरु गर्ने होइन कि हामीले बनाउन चाहेको वैकल्पिक पार्टी कस्तो हो ? त्यसको वैचारिक राजनीतिक प्रस्ताव के हुनुपर्छ ? साङ्गठिनक मोडालिटी के हुनपर्छ भन्नेबाट संवादमा प्रवेश गरौँ,’ दाहालले भने ।
आवश्यकता एकीकरण भए पनि त्यसमाथि उठेको प्रश्नको औचित्य पुष्टि हुनेगरी वार्ता अगाडि बढाइने वार्ता समितिको भनाइ छ । दाहालले भने, ‘हाम्रो एकीकरणपछि त्यो आवश्यकताको औचित्यलाई पुरा गर्नका लागि हामीमा कसले के छोड्नुपर्छ केसले के समात्नुपर्छ भन्ने कुरा आउँछ । त्यसलाई हामी नयाँ ढङ्गले हल गर्ने छाै।’
विवेकशीलले साझाको पार्टी संरचना र सङ्घीयता र धर्मनिरपेक्षताका सम्बन्ध जनमत सङ्ग्रहको एजेन्डाप्रति विमति राखेको छ । ती नेताका अनुसार साङ्गठनिक कुरामा एकता महाधिवेशनसम्म जान सकिए पनि जनमत सङ्ग्रहको ठाउँमा संविधान मानेर जाने कुराबाट ब्याक हुने पक्षमा विवेकशील छैन ।
ती नेताले भने, ‘सङ्घीय संसदको दुई तिहाइले जनमत सङ्ग्रह लान सक्छ भनेर भन्दा जनमत सङ्ग्रहलाई पनि नकारेन । धर्मनिरपेक्षता र सङ्घीयताबारे पनि संविधानमा प्रष्ट व्यवस्था गरिदिएको छ । संविधान मानेर जाने भन्दा सबै कुरा टुङ्गिन्छ । यसरी जाँदा शान्ति प्रक्रियमा आइसकेपछि पनि प्रचण्डले विद्रोह सकिएको छैन है साथीहरु, यो फरक ढङ्गको विद्रोह भइरहेको छ भनेजस्तै हुन्छ ।’
शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरालाई हाइलाइट गरेर जानुपर्ने विवेकशीलको जोड छ । साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता हुँदा एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा बोकेको थियो ।
यो विषयमा दाहालले भने, ‘विवेशील र साझाको यो यो विषय मिलाउने भन्ने होइन कि एउटा नयाँ वैकल्पिक पार्टी बनाउनका लागि कसरी जाने भन्नेबाट हामी प्रवेश गर्न मोटामोटी कुरा भएको छ ।’ एकीकृतबाट स्वरूप खडा गरेर एकतामा पुग्ने भन्नेमा संवाद समिति एकमत छ । ‘हामी पार्टी एकताका लागि धेरै हतार पनि नगर्ने । जसले गर्दा आधारभूत कुरामा छलफल नै रोकियोस् र धेरै ढिलो पनि नगर्ने जसले पार्टीहरुबीच एकीकरण गराैँ भन्ने हुटहुटी पनि नसेलाओस् । त्यसका लागि एजेन्डासहित कार्यसूची बनाउने तयारीमा छौँ,’ दाहालले भने ।
दुवै पक्षले दशैंभन्दा अगाडि नै पार्टी एकता हुने विश्वास गरेको छ । तर साझा पार्टी जतिसक्दो चाँडो पार्टी एकता गरिहाल्नुपर्ने पक्षमा देखिएको छ । विवेकशीलबाट वार्तामा सहभागी ती नेताले पार्टी एकताका लागि दुवै पक्षको फरक बुझाइ नरहेको बताए ।
उनले भने, ‘दशैं अगाडि त पार्टी एकता भइहाल्छ । तर त्योभन्दा पनि अगाडि विषयवस्तु टुङ्ग्याउन सकिए अझै चाँडो हुनसक्ने सम्भावना छ ।’ यसैबीच विवेकशीलले सहकारी पार्टी नेपाललाई आफूसँग विलय गराउन प्रयास जारी राखेको छ ।
विवेकशीलद्वारा ‘कोभिड–१९ इनअफ इज इनअफ’ मुख्य अभियान्ता ईँः लाई पनि पार्टीसँग जोड्ने प्रयत्न भइरहेको छ । ती नेताका अनुसार ईँः अहिले कुनै राजनीतिक दलसँग आबद्ध हुने सोचमा छैनन् ।
२०७४ को स्थानीय तहको चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका विवेकशील र साझा आगामी चुनावमा साना तीन समूह र पार्टीसँग एकता गरेर बलियो उस्थिति जनाउने रणनीतिका साथ एकीकरणमा जुटेको पाइन्छ ।
पछि ०७४ साउनमा एकीकरण गरेर विवेकशील साझाका रूपमा आम चुनावमा जाँदा बाग्मती प्रदेशसभा समानुपातिकतर्फ तीन सिट पाउन सफल भएको थियो ।
यद्यपि प्रतिनिधि सभामा पार्टीको नेतृत्व तहकै व्यक्तिहरु पराजित हुनुपरेको थियो ।
२७ पुस २०७५ मा उज्ज्वल थापा नेतृत्वको तत्कालीन विवेकशील नेपाली दल रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आआफ्नो बाटो समाते । त्यसपछि १४ मङ्सिर २०७६ मा भएको आम निर्वाचनमा दुवै पार्टीले कुनै ठाउँमा पनि जमानत जोगाउन सकेनन् ।
त्यसपछि साझा पार्टीको गत फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय लियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशीलसँग पार्टी एकताका लागि अनौपचारिक संवाद थालेको थियो ।
गत वैशाख २१ गतेदेखि २८ गतेसम्म बसेको विवकेशीलको सङ्घीय समिति बैठकले पनि संवाद समिति गठन गर्यो । आगामी चुनावलाई लक्ष्य बनाएर साझा र विवेकशील एक हुन खोजिरहेमा छन् । दाहालले भने, ‘हाम्रो आंशिक लक्ष्य आगामी निर्वाचन हुन्छ नै । सँगसँगै अहिलेको राजनीतिक आवश्यकता के हो ? त्यो आवश्यकता पूरा गर्नका लागि कस्तो पार्टी चाहिन्छ । त्यो आवश्यकता सम्बोधन गरौँ भन्ने पनि हो ।’
यता विवेकशीलसँग पार्टी एकताका लागि संवाद भइरहेका बेला ‘घर छाडेका अरूलाई स्वागत गर्न पाए राजनीति कति सुन्दर हुन्थ्यो होला’ भनेर संयोजक रवीन्द्र मिश्रको प्रतिक्रिया आएको छ । यसलाई पनि विवेकशीलले अर्थपूर्ण रूपमा लिएको छ ।