साझा र विवेकशीलबीच एकताको तयारीः आचार्य र खनाल साझाबाट बाहिरिए
काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच एकताको बहस सुरु भएको छ । विभाजनको डेढ वर्षपछि साझा र विवेकशीलमा पुनः एकताको बहस सुरु भएको हो । साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो भने २७ पुस २०७५ मा पार्टी विभाजन भएको थियो।
साझा र विवेकशील दलबीच पछिल्लो समय पार्टी एकताका लागि आनौपचारिक संवादमा भइरहेको थियो । त्यसका लागि दुबै दलले कार्यदल गठन गरेका छन् । आइतबार बसेको साझाको केन्द्रीय कमिटीको बैठकले संगन विभाग प्रमुख केशव दाहालको नेतृत्वमा पार्टी एकताका लागि कार्यदल गठन गरेको छ भने विवेकशीलले पनि पार्टी महासचिव निर्देश सिलवालको नेतृत्वमा कार्यदल गठन गरिसकेको छ । दाहालसँग विवेकशीलका नेताहरुको अनौपचारिक संवाद भइरहेको थियो । अब पार्टी एकताका लागि औपचारिक रुपमा संवादअघि बढाउने विषयमा दुबै दल तयार भएको बुझिएको छ ।
विवेकशीलका एक नेताले भने, ‘पार्टी एकताका लागि अनौपचारिक वार्ता भइरहेको थियो । तर अब औपचारिक वार्ता गर्नुपर्छ भन्ने कुरामा दुबै पक्ष पुगेका छौँ । एक दुई हप्ताभित्र वार्ता सुरु हुन्छ होला ।’ साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार साझाले विवेकशीलसँग पार्टी एकताका लागि अनौपचारिक संवाद थालेको थियो । विवेकशीलसँग पार्टी एकता गर्ने विषयमा साझाभित्र मतदभेद थियो ।
किन बाहिरिए आचार्य र खनाल ?
साझाको १५ सदस्यीय सचिवालयमा प्रवक्ता डा. सुर्यराज आचार्य र नेता मुमाराम खनाल विवेकशीलसँग एकता गर्ने कुरामा सकारात्मक थिएनन् । तर साझाका संयोजक रवीन्द्र मिश्रसहितका अन्य नेता विवेकशीलसँग पार्टी एकताको पक्षमा उभिए । आचार्य र खनालले विवेकशीलसँगको एकताभन्दा पार्टी पुनर्गठनका लागि संयोजकमात्र राखेर पार्टीका सबै समितिहरू भंग गर्ने प्रस्ताव राखेका थिए।
असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय लियो । त्यसपछि आचार्य र खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुनेभन्दै आफूहरू पार्टीको जिम्मेवारीबाट बाहिरिने बताएका थिए ।
आचार्य प्रवक्ता तथा पार्टीको नीति तथा कार्यक्रम प्रमुख र खनाल राजनीतिक मामिला विभाग प्रमुखको जिम्मेवारीमा थिए । उनीहरुको राजीनामा बैठकले स्वीकृत पनि गरिसकेको छ । साथै बैठकले अहिलेसम्म गरेको योगदानका लागि दुवै जनालाई धन्यवाद दिने निर्णय गरेको छ ।
आवश्यक पर्दा पार्टीलाई सहयोग गर्ने उनीहरुको वचनवद्धताको सम्मान गर्दै कुनै पनि बेला पार्टीको संरचनामा जोडिन चाहेको खण्डमा पार्टीले खुला हृदयले स्वागत गर्ने बैठकले प्रतिवद्धता जनाएको छ ।
यसअघि लुम्बिनी भेलाले धर्मनिरपेक्षता र संघीयताबारे लिएको निर्णयमा पनि खनाल र आचार्यको फरक मत थियो । खनाल र आचार्य यतिबेला पनि विवेकशीलसँगको एकताको विपक्षीमा उभिए । विवेकशीलसँग पार्टी एकता गर्दा पार्टी विभाजन पहिले आफूभन्दा जुनियरहरु सिनियर हुने देखिएपछि उनीहरु पार्टी एकताको विपक्षीमा उभिएको साझाका एक नेताले बताए ।
यस्तै पछिल्लो समय खनाल र आचार्यले मिश्रको विकल्पका रुपमा आफूहरुलाई प्रस्तुत गर्ने गरेका थिए । पार्टीभित्र त्यो कुरा सम्भव नभएपछि उनीहरु जिम्मेवारीबाट बाहिरिएको ती नेताको भनाइ छ ।
उनीहरुको प्रस्तावमा मिश्रलगायतको विमति रहेपछि आइतबारदेखि पार्टीको जिम्मेवारीबाट बाहिरिएको हुन् । यद्यपि उनीहरुले पार्टीबाट भने अलग नभएको बताएका छन् । तर मिश्र पक्षले खनाल र आचार्यले दिएको जिम्मेवारी राम्रोसँग निर्भाह नगरेको आरोप लगाएको छ ।
एकताको आधार
विवेकशील विगतमा जस्तो साझाले जे जे भने पनि मान्ने गरी यो पटक पार्टी एकता गर्ने पक्षमा छैन । सबै ठाउँमा समान सहभागिता भएपछि मात्र एकता हुने छ । पार्टी एकताका लागि संघीयता र धर्म निरपेक्षताका सम्बन्धमा जनमत संग्रह गर्ने कुुरा साझाले छोड्नुपर्ने विवेकशीलको भनाइ छ । जनमत संग्रह कुरालाई महाधिवेशनमा टुंग्याउने गरि पनि जान नसकिने विवेकशीलको अडान रहने छ । तर साझाले यो विषयलाई थप प्रस्ट्याएर जान सकिने धारणा अघि सारेको छ ।
साझा पार्टीका एक नेताले भने, ‘जनमत संग्रहको कुरा बाहिर आए जस्तो विषय होइन । जनमत संग्रह गर्न भनेको हामी राजावादी हुने वा हिन्दुधर्म सापेक्ष राज्यको पक्षमा उभिने भनेको होइन । सहभागिता मुलुक लोकतन्त्रमा विश्वास गर्ने पार्टीले आवश्यक पर्दा जनमत संग्रहजस्ता विषयलाई पनि स्वीकार गर्नुपर्छ भन्ने दृष्टिकोण हो ।’ यस विषयमा त्यति धेरै छलफल गर्न आवश्यक नभएको ती नेताको भनाइ छ ।
पार्टी एकताको आधारबारे ती नेताले भने, ‘हाम्रो पार्टी एकताको पहिलो आधार एजेण्डा नै हो । आजको पुस्ताका राजनीतिक आवश्यकता के हो । यो आवश्यकता पुरा गर्नका लागि कस्तो पार्टी चाहिन्छ भन्ने कुरामा हाम्रो एउटै मत हुनुपर्यो ।’ लोकतान्त्रिक अग्रगामी पार्टी बनाउने विषयमा एजेण्डा, मुद्दा र विचारमा एकमत भएपछि पार्टी एकता हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना