बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी बढुवामा राजनीतिक हस्तक्षेप, कारबाही भोगेकालाई बढुवाको फुली

सिनियर प्रहरी अधिकृत बढुवाबाट बञ्चित
शुक्रबार, १२ वैशाख २०७७, २० : २१
शुक्रबार, १२ वैशाख २०७७

गृह मन्त्रालयले लामो समयदेखि रोकिएको नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा निकालिसकेको छ । 

चैत २८ गते १० प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायव महानिरीक्षकमा बढुवा सिफारिस भयो । त्यस्तै ९ वैशाखमा गृह मन्त्रालयले १९ जना प्रहरी उपरीक्षक (एसपी) को एसएसपीमा बढुवा गर्यो । त्यसको भोलिपल्ट १० वैशाखमा २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) एसपीमा बढुवा भए । 

गृह मन्त्रालय स्रोतका अनुसार १/२ दिनमै प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डीएसपी बढुवाको सूची निस्किनेछ । ५४ सिटको लागि १५० भन्दा बढी इन्सपेक्टरहरुबीच कडा प्रतिस्पर्धा हुनेछ । 

यतिबेला एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिसलाई लिएर नेपाल प्रहरीको सांगठनिक भविष्यमाथि प्रश्नचिन्ह उठेको छ । शक्तिशाली नेताहरुको सिफारिसमा परेकाबाहेक अन्य प्रहरी अधिकारीहरु बढुवामा छुटेका छन् । 

इमान्दार र क्षमतावान प्रहरी अधिकृतलाई पाखा लगाएर नेता निकट प्रहरीलाई बढुवा गरिएको आरोप प्रहरी नेतृत्वमाथि छ । बढुवा समितिले फिल्डमा काम गरेकाभन्दा नेताको चाकडी गरेका प्रहरीलाई अग्रस्थानमा राखेर बढुवा सिफारिस गरेको प्रहरी अधिकारीहरुको गुनासो छ । 

‘बढुवामा प्रहरी महानिरीक्षक यस्तो कमजोर कहिल्यै देखिएका थिएनन्,’ प्रहरी मुख्यालयका एक अधिकारी भन्छन्, ‘प्रहरी राजनीतिक नेतृत्वको कठपुतली बन्ने जोखिम देखियो ।’

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले राम्रा अधिकृतहरुको पक्षमा अडान लिन नसक्दा बढुवामा राजनीतिक नेतृत्व हावी भएको हो । यसले राम्रा प्रहरी अधिकृतहरु पछि पर्ने र खराब अधिकृतहरु अघि बढ्ने जोखिम बढेको छ । 

गृहमन्त्री रामबहादुर थापा र आईजीपी ठाकुर ज्ञवाली ।

प्रहरीमा सांगठनिक सुधारका लागि चर्का भाषण गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि राम्राभन्दा ‘हाम्रा’ प्रहरी अधिकारीलाई बढुवा गर्न दबाब दिएको प्रहरी मुख्यालय स्रोत बताउँछ । 

डीआईजी बढुवामा राजनीतिक हस्तक्षेप !
२८ चैतमा गृहमन्त्रालयले १० जना एसएसपीलाई डीआईजीमा बढुवा गर्यो । डीआईजी बढुवामा सिनियर र इमान्दार अधिकृतहरु छुट्दा केही जुनियरहरु भने बढुवामा पर्न सफल भएका छन् ।

हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्धय शैलेश थापा क्षत्री र हरि पालका ब्याची रहेका पुरुषोत्तम कँडेल र गणेश ऐर डीआईजी हुनबाट बञ्चित भए । 


एसपीबाट एसएसपीमा बढुवा हुँदा ९ नम्बरमा परेका कँडेलसँगै ८ नम्बरमा एसएसपीमा बढुवा भएका थिए ऐर । ऐर विवादमा मुछिएका प्रहरी अधिकृत हुन् भने कँडेल प्रहरी संगठनमा राम्रा अधिकृत मानिन्छन् । 

राजनीतिक पहुँच भएर पनि ऐर डीआईजी हुनबाट बञ्चित भए । यता कँडेल राजनीतिक पहुँच नभएको कारण डीआईजीबाट बञ्चित भएको एक प्रहरी अधिकृत बताउँछन् । 

एसपीबाट एसएसपीमा बढुवा हुँदा गणेश ऐर ८ नम्बरमा र पुरुषोत्तम कँडेल ९ नम्बरमा ।

कँडेल र ऐरसँगै क्रमशः एक नम्बरमा शैलेश थापा क्षत्री, निरज बहादुर शाही, प्रद्युम्न कार्की, हरिबहादुर पाल, वीरेन्द्र श्रेष्ठ, लोकेन्द्र मल्ल, घनश्याम अर्याल र गणेश ऐर एसएसपीमा बढुवा भएका थिए । 

कार्की र शाही पनि डीआईजी भइसकेका छन् । यस्तै अर्याल पनि २८ चैतमा डीआईजी भएका छन् । श्रेष्ठ र मल्ल एसएसपीबाटै अवकाश पाइसकेका छन् ।

एसएसपी बढुवामा पनि चलखेल 
१० वैशाखमा गृह मन्त्रालयले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस ग¥यो । एसएसपी बढुवा सिफारिसमा पनि चरम राजनीतिक हस्तक्षेप भएको पाइएको छ ।

वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु बहादुर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेश बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञमणि पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुबेर खापुङ बढुवा सिफारिसमा परेका हुन् ।


१०८ ब्याचका एसपीहरू कुवेर कठायत, दुर्गा सिंह, किरण राणा, केदार ढकाल, रवीन्द्र केसी, जनक भट्टराई, अशोक सिंह बढुवा सिफारिस भएपनि रोलक्रममा एसएसपी बढुवाका लागि १०१औँ ब्याचका उमाशंकर पन्जियार, जनक पाण्डे मुख्य दाबेदार थिए ।

यता ०७३ पुसमा एसपीमा बढुवा भएका खापुङ एसएसपीमा बढुवा सिफारिस पर्न सफल भएका छन् । एसएसपीमा बढुवा हुन एसपी भएको कम्तीमा चारदेखि पाँच वर्ष लाग्छ । 

तर, खापुङ एसपी भएको तीन वर्षमै एसएसपीमा बढुवा भए । एसपी भएदेखि कर्मचारी प्रशासन कार्यालय (कप्रका) मा कार्यरत खापुङ विवादमा मुछिएर कारबाही भोगेका अधिकृत हुन् । 

एसपी हुँदा खापुङले कतै पनि इन्चार्ज भएर काम गरेका छैनन् । बढुवामा केही सिनियरलाई छुटाएर जुनियरलाई राखिएको भन्दै सामाजिक सञ्जालमा खापुङविरुद्ध चर्को आलोचना समेत भएको छ । 

१०८ ब्याचका अर्जुन चन्द ठकुरी, ११० औं ब्याचका चक्रबहादुर सिंह, सुरेन्द्र मैनाली, कृष्ण कुमार महत खापुङभन्दा सिनियर एसपी हुन् । तर, उनीहरु पनि सबै छुटेका छन् ।

गृह मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार राईसँग निकटता देखाएर नेपाल प्रहरीको कर्मचारी  प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएका खापुङ नेताको चाकडी गर्न सिपालु प्रहरी अधिकृत हुन् । 

एसएसपी पद ८ महिना अघिदेखि नै खाली भए पनि खापुङले पूर्वगृहसचिव राईमार्फत बढुवा रोकेका थिए । एसपी बढुवा भएको ३ वर्ष नपुगेका कारण खापुङले एसएसपी बढुवा प्रक्रिया नै रोक्दै आएका थिए ।

खापुङमाथि प्रहरीको प्रशासनमा बसेर जिल्ला इन्चार्ज एसपी वा डीएसपीको सरुवामा पनि चलखेल गर्दै आएको आरोपसमेत लागेको छ । 

चन्द्रकुवेर खापुङ 

‘प्रहरीलाई सरकारले खेलौना बनाएको छ । मन लाग्दा बढुवा गर्ने र नलागे नगर्ने,’ वर्ष दिनसम्म बढुवा प्रक्रिया नै रोकिएकोमा असन्तुष्टि जनाउँदै एक एसएसपी आरोप लगाउँछन्, ‘सर्वसाधारणको शान्तिसुरक्षासँग जोडिएको सुरक्षा निकायमा यति धेरै राजनीतिक खिचातानी अनुचित छ । जसलाई बढुवा गरे पनि भ्याकुम बनाउनुभएन ।’

उनले समयमै गर्नुपर्ने सरुवा बढुवा नभएपछि त्यसले प्रहरीको मनोबल खस्केको समेत बताए । प्रहरीको बढुवामा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले बढुवा समिति तथा प्रहरी मुख्यालयको भूमिका खुम्चिएको छ । 

गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितको बैठकले १९ जनाको नाम सिफारिस गरेको हो । समितिमा प्रहरी महानिरीक्षक ज्ञवाली सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री सदस्यसचिव थिए ।

डीएसपी बढुवामा पनि राजनीतिक खिचातानी 
वैशाख १० गते गृह मन्त्रालयले २४ जना डीएसपी एसपीमा बढुवा सिफारिस भए । अघिल्लो बढुवामा अन्यायमा परेका भुवनेश्वर तिवारी र ऋषिराम कँडेल यसपटक पनि एसपी हुनबाट बञ्चित भएका छन् ।

उनीहरु शीर्ष नम्बरमा एसपीमा बढुवा हुने स्वाभाविक अनुमान थियो । उनीहरु २०६९ फागुन १३ को बढुवामा एक र दुई नम्बरका डीएसपी हुन् । उनीहरु भन्दा जुनियरहरु २०७५ माघ १६ गते नै एसपी बढुवा भएर एक कार्यकाल जिल्लाको नेतृत्व गरिसकेका छन् । 


कुनै पनि कारबाही नभोगेका व्यवसायिक अधिकृतको छवि भएका तिवारी र कँडेल अघिल्लोपटक एसपी बढुवामा छुट्दा धेरैले उनीहरुमाथि अन्याय भएको भनेका थिए । २०७५ माघ १६ गते २६ जना डीएसपी एसपीमा बढुवा हुँदा तिवारी र कँडेललाई उछिनेर उनीहरुका ब्याचका १६ जना बढुवा भएका थिए ।

बरु उनीहरु भन्दा पछि डीएसपीमा बढुवा भएका प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ सन्तोष भट्टराई, दरबारमार्गमा घुसकाण्डमा अख्तियारबाट पक्राउ परेका वामदेव गौतम, राजेन्द्र धमला, दयानिधी ज्ञवाली एसपी बढुवा सिफारिसमा परे । 

शक्तिकेन्द्रहरुको सिफारिसलाई आधार बनाएर एसपी बढुवा सिफारिस गरिएको आरोप लागेको छ ।

नेपाल प्रहरीको डीआईजी, एसएसपी, एसपी बढुवामा पहुँचवालाहरुको बोलवाला हुँदा इमान्दार अधिकृतहरु चरम अन्यायमा परेका छन् । इन्सपेक्टरबाट डीएसपीको बढुवा सूची निकाल्दा पनि यस्तै राजनीतिक हस्तक्षेप हुनसक्ने आंकलन गरिएको छ । 

कसरी हुन्छ बढुवामा चलखेल ? 
प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको आधार बनाएको छ । तर, नियमावलीले बढुवामा चलखेल गर्ने आधार पनि दिएको छ । 

एक सय नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङ्कन, २० नम्बर ज्येष्ठता, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेको अनभुव, १० नम्बर शैक्षिक योग्यता, ७.५ नम्बर शारीरिक व्यायाम तथा खेलकुद तथा २ नम्बर सरकारले प्रदान गरेको विभूषणको आधारमा दिइन्छ, जून नम्बरमा खासै चलखेल हुँदैन ।

बाँकी साढे १२ नम्बरमध्ये ७.५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ भने ५ नम्बर चुनौतीपूर्ण काम गरेबापत प्रहरी महानिरीक्षकले दिन्छन् । यही १२.५ नम्बरमा चलखेल हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप