बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनि विभाजनबाट जोगियो समाजवादी पार्टी...

बिहीबार, ११ वैशाख २०७७, १३ : १३
बिहीबार, ११ वैशाख २०७७

काठमाडौँ । समाजवादी पार्टी अन्ततः विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् दलबदल सम्बन्धी ऐन संशोधन गरेपछि संसद ४० प्रतिशत पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले आफ्नो नेतृत्वमा पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । तर उनले अन्तिम समयमा आएर छुट्टै पार्टी दर्ता गराउन सकिनन् ।

समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, उपाध्यक्ष एवम् प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वरिष्ठ नेता अशोक राई विहान सबेरै रेणु यादवको निवासमा पुगेका थिए । सबै नेताहरु उनको घरमा पुगेपछि रेणु यादवले कुनै गतिविधि गर्न नै पाइनन् ।

समाजवादी पार्टी र राजपा नेपाल एकीकरण भएपछि दल दर्ताका लागि उपेन्द्र यादव रेणु यादवकै घरबाट निर्वाचन आयोग पुगेका थिए । उनी निर्वाचन आयोग पुग्दा अध्यक्ष भट्टराई, मुख्यमन्त्री राउत र वरिष्ठ नेता राईलाई भने त्यही छाडेर गएका थिए ।


समाचार तयार गर्दासम्म पनि उनीहरु रेणु यादवकै घरमा छन् । उनीहरु आफ्नो घरमा बसिरहेको कुरा रेणु यादवले पनि स्वीकार गरिन् । रातोपाटीसँग कुरा गर्दै उनले राजपा नेपालसँग भएको एकीकरणको बारेमा छलफल गर्नका लागि नेताहरु आफ्नो घरमा आएको बताइन् ।

‘समाजवादी पार्टी फुट्ने सम्भावना टरेको हो त ?,’ भन्ने जिज्ञासा राख्दा उनले अझै आफूहरु छलफलको क्रममा रहेको बताइन् । ‘समाजवादी पार्टी र राजपा नेपाल बीचमा एकीकरण भएको छ, त्यो विषयमा पनि छलफल भइरहेको छ । समाजवादी पार्टीमा असन्तुष्ट रहेका अन्य नेताहरुसँग पनि छलफल भइरहेको छ,’ उनले बताइन् ।

उपाध्यक्ष रेणु यादवलाई साथ दिएका नेताहरुलाई रातिदेखि उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले पछ्याइ रहेका थिए । प्रदीप यादवले राति नै आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै रेणु यादवको साथ छाडेका थिए । त्यसैगरि, डा.सुरेन्द्र यादवलाई पनि समाजवादी पार्टीका नेताहरुले आफ्नो सम्पर्कमा ल्याउन सफल भएका छन् भने उता रेणु यादवको घरमा हिजैदेखि सबै नेता डेरा जमाएपछि पार्टी फुटाउने नेताहरुले केही थप निर्णयहरु गर्न सकेनन् ।

अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले इस्तियाक राइ लगायत अन्य असन्तुष्ट नेताहरुसँग पनि भेटेका छन् । उनीहरुलाई अझै सम्झाइ बुझाइ गरिरहेका छन् । तर, उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्न सकिरहेका छैनन् ।

‘जे होस् केही दिनका लागि समाजवादी पार्टी टुक्रिने अवस्थाको अन्त्य भएको छ,’ सांसद प्रदीप यादवले भने, ‘समाजवादी पार्टी अब विभाजन हुँदैन, पार्टी नेतृत्वले पार्टीभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’

 


राजपा र समाजवादीको मिलन नै ‘रामवाण’

राजपा र समाजवादी पार्टीको एकता नै समाजवादी पार्टी नटुक्रिनुको रामवाण साबित भएको छ । दुई पार्टी एकीकृत नभएको भए सायद पार्टीलाई विभाजन हुनबाट कसैले रोक्न सक्ने थिएन ।

स्रोतका अनुसार समाजवादी पार्टी टुक्रा हुनबाट जोगाउन नेपालस्थित भारतीय दूतावासको पनि भूमिका रहेको छ । दूतावास शुरुदेखि राजपा र समाजवादीलाई एकीकृत गराउने पक्षमा थियो । दूतावासले पटक–पटक दुवै दलको बीचमा एकीकरण होस् भनेर पहल गरिरहेको थियो । तर, दुवै पार्टीको आपसी विवादका कारण एकीकरण प्रक्रिया अघि बढ्न सकिरहेको थिएन ।

तर, जब सरकारले ४० प्रतिशत सांसदले पनि पार्टी विभाजन गर्न सक्ने गरी ऐन संशोधन गरेपछि समाजवादी पार्टी फुट्ने चर्चा शुरु भएको थियो । सोही चर्चामा दूतावासले पनि खेल्यो । दुवै पार्टी एकीकरण नभए समाजवादी पार्टीलाई विभाजनबाट कसैले बचाउन सक्दैन भने सन्देश उपेन्द्र यादव समक्ष पु¥यायो ।

त्यसपछि उपेन्द्र यादवले हतार हतारमा बैठक बोलाएर राजपा नेपालसँग एकीकरणका लागि तयार भए । अघि उनले राजपा नेपालका सबैलाई बराबर हैसियत दिन तयार नभएका यादव सबैलाई समान हैसियत दिनसम्म तयार भए । अर्थात् राजपा नेपालका नेताहरुको माग पूरा गर्दै यादव एकीकरणका लागि तयार भएका छन् ।

त्यस्तै, महन्थ ठाकुरलाई पार्टीको पहिलो वरियताक्रममा राख्न पनि यादव तयार भएका छन् । जब कि यसअघि संरक्षक वा वरिष्ठ नेताको रुपमा मात्र ठाकुरलाई स्वीकार गर्न सकिने उनको अडान थियो । महन्थ ठाकुरपछि वरियतामा डा.बाबुराम भट्टराई रहने लगभग सहमति भएको छ । तर, अन्य नेताको बारेमा अहिले टुगों नलागेको राजपा नेपालका एकताले बताए ।

एकीकरणमा सहमति भएपछि यता दूतावासले पनि समाजवादी पार्टी टुक्राउनमा सक्रिय भएका सांसदहरुलाई सम्पर्क गरेर पार्टी विभाजन नगर्न दबाव दिएको थियो । त्यसमध्ये कतिपय सांसद तत्कालै दूतावासको कुरा मानेर पछाडी हटे भने कतिपयले पछिसम्म अडानमा रहे । दूतावासका एक पदाधिकारीले भने, ‘फुट्नु राम्रो होइन, जुट्नु राम्रो हो हाम्रो प्रयास पनि दलहरु जुटुन् भन्ने नै हो, अब के गर्नुहुन्छ उहाँहरुले गर्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप