शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एकसाथ फुट र जुट : आयोगमा पहिला कसले गराउला पार्टी दर्ता ?

बिहीबार, ११ वैशाख २०७७, ०० : २८
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं–समाजवादी पार्टीलाई फुट्नबाट जोगाउनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएको छ । 

समाजवादी पार्टी फुट्ने निश्चित भइसकेपछि रातारात राजपा नेपाल र समाजवादी पार्टी एकीकरणको घोषणा भएको छ । पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ भने चुनाव चिन्ह राजपा नेपालकै छाता छाप रहने भएको छ । 
झण्डा भने समाजवादी पार्टीले नै प्रयोग गर्दै आएको रहने सहमतिपत्रमा उल्लेख छ ।

तर, के यो एकीकरण भएपछि समाजवादी पार्टी विभाजनबाट जोगिन्छ त भनि प्रश्न उठेको छ । 

यदि समाजवादी पार्टी फुट्नुअघि एकीकृत भएको पार्टी जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भइ आधिकारिता प्राप्त गर्यो भने सो पार्टी फुटाउन सकस हुनेछ ।  किनभने अहिले समाजवादी पार्टी फुटाउनका लागि ४० प्रतिशत पुर्याउन सातजना सांसद मात्र चाहिनेछ तर जनता समाजवादी पार्टी दर्ता भयो भने १५ जना सांसद चाहिन्छ । 

अहिले दुवै पार्टीसँग १७–१७ जना सांसद रहेका छन् । ३४ जना सांसद भएपछि पार्टी फुटाउन गाह्रो हुने भनेर नै रातारात दुई पार्टीबीच एकीकरण भएको हो । 

अब भोलीलि कुन पार्टी पहिला दर्ता हुन्छ त्यसले नै बाजी मार्नेछ । एकीकृत भएको नयाँ पार्टीलाई निर्वाचन आयोगमा जानबाट रोक्ने प्रयास हुनसक्छ । 

राजपा नेपालका एकजना उपाध्यक्षले भने, ‘यदि समाजवादी पार्टी फुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु भएको हो भने पक्कै पनि नयाँ पार्टीलाई निर्वाचन आयोगमा दर्ता हुनमा अड्चन गराउन सक्नुहुन्छ । कुनै न कुनै बहानामा नयाँ पार्टीलाई शुरुमा दर्ता हुन दिइने छैन ।’

समाजवादी पार्टीबाट अलग भएको पार्टी दर्ता भएपछि मात्र नयाँ पार्टीका लागि बाटो खोल्ने सम्भावना देखिएको उनले बताए । 

यद्यपी समाजवादी पार्टीका असन्तुष्ट पक्षलाई मिलाउनका लागि उपेन्द्र यादवबाट प्रयास भइरहेको छ । जो सांसद असन्तुष्ट छन् ती सबैमाथि उपेन्द्र यादवले निगरानी बढाएका छन् । उनीहरुलाई विभिन्न लोभ, प्रलोभन दिइरहेका छन् । 

तर रेणु यादवको नेतृत्वमा पहिलादेखि नै सातजना सांसद तयार भएर बसेका छन् । त्यसमा एकजना डा सुरेन्द्र यादव कम भइरहेका थिए । उनलाई पनि जनकपुरबाट काठमाडौं ल्याइसकिएको छ । 

उपेन्द्र यादवले रातभरमा चलखेल गरी आफ्ना सांसदलाई तान्न नसके बिहीबार समाजवादी पार्टीबाट अलग भएर नयाँ पार्टी दर्ता हुने समाजवादी पार्टीका एक सांसदले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप