बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सानेपामा चाक्सीबारी भेलाको चर्चा: हामी असफल भएमा के गर्ने ?

बुधबार, २१ फागुन २०७६, १९ : ३३
बुधबार, २१ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसमा फेरि बहिष्कारको राजनीति सुरु भएको छ । गत २६ मंसिरदेखि १० माघसम्म काँग्रेसको संस्थापन इतर पक्षले बहिष्कारको नीति लियो । ११ पुसमा पार्टी सभापति शेरबहादुर देउवाले इतर पक्षको उपस्थिति वेगर पार्टीको ११ औँ महाधिवेशनको तिथि–मिति सार्वजनिकसँगै केही महत्वपूर्ण निर्णय लिन पुगे । त्यसले संस्थापन र इतर पक्षबीच निकै विवाद चर्कियो ।

२६ मंसिरबाट पार्टीका आन्तिरिक बैठक बहिस्कारको नीति लिएको उक्त पक्षले ९ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि पुसमा बसेको केन्द्रीय र पदाधिकारी बैठकमा पनि उपस्थिति जनाएन । अनि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिले पार्टी ‘धरापमा’ पारेको जिकिर गर्दै पार्टी कार्यालय सानेपामा आफूनिकट जिल्ला सभापतिको भेला बोलाए ।

यो विवाद पछि काँग्रेसमा विभाजन आउने विश्लेषण समेत हुन थालेको थियो । पछि माघ १० गते नेविसंघको भागबण्डा मिलेपछि काँग्रेस विवादले सहमतिको बाटो समात्यो । तर फागुन १७ गते पौडेल पक्षसँगको सहमति वेगर देउवाले पार्टीभित्र केन्द्रीय विभाग गठनको निर्णय लिएपछि काँग्रेसमा बहिष्कारवादले स्थान पाएको छ ।


यता, गुटगत भेलामा पनि तीव्रता आएको छ । देउवाले निर्णय लिएको बेला बीरगञ्जमा रहेको पौडेल पक्षले त्यहीँ आकस्मिक भेला गर्दै उक्त निर्णय मान्य नहुने बताएको थियो । आज पौडेल पक्षले (बुधबार) पूर्वमहामन्त्री प्रकाशमानसिंहको निवास चाक्सीबारीमा उक्त भेलालाई निरन्तता दिँदै महाधिवेशन बाहेक पार्टीका कुनै बैठकमा सहभागी नहुने रणनीति लिएको छ ।

यही रणनीतिअनुसार पौडेल पक्षले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा बुधबार पार्टी कार्यालयमा आयोजित जिल्ला प्रशिक्षण शाखा प्रमुख (उपसभापति)हरुसँगको बैठक बहिस्कार गरेको छ । बैठकका लागि काठमाडौं आएका आफूनिकट जिल्ला उपसभापतिलाई चाक्सीबारी बेलाएर पौडेल पक्षले बैठकमा जान रोकेको हो । पार्टी कार्यालयको सभाहलमा काँग्रेस केन्द्रीय उपसभापति विमलेन्द्र निधिको सभापतित्वमा बैठक भएको थियो ।

बैठकमा देउवा, कृष्णप्रसाद सिटौला र विजय गच्छदार समूहका जिल्ला उपसभापतिको मात्र उपस्थिति रहेको थियो । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी क्रियाशील सदस्यलाई आगामी चैत १५ गते प्रशिक्षण दिने तयारी अनुसार जिल्ला उपसभापतिसँग छलफल गरेको हो । छलफलमा तीन पक्षका गरी ५० बढी जिल्ला उसभापतिको उपस्थिति थियो ।

चैत १५ गते हुने प्रशिक्षणमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षण दिने र उनीहरुबाट पार्टीका क्रियाशील सदस्यलाई तालिम दिलाउने काँग्रेसको तयारी छ ।

बैठकले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरुमा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ । काँग्रेसका ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण कार्यक्रमका लागि दिइने भएको छ । तर पौडेल समूहले बैठक बहिस्कार गरेपछि प्रशिक्षक तयार पार्ने र क्रियाशील सदस्यलाई प्रशिक्षण कार्य सफल हुनेमा आशंका छ ।

बैठकमा सहभागी जिल्ला उपसभापतिहरुले केन्द्रमा देखिएको पार्टी विवादले यसमा समस्या आउने भय प्रकट गरेका थिए । कैलाली जिल्ला उपसभापति प्रकाश बमले पार्टीको केन्द्रमा विवाद मिलाउन र प्रशिक्षणका लागि केही समय थप्न आग्रह गरेका थिए ।

तोकिएको समयमा प्रशिक्षक उत्पादन गरी प्रशिक्षण दिन सम्भव नभएको उनको भनाइ थियो । यस्तै झापा जिल्ला उपसभापति राम कट्टेलले पार्टीले केन्द्रमा बेलाएर छलफल गरेकोप्रति खुसी व्यक्त गरेका थिए । उनले पनि केन्द्रमा पार्टीभित्र देखिएको विवादले बैठक सान्दर्भिकता ओझेलमा परेको बताए । पार्टीभित्रको विवाद हल गर्न उनले उपसभापति निधिलाई आग्रह गरेका थिए ।

यस्तै, माग्दी जिल्ला उपसभापति माधवप्रसाद अधिकारीले क्रियाशील सदस्यता नविकरण, वितरण र प्रशिक्षणसँग गर्न गाह्रो हुने बताए । ‘छलफल मैले सोचेभन्दा फलदायी पाएँ । तर चैत १५ मा दुईवटा कुरा सँगसँगै भएको देखियो । जिल्लामा क्रियाशील सदस्यतापत्र नविकरणको कार्य सुरु भइरहेको छ । साथै नयाँ सदस्यता दिने काम पनि भएको छ । यो बीचमा प्रशिक्षणलाई पनि अगाडि बढाउन गाह्रो  हुन्छ कि भन्ने मलाई लागको छ ।’

उनले प्रशिक्षक उत्पादन गर्न गाह्रो नभएको भन्दै पौडेल पक्षले असहयोग गरे के गर्ने भन्दै निधिलाई प्रश्न गरे । ‘प्रशिक्षक त उत्पादन गर्न गाह्रो नहोला । तर पौडेल समूहले अधिवेशनबाहेक अरु कुनै कार्यक्रममा भाग नलिने भनेको सुनियो । उहाँहरुले प्रशिक्षणमा पनि त भाग नलिने होला नि ?,’ उनले प्रश्न गर्दै भने, ‘त्यो समूहले प्रशिक्षणमा भाग लिएन भने वा असहयोग गर्दा हामी असफल भयौं भने के गर्ने ?’

उनले सबैले भाग लिने वातावरण मिलाउन उपसभापति निधिलाई आग्रह पनि गरे । तर जिल्ला उसभापतिमा पौडेल पक्षको बहिस्कारले चिन्ता उत्पन्न भए पनि प्रवक्ता विश्वप्रकाश शर्माले भने यसलाई सहज रुपमा लिएको पाइयो ।

शर्माले भने, ‘नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक दलभित्र कुनै निर्णयको सन्दर्भमा फरक मत र विचारहरु आउनु अनौंठो होइन । अहिले पनि केही आएका छन् । तर आएका फरक मतले पनि सहकार्य र सहमतिबाट महाधिवेशनमा जान्छौँ ।’

उनले ११ गते बसेको केन्द्रीय समितिमा भएको निर्णयबाट उत्पन्न विवाद पनि स्मरण गरे । उनले भने, ‘पुस ११ गतेको केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा विधानका ५ वटा धारा निलम्बन गरेका थियौँ । पार्टीका कतिपय नेताहरुको अभिव्यक्ति आयो यो निर्णयबाट पार्टी नै ‘धरापमा परेको’ भन्ने खालको धारणा पनि आयो । बाटामै क्रियाशील सदस्यता दिनु नियतसम्म भनिदियौं । तर डेढ महिना विवादमा बिताएपछि माघ २९ गते तिनै पाँच निलम्बित धारालाई कमा, फुलस्टपसमेत नचलाई फेरि सर्वसम्मतिले निलम्बन गर्याैं ।’

विवाद गर्नुपर्ने कारण नभएको भन्दै सभाापतिले आफ्नो अधिकार अनुसार विभाग गठन गरेको शर्माले बताए । उनले भने, ‘सभापतिले आफ्नो अधिकार अनुसार विभाग गठन गर्नु भएको छ । यसमा विवाद गर्नुको कारण छैन । उहाँले ढिलो गरि गठन गर्नुभयो । त्यसको आलोचना गर्नु स्वभाविक छ ।’ यता बैठकलाई सम्बोधन गर्दै निधिले पनि पार्टीभित्रको विवाद केही दिनमै टुंगिने भन्दै ७७ वटै जिल्ला र १३० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला उपसभापतिलाई का प्रमुखहरुलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप