प्रिमियम लिन्छन् तर भुक्तानी गर्न मान्दैनन् इन्स्योरेन्स कम्पनी
धापासीमा रहेको पार्क भ्यु होराइजन अपार्टमेन्टमा चप्पल कारखानाका दानबहादुर बुढाथोकीको एउटा भव्य फ्ल्याट थियो । नेपालमै सस्तो मूल्यमा सबै सुविधासहितको आकर्षक फ्ल्याट पाइने भएपछि दानबहादुरले चप्पल कारखानामा रहेको १ रोपनी जग्गा र त्यहाँ बनेको घरसमेत बेचे । त्यो पैसा बरुण डेभलपर्सले धापासीमा बनाएको पार्क भ्यू होराइजन अपार्टमेन्टमा लगानी गरे ।
२०६७ सालमा बुकिङ खुलेलगत्तै बुढाथोकीले पार्क भ्यु होराइजनको सगरमाथा टावरको पाँचौँ तलाको ५०४ नम्बरको फ्ल्याट बुकिङ गरे । निर्माण सम्पन्न नहुँदै उनले तत्कालीन समयमै एक करोड २५ लाख रुपैयाँमा उक्त फ्ल्याटको बुकिङ गरेका थिए ।
जब २०७० को अन्तिममा अपार्टमेन्ट बस्न योग्य भयो, बुढाथोकीले बाँकी पैसा पनि बुझाएर उक्त फ्ल्याट आफ्नो नाममा ल्याए । फ्ल्याट आफ्नो नाममा ल्याउँदा उक्त फ्ल्याट मात्रै नभएर उक्त फ्ल्याट चर्चेको २७ रोपनी १५ आना जग्गा र अन्य संरचनामा पनि सामूहिक हिस्सेदारी रहने गरी उक्त फ्ल्याट उनको नाममा आयो ।
बुढाथोकीसँग पूरै फ्ल्याट किन्ने पैसा नभएपछि उनले बैङ्कबाट ऋण पनि लिए । ऋण लिने बेलामा बुढाथोकीले आफ्नो सम्पत्तिको इन्स्योरेन्ससमेत गराए ।
बुढाथोकीले ऋण लिँदा उक्त फ्ल्याटको मूल्य १ करोड ५० लाख मूल्याङ्कन गरी उनले सोही रकम बराबरको प्रिमियमसमेत तिरेर सगरमाथा इन्स्योरेन्सबाट आफ्नो फ्ल्याट र सामूहिक हिस्सेदारीमा पर्न आउने रकम गरी त्यही मूल्य बराबरको इन्स्योरेन्स गराएका थिए ।
बुढाथोकीले फ्ल्याटमा कुनै कारणले समस्या आउन सक्छ भनेर इन्स्योरेन्स गराएका पनि थिएनन् । बैङ्कबाट ऋण लिनुपर्ने अवस्थामा बाध्य भएर उनले इन्स्योरेन्स गराएका थिए ।
तर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो र पार्क भ्यु होराइजन अपार्टमेन्ट बस्नका लागि अयोग्य बनिदियो । भूकम्पले अपार्टमेन्ट नढलेको भए पनि सरकारी संयन्त्रले नै उक्त अपार्टमेन्ट बस्नका लागि अयोग्य रहेको भन्दै रातो स्टिकर टाँसिदियो ।
सरकारी संयन्त्रले रातो स्टिकर टाँसिदिएपछि पार्क भ्यु होराइजन बस्नका लागि असुरक्षित भइदियो । उनकै फ्ल्याटमा पनि धेरै क्षति भयो । तर उनको फ्ल्याटको मूल्य वा भ्यालुएसन उनकै एउटै फ्ल्याटका लागि मात्रै थिएन । सामूहिक हिस्सेदारीमा पर्ने २७ रोपनी १५ आना जग्गा र त्यसभित्र बनेको संरचना समेतको मूल्याङ्कन गरी उनले उक्त फ्ल्याटको मूल्याङ्कन गराएका थिए ।
तर जब भूकम्प गयो र अपार्टमेन्ट बस्नका लागि अयोग्य भन्दै सरकारले रातो स्टिकर टाँसिदियो, त्यसपछि बुढाथोकी सगरमाथा इन्स्योरेन्समा आफूले गरेको इन्स्योरेन्सको रकम भुक्तानीका लागि आग्रह गर्दै पुगे ।
तर सगरमाथा इन्स्योरेन्सले अपार्टमेन्ट नढलेको भन्दै इन्स्योरेन्सको रकम दिन नमिल्ने बतायो । तर बुढाथोकीले इन्स्योरेन्स पाउन ढल्नैपर्ने भनेर कहीँ पनि नलेखिएको र त्यो कानुनविपरीत हुने भन्दै कानुनी उपचार खोज्ने भन्दै त्यहाँबाट निस्किए ।
‘कानुनी उपचार’को कुरापछि बल्ल सगरमाथा इन्स्योरेन्सले बुढाथोकीलाई ‘रेस्पोन्स’ गर्न थाल्यो । १ करोड ५० लाखको मूल्याङ्कन गरे । त्यसैको आधारमा प्रिमियिम तिरेका बुढाथोकीलाई सगरमाथा इन्स्योरेन्सले सुरुमा जम्मा १६ लाख रुपैयाँ उपलब्ध गराउने कुरा बतायो । सगरमाथा इन्स्योरेन्सको प्रस्ताव उनले अस्वीकार गरे । त्यसपछि इन्स्योरेन्सले १८ लाख दिन्छु भन्यो, बुढाथोकीले त्यो प्रस्ताव पनि अस्वीकार गरे । त्यसपछि इन्स्योरेन्स केही समय चुपचाप बस्यो, तर बुढाथोकी चुपचाप बसेनन् । विभिन्न निकायमा आफूलाई परेको अन्याय बारे कुराकानी गरिरहे । पछि इन्स्योरेन्सले बुढाथोकीलाई बोलाएर २२ लाख रुपैयाँ लैजान भन्यो । दानबहादुर बुढाथोकीले त्यो प्रस्ताव पनि अस्वीकार गरे । किनभने उनको फ्ल्याट भित्रको संरचना र भएको क्षति मात्रै बनाउन त सायद त्यो रकमले पुग्ने थियो । तर उनले आफ्नो फ्ल्याट मात्रै बनाएर सुख पाउने अवस्था थिएन । किनभने यदि अपार्टमेन्ट रेट्रोफिटिङ गरेर बस्न मिल्ने अवस्थामा आए पनि सामूहिक हिस्सेदारीमा पर्न आउने सबै रकम बुढाथोकीले बेहोर्नै पर्ने अवस्था थियो । तर त्यतिबेलासम्म अपार्टमेन्ट बस्न त के वरिपरि हिँड्नका लागि पनि प्रतिबन्ध लगाइएको थियो । अहिले पनि अपार्टमेन्टमा बस्न मिल्ने वा सक्ने अवस्था छैन र यो अपार्टमेन्ट खण्डहर बनेको छ ।
तर पछि बरुण डेभलपर्सले भवनको संरचनामा कुनै क्षति नभएको र रेट्रोफिट गरी बस्न मिल्ने भन्दै सहरी विकास तथा भवन निर्माण विभागबाट मर्मतसम्भारका लागि स्वीकृति लिएपछि भने मर्मत गर्नेतिर लाग्न थालियो । त्यतिबेला हिसाब गर्दा पनि सामूहिक हिस्सेदारीसहित एउटा फ्ल्याट मर्मतका लागि करिब ५० लाख लाग्ने अवस्था आयो । तर १ करोड ५० लाखको इन्स्योरेन्स गराएका बुढाथोकीलाई अधिकतम २४ लाख रुपैयाँसम्म उपलब्ध गराउने भन्दै सहमति गर्न सगरमाथा इन्स्योरेन्सले आग्रह गर्यो । तर बुढाथोकीले कि इन्स्योरेन्स रकम बराबरको क्षतिपूर्ति गर्न वा पुनर्निर्माण गर्न मिलेको अवस्थामा लाग्ने सबै खर्च बेहोर्न भने । तर इन्स्योरेन्सले भने त्योभन्दा बढी दिन नसक्ने भन्दै बिमा समितिमा उजुरी गरे नि गर्नुहोस् भन्दै धम्की दियो । त्यसपछि बुढाथोकी समय पर्खेर बसेको बताउँछन् ।
भत्केपछि पनि इन्स्योरेन्सको प्रिमियम असुली !
सामान्यतः इन्स्योरेन्स गरेको सम्पत्ति, सेवा वा वस्तुमा क्षति आएमा र त्यसको भुक्तानी वा समायोजन नभएसम्म त्यही सम्पत्ति वा वस्तुको अर्को प्रिमियम लिन मिल्दैन । तर सगरमाथा इन्स्योरेन्समा १ करोड ५० लाखको इन्स्योरेन्स गराएका बुढाथोकी बसेको अपार्टमेन्ट २०७२ सालको भूकम्पले भत्काएपछि पनि उनले त्यसपछि पनि आफ्नो फ्ल्याटको अपार्टमेन्टको प्रिमियम तिरेको रातोपाटीलाई बताउँछन् । उनले भने, ‘भूकम्पपछि उक्त अपार्टमेन्टमा बस्न मिल्दैन भन्दै सरकारले रातो स्टिकर टाँसिदियो । हामी बाहिरै बस्न थाल्यौँ । तर इन्स्योरेन्स कम्पनीले हामीलाई क्षतिपूर्ति दिनेतर्फ वास्ता नै गरेन । बरु बीचमा इन्स्योरेन्सको समय सकिएपछि एक पटक फेरि इन्स्योरेन्सको प्रिमियम तिरे । त्यतिबेला इन्स्योरेन्स कम्पनीले केही नभनी इन्स्योरेन्सको प्रिमियम लियो । मैले पनि आफ्नो जिम्मेवारी ठान्दै प्रिमियम तिरे । तर इन्स्योरेन्सले वास्ता गर्न छाडेपछि र क्षतिपूर्तिको पैसा पनि नदिएपछि अर्को वर्षदेखि प्रिमियम तिर्न छाडेँ ।
इन्स्योरेन्सको भरोसा नै उड्यो र पछि प्रिमियम तिर्न छाडेँ
बुढाथोकीका अनुसार इन्स्योरेन्सले जसरी हुन्छ ग्राहकबाट पैसा उठाएर आफू मोटाउने मात्रै काम गर्ने रहेछ । केही नहुँदा ठूला ठूला कुरा गर्ने र इन्स्योरेन्स गर्न लगाउने तर केही भएपछि यो वा त्यो बाहाना बनाएर इन्स्योरेन्सको पैसा नतिर्ने नीति लिने रहेछ । उनले भने, ‘भवनमा बस्नका लागि अयोग्य हुँदा पनि मैले इन्स्योरेन्सको पैसा तिरेँ । त्यतिबेला तपाईंलाई इन्स्योरेन्सको रकम दिने हो, हामी छलफलमै छौँ, तपाईंको काम गरिरहेका छौँ भन्यो । जब रकम भुक्तानीमा उसले नकारात्मक कुरा गर्न थाल्यो र हामीलाई एक वर्ष झुलाइदियो, त्यसपछि मलाई इन्स्योरेन्समाथि भरोसा नै भएन र मैले इन्स्योरेन्सलाई निरन्तरता दिइनँ ।’
सबै फ्ल्याटको इन्स्योरेन्सम्म गरिएन
पार्क भ्यू होराइजन अपार्टमेन्ट निर्माण गरेको बरुण डेभलपर्सले आफ्नो बिक्री हुन बाँकी सबै ८० फ्ल्याटको इन्स्योरेन्स गराएको थियो । तर बिक्री भएर पनि नामसारी नभएको र नामसारी भइसकेको अन्य फ्ल्याटको भने इन्स्योरेन्स गराएको थिएन । कतिपय व्यक्ति जसले बैङ्कबाट ऋण लिएर फ्ल्याट किनेका थिए, उनीहरुले फ्ल्याटको इन्स्योरेन्स गराएको भए पनि अन्यले भने इन्स्योरेन्स गराएका थिएनन् ।
बुढाथोकी भन्छन्, ‘बिक्री भइसकेको फ्ल्याटका सन्दर्भमा उसले कुनै इन्स्योरेन्स गराएन । नेपाल कानुनको अधीनमा रहने हो भने चाहिँ उसैले इन्स्योरेन्सको व्यवस्था गर्नुपर्ने रहेछ । तर उसले गरेको रहेनछ । उसले नगरेको भए पनि बैङ्कबाट ऋण लिएका कतिपयले चाहिँ ऋण लिँदा बाध्य भएर इन्स्योरेन्स गराएका रहेछन् । तर कतिले गरेका थिएनन् । उसको बाँकी फ्ल्याटको भने बरुण डेभलपर्सले इन्स्योरेन्स गराएको रहेछ ।’
इन्स्योरेन्स कम्पनीबाट समेत ठगिएको बताउने बुढाथोकी भन्छन्, ‘जसले इन्स्योरेन्स गराएका थिए, उनीहरुमध्ये केहीले इन्स्योरेन्सबाट रकम बुझिसकेका छन् । तर त्यो क्षतिको मूल्य वा विवरणभन्दा पनि बार्गेनिङ गरेर इन्स्योरेन्सले जबरजस्ती रकम लिन बाध्य पारिएकाहरु छन् । केहीको भने अझै पनि इन्स्योरेन्स कम्पनीसँग कुरा मिलेको छैन र झगडा परिरहेको छ, वादविवाद अगाडि बढिरहेको छ । अनि कतिपयले इन्स्योरेन्स गर्नुभएको छैन भने कतिपयले पूरै पैसा तिरेर पनि स्वामित्व हस्तान्तरण नभएको कारण इन्स्योरेन्सको कुरा नै आएन ।’
बरुण डेभलपर्सको छलछाम र चलाखी, फ्ल्याटका धनी चाहिँ मर्कामा
भूकम्पपछि बरुण डेभलपर्सले स्ट्रक्चर लगायतको बिल्डिङको इन्स्योरेन्स गराएको छ । तर उसले फ्ल्याटहरुको इन्स्योरेन्स चाहिँ अहिले पनि गराएको छैन । तर भूकम्पपछि बस्नका लागि अयोग्य रहेको भन्दै स्वामित्व हस्तान्तरण भइसकेका फ्ल्याटको हकमा भने इन्स्योरेन्स कम्पनीहरुले इन्स्योरेन्स गर्न मानिरहेका छैनन् । तर फ्ल्याट तथा बिल्डिङको पुनर्निर्माण भइसकेपछि भने इन्स्योरेन्स हुने भन्दै त्यसपछि मात्रै इन्स्योरेन्स गर्न सकिने बताइरहेका छन् । तर बैङ्कबाट ऋण लिएका हरुको हकमा पनि इन्स्योरेन्स अनिवार्य भए पनि अहिले अधिकांश धनीले इन्स्योरेन्सको प्रिमियिम तिरेका छैनन् ।
अब अन्तिम पटक छलफल गर्छु, सहमति नभए कानुनी उपचार खोज्छु
रातोपाटीसँगको कुराकानीका क्रममा पार्क भ्यु होराइजन अपार्टमेन्टमा रहेको एक फ्ल्याटका धनी दानबहादुर बुढाथोकीले अब मर्मत गर्न लागिएकाले एक पटक छलफल गर्ने र सहमति नभए कानुनी उपचार खोज्ने बताएका छन् । उनले भने, ‘हामी फ्ल्याटको मात्रै धनी नभएर भवन तथा जग्गा र त्यहाँभित्र रहेका अन्य भौतिक संरचनाको पनि मालिक हौँ । त्यसकारण फ्ल्याटको मात्रै नभएर सबै संरचनाको मिलेरै पुनर्निर्माण गर्नुपर्ने हुन्छ । त्यसकारण फ्ल्याट मात्रै बनाउने नभएर सामूहिक हिस्सेदारीमा रहेका सबै कुरा मिलेर बनाउनुपर्ने हुँदा एउटा फ्ल्याटको मर्मतका लागि करिब ४० देखि ५० लाख लाग्ने अनुमान गरिएको छ । त्यसकारण मैले इन्स्योरेन्स कम्पनीले दिन्छु भनेको १६ वा २२ लाख लिन्न भनेको हो । मैले डेढ करोडको प्रिमियम तिर्ने तर ५० लाख खर्च गरेर बनाउनुपर्ने फ्ल्याटका लागि जम्मा २०–२२ लाख मात्रै दिने कुरा सह्य हुँदैन । अब निर्माण सुरु भएपछि एक पटक छलफल गर्छु र समझदारी भए रकम लिन्छु र नभए कानुनी प्रक्रियामा अगाडि बढ्छु ।’
सगरमाथा इन्स्योरेन्सको व्यवहारप्रति बुढाथोकीको आक्रोश
बुढाथोकीले सबै मूल्यको मूल्याङ्कन गराएर १ करोड ५० लाख मूल्य बराबरको प्रिमियम तिरेका थिए । तर इन्स्योरेन्स कम्पनी भने क्षतिको रकम दिनभन्दा पनि बार्गेनिङ गर्नमा केन्द्रित भएको बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘इन्स्योरेन्स कम्पनीले के भन्यो भने पूरै मूल्यको इन्स्योरेन्स आउनका लागि भवन पूरै ढल्न पर्छ । जबकि पोलिसीअनुसार नेपाल सरकार, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयले रातो स्टिकर लगाएर बस्न नमिल्ने भनेपछि पूरै रकम दिनुपर्ने थियो । तर उसले आनाकानी गरिरहेको छ । उसले हामीलाई मुद्दा गर्न जाऊ, यो पाउँदैन भन्दै धम्क्याउने गरिरहेको छ । पोलिसीभित्र पर्दैन भन्दै उसले हामीलाई पन्छाउने काम गरिरहेको छ । सरकारले रातो स्टिकर लगाएर मात्रै हुँदैन, इन्स्योरेन्सको पैसा पाउन भवन ढल्नैपर्ने भनेर जवाफ दियो । हामीसँग गर्दा त इन्स्योरेन्सको पोलिसीमा क्षतिको कुरा थियो, भवन ढल्नैपर्ने भन्ने थिएन । तर पनि सगरमाथा इन्स्योरेन्सले हामीलाई ठगिरहेको छ । अब अन्तिम पटक छलफल गर्छु र सहमति नभएर कानुनी प्रक्रियामा अगाडि बढ्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’