शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

होराइजन अपार्टमेन्टको आतङ्क : स्थानीय रातभर निदाउन सक्दैनन्

पीडित भन्छन् : सिरानीमाथि तरबार झुण्डिएको छ, कसरी निदाउनु ?
बुधबार, २२ माघ २०७६, १२ : ४१
बुधबार, २२ माघ २०७६

काठमाडौँको टोखा नगरपालिकामा पर्ने धापासी हाइटका अग्ला भवनहरुमा ‘झुल’ हालेर राखेको ४ वर्षभन्दा बढी भइसक्यो । झट्ट हेर्दा कुनै विदेशी भूमिका बिजनेस कम्प्लेक्स जस्ता देखिने यी भवनमा ४ वर्षदेखि कुनै चहलपहल छैन । यहाँ अहिले पनि निर्माण हुने समयको जस्तै बाहिरी भूभागमा जाली राखेर छोपिएको छ ।

यी अग्ला भवनहरु अरू केही नभएर होराइजन अपार्टमेन्टका आवासीय भवन हुन् । आवासीय प्रयोजनका लागि भन्दै २०६७ सालदेखि बनाउन सुरु गरी २०७० सालमा निर्माण सम्पन्न गरिएका यी गगनचुम्बी भवन २०७२ सालको भूकम्प लगत्तै बन्द छन् । १७ तलासम्मका यी भवनमा अहिले एकजना पनि मानिस बस्दैनन् ।

बरुण डेभलपर्स प्राइभेट लिमिटेडको नाममा निर्माण गरिएको उक्त अपार्टमेन्ट २०७२ को भूकम्पपछि बस्नका लागि अयोग्यजस्तै भयो । ५ वटा अग्ला अग्ला टावर खडा गरी १७ तलासम्मको भवन निर्माण गरेपछि भूकम्पले क्षतिग्रस्त बनायो । सुरुमा जम्मा ११ तलाको भवन निर्माण गर्ने भनी सम्झौता र सार्वजनिक सुनुवाइ गरेको अपार्टमेन्टले पछि १७ तलासम्मको अपार्टमेन्ट निर्माण गरेपछि भूकम्पले यो अपार्टमेन्टको अवस्था नाजुक बनाइदियो । अपार्टमेन्टको अवस्था हेर्न पुगेका सहरी विकास तथा भवन निर्माण विभागले उक्त अपार्टमेन्टलाई रातो स्टिकर उपलब्ध गरायो र बस्नका लागि अयोग्य नै भनिदियो ।

हेर्नुहोस्, पार्क भ्यु होराइजन अपार्टमेन्टमा लगाइएको रातो स्टिकर

भूकम्प गएको झण्डै ५ वर्षको अवधिमा धापासीको पार्क भ्यु होराइजन अपार्टमेन्टमा अहिले कोही बस्दैनन् । सम्पत्तिको रक्षा गर्नका लागि अहिले त्यहाँ दैनिक २ जना गार्ड राखिएको छ र उनीहरु मात्रै त्यहाँ बस्ने गरेका छन् । अत्यधिक क्षति भएका कारण अहिले त्यहाँ फ्ल्याट भनी गएर बस्न सक्ने अवस्था छैन ।

२२ रोपनी ७ आना जग्गामा सुरुमा ११ तलाको मात्रै स्वीकृति लिएर यो अपार्टमेन्ट बनाउन थालिएको थियो । तत्कालीन काठमाडौँ उपत्यका नगर विकास योजनाको काठमाडौँ कार्यालयले ११ तलाको उचाइ तथा ३ तलासम्मको अन्डरग्राउन्ड पार्किङसहित भवन निर्माण गर्न सकिने गरी प्लानिङ परमिट दिएको थियो । नगर विकासको त्यही प्लानिङ परमिटका आधारमा भवन निर्माण विभागले उक्त अपार्टमेन्ट स्वीकृतिका लागि पत्र दिएको थियो ।

तर अपार्टमेन्ट बनाउँदै जाँदा बरुण डेभलपर्सलाई अरू लोभ लाग्यो । उसले ११ तलाको अपार्टमेन्ट बनाइसकेपछि पनि थप ५ रोपनी जग्गा किन्यो र पछि १७ तलासम्मको अपार्टमेन्ट बनाउन स्वीकृति लियो । अपार्टमेन्टको तला थप गर्ने सम्बन्धमा न बरुण डेभलपर्सले वातावरणीय प्रभाव मूल्याङ्कन गरायो न त स्थानीयलाई जानकारी नै दियो । बरु धापासीका तत्कालीन गाविस सचिवलाई घुस खुवाएर उसले वडा र गाविस कार्यालयबाट सिफारिस लिएको र पछि सबैतिर घुस खुवाएर १७ तलासम्मको गगनचुम्बी भवन बनाएको स्थानीयको गुनासो छ ।

८५ वर्षीय वृद्ध भन्छन्, ‘रातभर निदाउन सक्दिनँ’

पार्क भ्यु होराइजन अपार्टमेन्टकै ठीक तल एउटा सानो घर छ ८५ वर्षीय बाबुकाजी कुँवरको । धापासीमा रहेको उक्त जमिन उनको पुख्र्यौली जमिन हो । त्यही जमिनमा घर बनाएर उनी बसिरहेका थिए ।

आफ्नै घर नजिकै ठूलो अपार्टमेन्ट बन्ने खबरले सुरुमा उनी उत्साहित नै थिए । आफ्नो क्षेत्रको विकास पनि हुने उनको अपेक्षा थियो ।

तर सुरुमा ११ तलाको बनाउने भनेर स्थानीयलाई भनिएकामा तला थप्दै गएपछि बाबुकाजीसहित स्थानीयले धेरै निकायमा निर्माण रोक्का राख्नका लागि आवेदन दिए । स्थानीयलाई खतरा हुने भन्दै निर्माण गर्न नदिन हारगुहार गरे । तर बाबुकाजी लागयत स्थानीयको केही लागेन । उसले भवन निर्माण विभागबाट तला थपका लागि स्वीकृति लिएर आइसकेको रहेछ । त्यसकारण उसले निर्माण गरिरह्यो र भवन १७ तलाको बनायो ।

गगनचुम्बी भवन बन्दा पनि बाबुकाजीलाई कुनै तनाव थिएन । तर जब २०७२ सालमा भूकम्प गयो, त्यसपछि भने बाबुकाजीलाई तनाव सुरु भयो । आफ्नो घरको पछिल्लो भागबाट करिब ३ मिटर मात्रै छाडेर १७ तल्ले भवन निर्माण भएको थियो । भूकम्पको समयमा उक्त अपार्टमेन्ट तत्कालै ढल्छ जस्तो भएको थियो । अपार्टमेन्टका कैयौँ स्थानमा पिल्लर र बिमसमेत चर्किएका छन्, भाँचिएका छन् । अपार्टमेन्टको भित्ता भत्किएर उनको घरमासमेत क्षति पुर्याएको छ । त्यति मात्रै होइन, अपार्टमेन्ट ढल्किएर उनको घरतर्फ आएको पनि उनलाई डर छ ।

सुरुको एक वर्ष त उनी आफ्नै घरमा बसेनन् । तर जाने अर्को स्थान पनि थिएन । करिब एक वर्षपछि उनी बाध्य भएर त्यही घरमा बस्न थाले । अहिले पनि जब उनी आफ्नो घरको ठीक पछाडि रहेको बडेमानको भवन देख्छन्, उनलाई डर लाग्छ । सानो भूकम्प आउँदा वा ठूलो पानी पर्दा पनि उनलाई अत्यास लाग्छ । उनी भन्छन्, ‘जब राति सुत्न खोज्छु, त्यही भवनको डर लाग्छ र निदाउन सक्दिनँ ।’

पूर्वआईजीपी ठकुरीले धम्क्याए :

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट अवकाश पाएपछि रमेशचन्द्र ठकुरी पार्क भ्यु होराइजन अपार्टमेन्टको प्रमुख कार्यकारी अधिकृत भएर गए ।

वरुण डेभलपर्सले ठकुरीलाई शक्तिको प्रदर्शन गर्न र स्थानीयलाई रोक्नका लागि त्यहाँ लगेको थियो । ठकुरीलाई त्यहाँ जागिर दिँदै गर्दा धापासीमा स्थानीयले आन्दोलन गरिरहेका थिए । स्थानीयको आन्दोलन चर्किँदै गएपछि ठकुरीको प्रयोग बरुण डेभलपर्सले गरेको थियो ।

धापासीका ८५ वर्षीय वृद्ध बाबुकाजी कुँवर भन्छन्, ‘अपार्टमेन्ट अग्लो र असुरक्षित हुन थालेपछि हामीले आन्दोलन सुरु गरेका थियौँ । त्यसैक्रममा पूर्वआईजीपी रमेशचन्द ठकुरीले हामीलाई धम्क्याए । अपार्टमेन्टको वरिपरि आउन र हेर्नसमेत बन्देज लगाए । अन्य गुण्डाहरु पनि लगाएर हामीलाई धम्क्याउने काम गरे ।’ 

हतियार बोकेर जान्छौँ तर पुनर्निर्माण गर्न दिन्नौँ : रमेश कुँवर

अपार्टमेन्टकै तल घर रहेका रमेश कुँवर पनि यो अपार्टमेन्ट भत्काउनै पर्ने बताउँछन् । सुरुमा ११ तलाको भवन निर्माणको स्वीकृति लिएर पछि १७ तलाको बनाएको कारणले नै भवनमा धेरै क्षति पुगेको र स्थानीय पनि त्रासमा बाँच्नुपरेको रमेश बताउँछन् ।

रमेश कुँवर

सुरुमा यो अपार्टमेन्ट बस्नका लागि अयोग्य भन्दै रातो स्टिकर दिइएको भन्दै अब फेरि यो अपार्टमेन्ट पुनर्निर्माण गर्न लागिएको भन्ने सुनिएको रमेश बताउँछन् । तर स्थानीय पीडित समूहका अगुवासमेत रहेका रमेश कुनै पनि हालतमा भवनको पुनर्निर्माण गर्न नदिने पक्षमा छन् । उनी भन्छन्, ‘पहिलो कुरा यो भवन कुनै पनि हालतमा भत्काउनै पर्छ । बाहिरबाटै देखिन्छ कि भवनको पिल्लरमा रहेको डण्डीसमेत बाहिरबाटै देखिन्छ । घरसमेत हामी भएकोतिर ढल्किएको छ । त्यसकारण पहिलो कुरा यो भवन पूरै भत्काउनुपर्छ ।’

दोस्रो यदि यो भवन रोट्रोफिट गरेर बस्नका लागि योग्य छ भने पनि पहिले सरकारी मान्छे र इन्जिनियरहरु आएर ग्यारेन्टी गर्नुपर्छ । त्यसपछि पहिले स्वीकृति लिएर बनाएको ११ तलासम्मलाई रेट्रोफिट गर्न दिएर बाँकी भवन भत्काउनु पर्छ । तर स्थानीयको गुनासो नसुन्ने र जबरजस्ती गर्ने हो भने हामी हतियार लिएर उनीहरुविरुद्ध जाइलाग्छौँ । किनकि हाम्रो जाने ठाउँ अन्त कहीँ छैन ।’

सिरानीमाथि नाङ्गो तरबार झुण्डिएको छ, कसरी निदाउनु : रविराज कुँवर

धापासीकै अर्का स्थानीय रविराज कुँवरको चिन्ता पनि त्यस्तै छ । पार्क भ्यु होराइजनले गरेको गल्तीको सजाय आफूहरुले भागिरहेको उनी बताउँछन् । सुरुमा ११ तलाको निर्माण स्वीकृति लिएर पछि १७ तलासम्म बनाएप्छि आफूहरु सधैँ त्रासमा बाँच्नुरेको रवि बताउँछन् ।

२०७२ सालको भूकम्पपछि त आफूहरु प्रत्येक पल डर र त्रासमा बाँचिरहेको भन्दै अपार्टमेन्ट भत्काउनका लागि दबाबपूर्ण आन्दोलन गर्ने बताउँछन् ।

रविको माग पहिले भवन पूरै भत्काउने र पछि ११ तलासम्म बनाउन दिने भन्ने छ । तर अहिले रेट्रोफिट गरेर चलाउन लागेको भन्दै त्यो आफूहरुलाई मान्य नहुने उनी बताउँछन् ।

अपार्टमेन्टको आफ्नो घर (दक्षिण पश्चिम)तर्फ ढल्किएको भन्दै फेरि अर्को भूकम्प आयो भने समाज नै सिद्धिने उनको चिन्ता छ । उनी भन्छन्, ‘अहिले नै यो अपार्टमेन्ट हाम्रो घरतिर ढल्किएको छ । अब फेरि कुनै ठूलो भूकम्प आयो भने यो भवन हाम्रो घरतिर ढल्न सक्छ । त्यस्तो अवस्थामा यसको क्षति २०७२ सालको भूकम्पभन्दा पनि भयावह हुन सक्छ । त्यसकारण रेट्रोफिट गरेर यो भवनमा बस्नका लागि हामी दिँदैनाँै, यो भवन भत्काउनै पर्छ ।’

रविराज कुँवर

यस्तो भवनको तल तपाईंको घर छ, राति राम्ररी निदाउन सक्नुहुन्छ त भन्ने रातोपाटीको प्रश्नमा रविले भने, ‘त्रासको कुरा गरेर साध्य नै छैन । त्यो ढल्यो वा भत्क्यो भने हामी त एउटा ढुङ्गाले फूल थिचेजस्तै थिचिन्छौँ । यो स्थितिमा हामी दैनिक कति त्रासमा बाँच्ने ? अनि कसरी आनन्दले सुत्ने ? आफ्नो सिरानीमाथि नाङ्गो तरबार झुण्ड्याइएको छ । कतिबेला खस्छ खस्छ । चैनसँग सुत्ने भन्ने त कुरै छैन ।’

अपार्टमेन्टले डिप्रेसनको रोगी बनायो : मिना (नामपरिवर्तन)

धापासीको पार्क भ्यु होराइजनकै कारण धापासीकै एक परिवार डिप्रेसनमा पुगेको पाइएको छ । पार्क भ्यु होराइजन अपार्टमेन्टको ठीक तल घर भएकी स्थानीय मिना (नामपरिवर्तन) का अनुसार उनका श्रीमान्ले भूकम्पको केही समयदेखि नै डिप्रेसनको औषधि खाइरहेका छन् । भूकम्पपछि जुनसुकै बेला पनि उक्त भवन ढल्न सक्ने र आफ्नो घर तथा परिवार सिद्धिने चिन्ताका कारण उनका श्रीमान्ले डिप्रेसनको औषधि सेवन गर्नुपरेको मिनाले बताइन् ।

आफ्नै घरमा पसलसमेत सञ्चालन गरेकी मिना झरी पर्दा वा सानो भूकम्प आउँदासमेत तर्सने गरेको बताउँछिन् । उनले भनिन्, ‘श्रीमान् मात्रै होइन, अब त छोरी पनि डिप्रेसनमा गइसकेकी छिन् । ९ कक्षामा पढ्ने छोरी रात डरकै कारण हामीसँगै सुत्न आउँछिन् । भूकम्प नगए पनि हल्लायो भन्दै अपार्टमेन्ट ढल्ने चिन्ता गर्छिन् । हामी सधैँ यो त्रासमा कसरी बाँच्ने ?’

स्थानीयका अनुसार २०७२ को भूकम्पपछि धेरै पटक उक्त भवन भत्काउनका लागि विभिन्न निकायमा निवेदन दिँदै ध्यनाकर्षण गराएका छन् । टोखा नगरपालिका, काठमाडौँ उपत्यका विकास प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभाग, मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत उनीहरुले निवेदन दिइसकेका छन् । त उनीहरुको गुनासो कसैले सुनेका छैनन् । बरु यतिबेला उक्त अपार्टमेन्टलाई रेट्रोफिटिङ गरेर बस्नका लागि योग्य बनाउन खोजिएको भन्दै स्थानीयले चिन्ता जनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप