केन्द्रीय संस्करण
समाचार टिप्प्णी

कता हरायो पौडेलको नैतिकता ?

‘ताक परे तिवारी नत्र गोतामे !’

person explore access_timeपुस ३, २०७६ chat_bubble_outline0

‘पार्टीमा देखिएको भागवण्डाको राजनीति अन्त्यका लागि मेरो उम्मेदवारी अनिवार्य देखेर सभापति पदमा उम्मेदवारी दिन लागेको हुँ, ६०/४० को भागवण्डा अन्त्यका लागि मैले नेतृत्वमा हस्तक्षेप गर्नु जरुरी ठानेको छु ।’

काँग्रेसका तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलले २०७२ फागुन ६ गते राजधानीको अनामनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा काँग्रेस सभापति पदमा उम्मेदवारी घोषणाका क्रममा गरेको प्रतीज्ञा हो यो ।

‘६०/४० प्रतिशतको भागवण्डाका विषयमा कसले दियो र कसले माग्यो भन्ने आम कार्यकर्तालाई थाहा छ,’ त्यतिबेला पौडेलले भनेका थिए, ‘त्यसका विरुद्ध रहेका आम कार्यकर्ताको सुझाव र अहिलेको अवश्यकताका आधारमा मैले उम्मेदवारी दिन लागेको हुँ ।’

यतिमात्र होइन, उनले भागवण्डा विरोधी आफ्नो अभियान लिएर देश दौडाहा गरे । कार्यकर्तामाझ उनले भागवण्डा प्रथाको चर्को विरोध गरे । यद्यपि उनी काँग्रेसको १३ औँ महाधिवेशनमा पराजित भए । सभापति पदमा शेरबहादुर देउवा विजयी भए, जो त्यस अघिसम्म पार्टी नेतृत्वसँग ६०/४० को भागवण्डा लिएर पार्टीभित्र पकड बनाउँदै आएका थिए ।

अहिले परिस्थिति बदलिएको छ । काँग्रेसभित्र हुने मनोनयन, विभाग गठन, भ्रातृ संगठनमा मात्र होइन, सरकारमा पनि काँग्रेसका कोटामा परेका नियुक्तिमा ४० प्रतिशत हिस्सा लिँदै आएका देउवाले पार्टीको नेतृत्व गर्दै आएका छन् । विगतमा पार्टी नेतृत्वसँग आफूले हासिल गर्दै आएको भागवण्डालाई निरन्तरता दिने सवालमा उनी आफू सभापति बनेपछि कञ्जुस देखिएका छन् भने भागवण्डा प्रथा अन्त्य गर्छु भनेर प्रतिज्ञा गरेका पौडेल आफैँ भागवण्डाका लागि नेतृत्वसँग संघर्ष गर्न थालेका छन् ।


राजनीतिमा नैतिकता पनि आवश्यक हुन्छ भन्नेमा सहमत हुने जो कोहीले एउटा नेता विपरीत दुई भूमिका र अडानमा देखा परेको परिस्थिति सहजै पचाउन सक्दैन । हिजो भागवण्डा खराब हो भनेर भन्नेले आज पनि भागवण्डा खराब हो भनेर बोल्न सक्नुपर्छ । हिजो भागवण्डाका लागि लड्नेले आज भागवण्डालाई स्वाभाविक मान्न सक्नुपर्छ । सिद्धान्त र नैतिकताले यही पाठ सिकाउँछ ।

हाल काँग्रेसका भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमध्ये कुनै एकमा पौडेल समूहले नेतृत्वको भागवण्डा खोजेको छ । पौडेल समूहको यो माग पनि बुधबारमात्र खुलेर सार्वजनिक भएको हो । यसअघि उक्त समूहले केन्द्रीय विभागको संख्या बढाउन नपाइने, १४ औँ महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने लगायतका मागहरु अघि सार्दै पार्टीको केन्द्रीय समिति बैठक नै बहिष्कार गर्दै आएको थियो ।

विभाग गठन र महाधिवेशनको कार्यतालिकाका सवालमा संस्थापन पक्ष सकारात्मक देखिएपछि बुधबार भने पौडेल पक्षले ‘मोही माग्ने तर ढुङ्ग्रो लुकाउने’ गरेको परिदृष्य प्रकट भएको हो । बुधबार बस्ने भनिएको केन्द्रीय समिति बैठकमा पौडेल पक्ष सहभागी नहुने भएपछि संस्थापन पक्षले शुक्रबारसम्मका लागि बैठक नै स्थगित ग-यो । र, सार्वजनिक भयो भ्रातृ संगठनको नेतृत्वमा अल्झिएको भागवण्डा विवाद ।

लामो समयदेखि निष्क्रिय रहेका भ्रातृ संगठनहरुलाई ब्यूँताउनका लागि पार्टी नेतृत्वले कसरत गर्नासाथ पौडेल समूहले भागवण्डाका लागि दबाब दिएको हो । पौडेल समूहको बहिष्कारकै कारण मिति तोकिएर पनि दुई पटक केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

हिजोका दिनमा नेतृत्वसँग भागवण्डा लिएर आफ्नो गुटको राजनीतिक अस्तित्व बचाउँदै आएका देउवा ठीक थिए वा आजका दिनमा पौडेल पक्षले भागवण्डा माग्दा उनीहरुलाई भागवण्डा दिन हिच्किचाउने देउवा ठीक ? हिजोका दिनमा भागवण्डाको विरोध गर्ने पौडेल ठिक थिए कि आजका दिनमा भागवण्डाका लागि संघर्ष गर्न थालेका पौडेल ठीक ? काँग्रेसको कार्यकर्तापंक्ति अनुत्तरित छ । केवल रमिते बनेर कार्यकर्ताहरु आफ्ना नेताको पिछलग्गु बनिरहेका छन् । उनीहरुमा पनि न सिद्धान्तको सरोकार छ, न त पार्टीको भविष्यकै चिन्ता देखिएको छ । केवल आफ्नो अघिल्तिर रहेको नेताको लोलीमा बोली मिलाउँदै कार्यकर्ताहरु गुटगत राजनीतिलाई नै जानी–नजानी प्रश्रय दिइरहेका छन् । जसले गर्दा काँग्रेसको चमक हराउँदै गएको छ भने गुटगत राजनीतिले पार्टीगत सोच र संस्कारलाई नै सखाप पारेको छ ।

पार्टीभित्र आपसमा हेर्ने दृष्टिकोण पनि पार्टीगत हुन सकेको छैन । यो फलानो गुट, त्यो फलानो गुट भनेर नेता–कार्यकर्ताहरु चिनिन्छन्– काँग्रेस भएर चिनिने कमै छन् । जो काँग्रेस भनेर चिनिन्छन्, उनीहरु अवसरबाट समेत वञ्चित हुने गरेका छन् ।

काँग्रेसभित्र पछिल्ला केही वर्षमा सैद्धान्तिक बहस शुन्यप्रायः देखिन्छ । संगठन विस्तार, नयाँ मतदातालाई आकर्षित गर्ने तथा पार्टीलाई मजबुत बनाउने दिशामा चिन्तनको खडेरी देखा पर्दै आएको छ भने नेताहरु विभिन्न समूहमा विभक्त हुँदै व्यक्तिगत तथा समूहगत स्वार्थ सिद्ध गर्ने दिशामा विवेक, शक्ति र सामथ्र्य खर्चिन थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भागवण्डाकै आधारमा उम्मेदवार चयन गर्न हानाथाप भयो । जब पार्टी पराजित भयो, तब नेतृत्वमाथि सबै दोष थोपरेर विभिन्न गुटका नेताहरु आन्तरिक प्रतिपक्षको भूमिकामा देखिए । यहाँसम्म कि, पार्टीले सञ्चालन गरेको जागरण अभियानमा पनि जागरणका फर्मुला होइन, नेतृत्वको आलोचना कै व्यापार भयो । रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताले पार्टी पराजित हुनुको जिम्मेवारी नेतृत्वमाथि थोपर्दै जमेर आलोचना गरे । 

प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको भनेर आफूलाई चिनाउने काँग्रेसभित्र प्रजातान्त्रिक आचरण, पार्टीगत सोच, कार्यकर्ताको भावना र आकांक्षाजस्ता विषय नेताहरुको रोजाइमा पर्न छाडेको लामो समय भइसकेको छ । नेताहरु पार्टीका निकायहरुमा भागवण्डा खोज्ने, आफ्नो समूहलाई बलियो बनाउने र पार्टीभित्रको शक्ति सन्तुलनमा सदैव आफ्नो भूमिका कायम राख्ने उद्देश्यबाट ग्रसित देखिन्छन् ।

काँग्रेसका पुराना नेता बिपिन कोइराला पार्टीभित्र गुटबन्दी पुरानै संस्कार बनिसकेको बताउँछन् । ‘विपीको पालादेखि नै पार्टीमा गुटबन्दी नभएको होइन,’ रातोपाटीसँग उनले भने, ‘तर त्यो बेला नेताहरु एकसाथ बसेर मन्थन गर्थे, कसले के–कस्ता कुरा सुनाए भनेर आपसमा मन्थन गर्थे र सामूहिक सोचका साथ पार्टीलाई अगाडि बढाउँथे ।’

पछिल्लो समय पार्टीभित्रको सत्ता कब्जाका लागि यस्तो गुटबन्दी हुन थालेको उनको भनाइ छ । ‘अहिले पार्टीको सत्तामा कसरी पुग्ने, कसरी आफू बलियो हुने भन्नेमै नेताहरुबीच होडबाजी चलिरहेको छ,’ उनले भने, ‘पार्टीलाई बलियो बनाउने सोच कसैमा देखिँदैन ।’

काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ भने पार्टी नेतृत्वले सबै पक्षलाई समेट्न सक्नु पर्ने बताउँछन् । पार्टीभित्र हुने गरेको भागवण्डाको बचाउ गर्दै उनले भने, ‘यसलाई भागवण्डा भनेर व्याख्या गर्नु भन्दा पनि सबै पक्षलाई समेट्ने पहलका रुपमा बुझ्न जरुरी देख्छु ।’

पार्टीमा सबै पक्षले अवसर पाउन्, सबै पक्षको अपनत्व होस् भनेर नेतृत्वले विचार गर्नुपर्ने उनको तर्क छ । पार्टीलाई गतिशील बनाउन, पार्टीभित्र देखिएका विवाद समाधान गर्न र सबैलाई समेट्नका लागि उनीहरुलाई जिम्मेवारी र भूमिका दिइनु पर्ने गुरुङ बताउँछन् । पार्टीभित्रका विभिन्न समूहले आफ्ना कार्यकर्ताको संरक्षण गर्न चाहनु स्वाभाविक हुने उनको भनाइ छ ।

भागवण्डाका लागि हुने गरेको विवादलाई सैद्धान्तिक वा वैचारिक भन्न नमिल्ने उनले बताए । ‘यो सैद्धान्तिक वा वैचारिक कुरा त होइन तर व्यवहारिक कुरा चाहीँ हो,’ उनले भने, ‘वैचारिक बहसले पार्टीमा नयाँ पुस्ता आकर्षित गर्न सकिन्छ भने व्यवहारिक रुपमा हामीले अहिले काम गरिरहेको पुस्तालाई पनि हेर्नुपर्छ, उनीहरुको पनि अस्तित्व रक्षा गर्नुपर्छ ।’

त्यसो भए पार्टी नेतृत्वको काम आन्तरिक रुपमा उठ्ने गरेका हरेक समूहका माग सम्बोधन गर्नुमात्र हो ? काँग्रेस कार्यकर्तापंक्तिले जवाफ खोज्नु पर्ने बेला भइसकेको छ । पार्टीभित्र गुटगत आधारमा मात्र पहिचान हुने र अवसर प्राप्त हुने हो भने काँग्रेसले कसरी आफूलाई लोकतान्त्रिक पार्टीको पहिचान दिलाइरहन सक्छ भन्नेबारे पनि बहसको खाँचो देखिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...