सहमतिको खोजीमा बोहोराटार–चाक्सीबारी देउवा पक्षको दौडधूप

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको पछिल्लो विवाद समाधानका लागि छलफललाई तीव्रता दिएको छ । शनिबार विहान सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विवाद समाधानका लागि छलफल गरेका थिए । शनिबार दिउँसो पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापन पक्षबाट उपभापति विमलेन्द्र निधि र इतर पक्षबाट सिंहबीच करिब साढे दुई घण्टा छलफल भएको हो ।
देउवासँग पौडेल निवास बोहोराटार पुगेका निधि सिंहसँग छलफल गर्न उनको निवास पुगेका थिए । शनिबार बिहान भएको देउवा र पौडेलबीचको छलफलमा सहमति नजिक पुग्न नसकेपछि निधि र सिंहबीच छलफल भएकाे हाे ।
विवाद देखिएका विषयमा चाक्सीबारीमा गहन छलफल भए पनि आ–आफ्नै अडानका कारण निष्कर्षमा पुग्न नसकेको सिंहले बताए । यता प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको मात्र प्रतिक्रिया दिए । उनले भने, ‘चाक्सीबारी छलफल सकरात्मक दिशामा प्रवेश गरेको छ । यो - यो विषयमा सहमति भयो भनेर नभन्ने सहमति भएको छ ।’
साथै उनले भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक पूर्वनिर्धारित समयमै बस्ने पनि जारीका दिए ।
पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा पक्षको अडानपछि पौडेल पक्षले बैठक बहिस्कार गरेको थियो । पौडेल पक्ष भने १४ औँ महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने अडानमा छन् ।