शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बोहोराटारमा देउवा–पौडेलको एकघण्टा : के भयो कुराकानी ?

शनिबार, २८ मङ्सिर २०७६, १२ : २५
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीमा बढेको बिबाद मथ्थर  पार्ने प्रयासस्वरुप शनिबार बिहान नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । 

बिहान १० बजे सभापति देउवा उपसभापति विमलेन्द्रलाई लिएर पौडेल निवास बोहोराटार पुगेका थिए ।

देउवा र पौडलबीच १ घण्टा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए । 

पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि शनिबार देउवा सहमति खोज्न पौडेलसँग कुराकानी गर्न पुगेका हुन् । 

पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा  पक्षको अडानपछि पौडेल पक्ष बैठक बहिस्कार गरेको थियो ।

यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति रहेको छ । 

पौडेल पक्षको बहिस्कारका बीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो ।

सोही विषयमा सहमति खोज्न तथा पौडेललाई फकाउन देउवाले अग्रसरता लिएको बताइएको छ । 

शनिबारको छलफलमा पनि पौडेलले महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको एजेण्डा बन्नुपर्ने अडान राखेको अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार देउवाले छलफलको सुरुमा पार्टीको स्थानीय तहका संरचनालाई संघीय संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउन सकिने अडान दोहोर्याएका थिए । 

छलफलको अन्त्यमा देउवा पौडेलका मागमा सकरात्मक भएको भनिएपनि ठोस सहमति भने बनेको छैन । 

अधिकारीका अनुसार देउवाले महाधिवेशनको कार्यलातिकाबारे सोच्न सकिने भनेर छलफल टुंग्याएका थिए । 

उनका अनुसार विभाग गठन र महाधिवेशन कार्यतालिका विवाद समाधानका लागि देउवा पक्षबाट उपसभाति निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित वार्ता टोलीले थप छलफल गर्ने छ । उक्त वार्ता टोलीबीच सहमतिको वातावरण बन्ने दुवै पक्षले विश्वास लिएको छ ।

उक्त वार्ता टोली शनिबार अपराह्न वा आइतबार बिहान छलफलमा जुट्ने छ । वार्ता टोलीबीचको छलफलले नै मंसिर २९ गतेलाई बोलाइएको केन्द्रीय समिति बैठकको भविष्य निर्धारण गर्नेछ ।

यसअघि शुक्रबार सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिका बेगरका एजेण्डामा हुने छलफल सहभागी नहुने निष्कर्ष निकालेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप