शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवाविरुद्ध शशांकको ‘ग्रान्ड डिजाइन’ : सकियो ‘साक्षी’को समयसीमा !

शुक्रबार, २७ मङ्सिर २०७६, १५ : ११
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौँ । नेपाली काँग्रेसमा १४औँ महाधिवेशनको जोडघटाउ सुरु भएसँगै महामन्त्री शशांक कोइराला पनि सभापति शेरबहादुर देउवाविरुद्ध उत्रिएका छन् ।

०७२ फागुनमा भएको १३औँ महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट महामन्त्रीमा निर्वाचित कोइरालाले यो बीचमा सभापति देउवाका अधिकांश निर्णयका ‘साक्षी’ बन्दै आएका थिए ।

०७५ वैशाख २१ मा देउवाले एकलौटी रूपमा पार्टी पदाधिकारीको मनोनय गर्दा उनी उक्त निर्णय सहमतिमा उभिएका थिए ।

यता पौडेल पक्षले भने ‘नोट अफ डिसेन्ट’ लेखेको थियो । देउवा र पौडेलले छुट्ट छुट्टै पत्रकार सम्मेलन गर्दा उनी देउवा पक्षीय सम्मेलनमा उपस्थित थिए । त्यतिबेला महमन्त्री कोइराले भनेका थिए, ‘सभापतिजी गरेको निर्णय स्वाभाविक छ । यसमा विरोध गर्नु आवश्यक छैन ।’

यस्तै गत वर्ष असोज २१ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसङ्घको विधान पारित गरेको थियो ।

विधान पारितको विषयमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीलगायतका नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

त्यतिबेला पनि महामन्त्री कोइराला देउवाको निर्णयको साक्षी बसेको थिए । यस्तै गत वर्ष मङ्सिर– पुसमा सम्पन्न महासमिति बैठकका एजेन्डा पनि सभापति देउवाले बहुमतले पारित भएका थिए । त्यतिबेला पनि पौडेल पक्षको विरोधका बीच कोइरालाले देउवालाई साथ दिएका थिए ।

तर यतिबेला पार्टीमा १४औँ महाधिवेशनका लागि देउवा र पौडेल पक्षबीच शक्ति सन्तुलनको लडाइँ सुरु भएसँगै उनी देउवाविरुद्ध उभिएका छन् ।

यसअघि देउवालाई शशांकको मौन समर्थन रहँदा आफूहरुका एजेण्डा कमजोर बन्ने गरेको पौडेल पक्षको निष्कर्ष थियो ।

महामन्त्री कोइराला देउवाविरुद्ध उभ्याने केन्द्रीय सदस्य शेखर कोइराला र अर्जुन नरसिंह केसीको प्रयास सफल भएको छ ।

स्रोतका अनुसार बुधबार महामन्त्री कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकमा भएको सहमतिअनुसार बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो ।

उक्त बैठकले १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकको एजेन्ड नबने बैठक बहिष्कारको रणनीति लिएको थियो ।

यस्तै बुधबार अपराह्न ४ बजे बसेको पार्टी पदाधिकारी बैठकमा पनि केन्द्रीय कार्यसमिति बैठकमा तय गरिएका एजेन्डाबारे महामन्त्री कोइरालाले विमति राखेको उनका स्वकीय सचिव भरत तिवारीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार महामन्त्री कोइरालाको सहमितिमै पौडेलसहित उनी पक्षीय नेताहरूले बिहीबारको केन्द्रीय समिति बहिष्कार गरेका हुन् ।

पार्टी कार्यालय पुगेका महामन्त्री कोइरालाले पौडेलसहितका नेताहरुलाई महाधिवेशन कार्यतालिका बिना बैठकमा नबस्ने भन्दै दिउँसो २ बजे पार्टी कार्यालयबाट दाजु प्रकाश कोइरालाको एनिभर्सरीमा कार्यक्रमका लागि निस्किएका थिए ।

बैठक अपराह्न १ बजे बोलाइएको थियो । बैठक सुरु हुनुअघि केन्द्रीय कार्यालयमा करिब दुई घण्टासम्म देउवा र पौडेलको कार्यकक्षमा आआफ्नो समूहको अनौपचारिक छलफल चलेको थियो ।

त्योबीचमा देउवाको कार्यकक्षमा भएको छलफलले बुधबारको पदाधिकारी बैठकले तय गरेअनुसार ९ वटा एजेन्डा छलफलका लागि लैजाने निर्णय गरेको थियो ।

उपसपभाति विमलेन्द्र निधि पौडेलको कार्यकक्षमा पुगेर बैठकमा प्रस्तुत हुने ९ वटा एजेन्डाबारे जानकारी गराएका थिए ।

जसमा पार्टी संरचनाको समायोजनसम्बन्धी छलफल, उपनिर्वाचनको समीक्षा, केन्द्रीय विभागको संरचनागत र सङ्ख्यात्मक परिमार्जन, सीमा अतिक्रमणलगायतका प्रस्ताव समावेश थिए ।

विभाग बढाउने प्रस्तावमा विमति जनाएका पौडेलले निधिसँग महाधिवेशनको कार्यलातिका मागेका थिए ।

तर पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवाले अडान लिए  ।

त्यसपछि महामन्त्री कोइरालाको ‘ग्रान्ड डिजाइन’ अनुसार ४ः३० बजेपछि पत्रकार सम्मेलन गरी बैठक बहिष्कार गरेको जानकारी दिँदै पौडेल पक्ष पार्टी कार्यालयबाट निस्केको थियो ।

यद्यपि संस्थापन इतरका केन्द्रीय सदस्य महेश आचार्य, दिलबहादुर घर्ती मगर भने बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।

यस्तै पार्टीमा तेस्रो धारको नेतृत्व गर्दा आएका कृष्णप्रसाद सिटौला पक्षीय केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र शिव हुमागाईं पनि बैठकमा बैठकमा सहभागी थिए ।

तर पार्टी कार्यालय पुगेका सिटौला पक्षका केन्द्रीय सदस्य गगन थापा बैठकमा उपस्थित भएनन् ।

उनी देउवा–पौडल समूहको अपौचारिक बैठक चलिररहेकै बेला पार्टी कार्यालयबाट निस्किएका थिए । सिटौला भने पूर्वनिर्धारित गृह जिल्ला झापाको कार्यक्रमा लागि पुगेका थिए ।

पौडेल पक्षको घोषित र सिटौला पक्षको अघोषित बहिष्कारबीच बसेको केन्द्रीय बैठकले आन्तरिक मुद्दामा निर्णय नगरी समसामयिक विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरेका थियो ।

साथै देउवाले अर्को बैठक मङ्सिर २९ गतेलाई बोलाएका छन् । 

 


 

पौडेल पक्ष मोर्चाबन्दी कस्दै

यता पौडेल पक्ष भने देउवाविरुद्धको मोर्चाबन्दी थप कस्ने रणनीतिमा छ ।

सोहीअनुसार आज अपराह्न पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षीय छलफल हुने तिवारीले बताए । उनका अनुसार उक्त छलफलका लागि महामन्त्री कोइराला पोखराको फ्लाइट रद्द गरेका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ पुर्याउने देउवा पक्षको प्रस्ताव रोक्ने पौडेल पक्षको रणनीति रहेको छ । यतिबेला महामन्त्री कोइराला पनि विभाग गठनको औचित्य नभएको निष्कर्षमा पुगेको बुझिएको छ ।

‘महामन्त्रीज्यूले विगतदेखि सभापति र वरिष्ठ नेताज्यूबीच सहमतिको वातावरणको भूमिका निभाउनुभएको थियो,’ स्रोत भन्यो, ‘तर त्यतिबेला आएर सभापति विभाग गठनमा लागेको कुरा उहाँलाई चित्त बुझेको छैन । उहाँ यसको विपक्षमा हुनुहुन्छ । अबको पहिलो एजेन्डा महाधिवेशन हुनुपर्नेमा उहाँ जोड छ ।’

यता देउवा भने विभाग गठन गरी आफूनिकट नेताहरुलाई व्यवस्थापन गर्दै १४औँ महाधिवेशनको माहोल आफूअनुकल बनाउने रणनीतिमा छन् ।

सोहीअनुसार उनी महाधिवेशनको दुई महिनामै विभाग गठन गर्नुपर्ने विधानको व्यवस्था विपरीत यतिबेला विभाग गठनको तयारीमा छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप