बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सभामुखमा शिवमायाकै दाबी, सुवास नेम्वाङ र अग्नि सापकोटा कर्नरमा

बिहीबार, २६ मङ्सिर २०७६, १३ : १४
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ– संसदको हिउदे अधिवेशनको आव्हानसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच सभामुख बन्न रस्साकस्सी तीब्र भएर गएको छ । यो रस्साकस्सीमा नेकपाका मात्रै झण्डै आधा दर्जन नेताहरु सामेल छन् ।

आकाङ्क्षी धेरै भएपछि नेकपा नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’) लाई कसलाई सभामुख बनाउने भन्ने निर्णय गर्न ठूलै ‘सकस’ परेको छ ।

सभामुखका लागि ओली र प्रचण्डको रोजाइ समेत फरक फरक पात्र परेका छन् । ओली सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने प्रचण्ड अग्नि सापकोटा वा ओनसरी घर्तीमध्ये एकलाई सभामुख बनाउन चाहन्छन् । 

यतिखेर सभामुख पद रिक्त छ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि गत असोज १४ गते राजीनामा दिएका थिए । त्यसयता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यवाहक सभामुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

यसबीचमा संसद अधिवेशनसमेत नभएकाले सभामुखबारे त्यति चर्चा र छलफल नभए पनि पुस ४ गतेलाई संसद अधिवेशन आह्वान भएपछि सभामुखका लागि रस्साकस्सी थप बढेको हो । संसद् आह्वान भएसँगै पहिलो कार्यसूचीमा सभामुख चयन प्रक्रियालाई राखिएपछि आकाङ्क्षीहरुको सक्रियता समेत बढेको छ ।

संवैधानिक प्रावधानअनुसार संसदको सभामुख र उपसभामुख फरक फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार सभामुख पुरुष भए महिला उपसभामुख र सभामुख महिला भए उपसभामुख पुरुष हुनुपर्छ । त्यस्तै एकै दलले दुवै पद लिन नमिल्ने भएकाले सभामुख र उपसभामुख फरक फरक दलबाटै चयन गर्नुपर्ने हुन्छ । यो प्रावधानको चेपुवामा परेको सत्तारुढ नेकपा कुनै पनि हालतमा सभामुख पद आफ्नै हुनु पर्ने पक्षमा छ र यतिखेर उपसभामुखमा आफ्नै पार्टीको नेतृ रहनु उसको लागि घाँडो भएको छ ।    

को–को छन् चर्चामा ?

अहिलेसम्म नेकपामा सभामुख बन्न पूर्वसभामुख तथा संविधान सभाका अध्यक्षसमेत रहिसकेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेताहरु अग्नि सापकोटा, पम्फा भुसाल, ओनसरी घर्ती र हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेले समेत आकाङ्क्षा देखाएका छन् । तर, उनीहरुमध्ये ओली नेम्वाङको पक्षमा र प्रचण्ड सापकोटाप्रति लचक बनेपछि अन्य नेताहरु दौडबाट केहीपछि हट्न बाध्य बनेका छन् । पूर्वमाओवादी पक्षले यसअघिको सहमतिअनुसार पूर्व माओवादी पक्षबाट सभामुख चयन हुनुपर्ने अडान राख्दै आएको छ ।

सोहीअनुसार यतिखेर नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई पूर्वमाओवादी पक्षबाटै सभामुख बनाउनुपर्ने दबाब पार्टीमा बढेको छ । यसअघि दुई पार्टी हुँदा महरा तत्कालीन माओवादीका तर्फबाट सभामुख बनेका थिए भने शिवमाया तुम्बाहाङ्फे एमालेका तर्फबाट उपसभामुख बनेकी थिइन् । अहिले दुवै पार्टी एकै भइसकेका छन् । यस्तो अवस्थामा एक पद अन्य दललाई दिनुपर्ने हुन्छ । यस्तो गर्दा सभामुख पद नेकपाले नै लिने र उपसभामुख अन्य दललाई दिने नेकपाको तयारी छ । तर नेकपाभित्र पनि पूर्वएमाले वा पूर्व माओवादीपक्ष कसले लिने भन्नेमा एकमत हुन सकेको छैन ।

‘यसमा कुनै विवाद नै छैन । पहिलाको सहमतिअनुसार अघि बढ्नुपर्छ । त्यो भनेको पूर्व माओवादीपक्षबाटै सभामुख हुनुपर्नेमा विवाद रहेन’, सभामुख चयन प्रकरणमा प्रचण्ड निकट स्थायी समिति सदस्य हरिबोल गजुरेलको भनाइ यस्तो छ ।  


बालुवाटारमा सामान्य छलफल

त्यसो त औपचारिक रूपमा नेकपाले कसलाई सभामुख बनाउने भन्ने निर्णय अहिलेसम्म गरिसकेको छैन । यद्यपि महराले राजीनामा गरेलगत्तै दुई अध्यक्षबीच यसबारेमा सामान्य कुराकानी भने भएको थियो । त्यो कुराकानीमा प्रचण्डले पूर्वमाओवादी र ओलीले पूर्वएमालेकै तर्फबाट सभामुख बन्नुपर्ने मत जाहेर गरेका थिए । त्यसयता यसबारेमा दुई नेताबीच छलफल हुन सकेको थिएन । 

राष्ट्रपतिले मङ्गलबार साँझ संसद्का दुवै सदनको अधिवेशन पुस ४ गतेलाई आह्वान गरेपछि बुधबार बिहानै सत्तारुढ दल नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा सभामुख चयनबारे ‘सामान्य कुराकानी’ भएको बालुवाटार स्रोतले जनाएको छ ।

 ‘विषय ‘ओपनिङ’ भएको हो । त्यसभन्दा बढी कुनै छलफल भएको छैन । सम्भवतः बिहीबार एकचरण छलफल भएपछि नेताहरु टुङ्गोमा पुग्नुहुन्छ’, बालुवाटार स्रोतले रातोपाटीसँग भन्यो, ‘२७ गते सचिवालय बैठक भएकाले उक्त बैठकमा यो विषयले औपचारिक, अनौपचारिक प्रवेश पाउन सक्छ । सचिवालय हुँदै स्थायी कमिटी बैठकले निर्णय गर्नसक्ने गरी प्रवेश गराउने सम्भावना छ ।’

मन्त्री अस्वीकार गरेकी शिवमाया के गर्लिन् अब ?

नेकपाका शीर्ष नेताहरुको सुझावअनुसार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्नेमा दुई मत छैन । हेक्का राख्नुपर्ने कुरा के छ भने उनी आफैंले पनि ‘आफू बाटो खोल्न तयार भएको’ प्रस्टै बताइसकेकी छन् । तर उपसभामुखबाट राजीनामा दिएपछि उनको पहिलो दाबी सभामुखमा नै रहनेछ ।

‘राजीनामा दिनेमा दुई मत छैन । तर कहिले भन्ने टुङ्गो छैन । त्यो समय पुस ४ भित्रै हुन्छ’ तुम्बाहाङ्फे निकट स्रोतले भन्यो, ‘तर राजीनामा पछि के भन्ने प्रस्ट हुन जरुरी छ ।’

यद्यपि उनको दाबी भावी सभामुखका लागि भए पनि ओली र प्रचण्ड दोस्रो व्यक्तिलाई सभामुख बनाउन चाहने भएकाले तुम्बाहाङ्फेलाई अरू कुनै जिम्मेवारी दिएर मनाउने प्रयासमा लागेका छन् । त्यसबारेमा शिवमायालाई समेत बोलाएर मनाउने प्रयास जारी रहेको बुझिएको छ । अर्को जिम्मेवारीको निश्चित भएपछि मात्रै शिवमायाले उपसभामुख पदबाट राजीनामा गर्ने सोच बनाएकी आफू निकटकाहरुलाई साउती गर्ने गरेकी सूत्रहरु बताउछन् । सभामुखमा शिवमायाको दावेदारी कायमै रहँदा र त्यसलाई ‘अनुपयुक्त’ भनिहाल्ने कुनै आधार पनि नरहेको पृष्ठभूमिमा त्यस सवालमा के गर्ने भन्नेबारे टुंगो लगाउनका लागि दुई अध्यक्षबीच गृहकार्य भइरहेको बुझिएको छ । दुई अध्यक्षले शिवमायाका लागि उपयुक्त विकल्प दिन नसकेको खण्डमा अन्तिममा नेकपाले शिवमायालाई नै सभामुखका लागि उम्मेदवार बनाउने सम्भावना जिउँदै छ । त्यसो भएमा सुवास नेम्वाङ, अग्नि सापकोटा, ओनसरी घर्ती, देव गुरुङ र पम्फा भुसाल सभामुखका लागि सभामुखको पद ‘आकाशको फल आँखा तरी मर’ बन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप