बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा डाक्टरलाई ठक्कर दिने गाडी र चालक भेटियो, कसरी पुगे रामेछाप ?

मङ्गलबार, १० मङ्सिर २०७६, १८ : १७
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ । आइतबार बिहानै मर्निङवाकमा निस्किएका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

७२ वर्षीय डाक्टर जोशीलाई ठक्कर दिएर फरार बा४ख ६१४ नम्बरको गाडी र चालक बुद्धिकुमार कोजूलाई रामेछापको मन्थलीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बसले डाक्टर जोशीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

सीसी टीभी फुटेजमा डाक्टर जोशीसँग उक्त बस क्रस भएको देखिन आएको र खोजी गर्ने क्रममा गाडी र चालक कोजूलाई मन्थलीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । 


पक्राउ परेका गाडी चालक कोजुमाथि परिसरले सवारी ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

जोशीको  परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्त तीनकुनेमा सोही दिन जाहेरी दिएका थिए । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडी र चालकको खोजी गरिरहेको थियो ।  

बाटो क्रस गर्न लागेका डाक्टर जोशीलाई ठक्कर दिएपछि गाडी चालक कोजू डरले सिधै रामेछाप पुगेको हुनसक्ने डीएसपी बोगटीको भनाइ छ । प्रहरीले यात्रुबिनै गाडीलाई चालकले रामेछाप पुर्याएको पाइएको जनाएको छ । 

 


बोगटीले भने, ‘मान्छेलाई ठक्कर दिएपछि पक्राउ पर्ने डरले तीब्र गतिमा गाडी हुँइक्याएर कोजू रामेछाप पुगेको हुनसक्छ ।’

आइतबार बिहान १० बजेतिर मन्थली पुगेका चालक कोजु सोही दिन एक गेष्ट हाउसमा बास बसेको पाइएको छ । कोजु सोमबार उक्त गेष्ट हाउसबाट अर्को गेष्ट हाउसमा सरेका थिए । 
पक्राउ पर्ने डरले चालक कोजु गेष्ट हाउस परिवर्तन गर्दै बसेको हुनसक्ने प्रहरीले जनाएको छ । तर, प्रहरी समक्ष चालक कोजुले आफूले ठक्कर दिएको अस्वीकार गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप